नेपालीहरुको विदेश भ्रमण मोह बढ्दा सेवा खाता वर्षेनी घाटामा


काठमाडौँ । नेपाल भ्रमणमा आउनेभन्दा जाने बढी भएपछि सेवा खाता घाटा कायमै रहेको छ । चालू आर्थिक वर्ष २०८२/८३ को ५ महिनामा सेवा खाताअन्तर्गत भ्रमण खर्च ८८ अर्ब ९७ करोड रुपैयाँ रहेको छ ।

तर, भ्रमणबाट आम्दानी भने ३३ अर्ब ९७ करोड रुपैयाँ मात्र छ । भ्रमण आय र भ्रमण व्ययमध्ये भ्रमण खर्चको वृद्धिदर उच्च छ । यसरी आयभन्दा व्यय धेरै हुँदा सेवा खाता ५५ अर्ब १ लाख रुपैयाँ घाटामा रहेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।

गत आर्थिक वर्ष २०८१/८२ को सोही अवधीमा पनि ४९ अर्ब २३ करोड ९ लाख रुपैयाँ बराबर घाटा व्यहोरेको थियो । जबकी सो अवधीमा नेपालीहरुले विदेश भ्रमणमा ८४ अर्ब ४९ करोड ७ लाख रुपैयाँ खर्च गर्दा नेपाल आउने पर्यटकले भने ३५ अर्ब २५ करोड ८ लाख रुपैयाँ मात्र खर्च गरेका थिए ।

त्यस्तै, अघिल्लो आर्थिक वर्ष २०८०\८१ मा भ्रमण खर्च ७५ अर्ब ७३ करोड २ लाख रुपैयाँ हुँदा आम्दानी भने ३४ अर्ब ११ करोड ७ लाख रुपैयाँ मात्र भएको छ । सो अवधीमा सेवा खाता ४१ अर्ब ६१ करोड ४ लाख रुपैयाँ घाटामा रहेको थियो ।

नेपालमा पर्यटनको प्रचुर सम्भावना भएर पनि विदेशबाट नेपाल घुम्न आउने पर्यटकले भन्दा नेपाली विदेश जाँदा ठुलो धनराशि खर्च गर्ने गरेका छन् । विदेशी पर्यटकको आगमनबाट हुने भ्रमण आयभन्दा नेपालीले विदेश जाँदा धेरै रकम खर्च गरेको नेपाल राष्ट्र बैंकले जनाएको छ । भ्रमण व्यय भन्नाले नेपालबाट विदेश घुम्न जाने, अध्ययनका लागि जाने र रोजगारीका लागि जाने खर्चलाई जनाउँछ ।

पर्यटक नेपाल आउँदा गर्ने खर्चभन्दा नेपालीले विदेश जाँदा खर्च गर्ने रकम ठुलो हुनु चिन्ताको विषय हो । विदेशी पर्यटक नेपाल आउँदा विदेशी मुद्रा भित्रिन्छ । यसको सकारात्मक प्रभाव सेवा क्षेत्रको आयमा पर्छ । नेपाली विदेश घुम्न जाने प्रचलन पनि बढेको छ । उच्च आम्दानी हुनेदेखि कर्पोरेट हाउसहरुले विदेशमा विभिन्न कार्यक्रम आयोजना गरेर भ्रमणमा जाने गरेका छन् ।

नेपाली विद्यार्थी विदेशिदा ५४ अर्ब घाटामा

शैक्षिक प्रयोजनमा बिदेसिने नेपालीहरु बढेसँगै चालु आवको ५ महिनाको अवधीमा ५४ अर्ब ८३ करोड ५ लाख रुपैयाँ घाटा व्यहोर्नु परेको छ । पाँच महिनाको अवधीमा नेपालीहरुले विदेश पढ्न जाँदा ५६ अर्ब ५१ करोड ९ लाख रुपैयाँ लगेका छन् भने नेपालमा विदेश पढ्न आउँदा १ अर्ब ६८ करोड ४ लाख रुपैयाँ मात्र खर्च गरेका छन् ।

त्यसैगरी, गत आवको सोही अबधीमा शैक्षिक प्रयोजनका लागि नेपाल आउने विदेशी नागरिकले २ अर्ब ५ करोड रुपैयाँ खर्च गरेका छन् भने नेपालीले ४७ अर्ब ४५ करोड २ लाख रुपैयाँ खर्च गरेका छन् । जसकारण शैक्षिक प्रयोजनका लागि हुने आवतजावतबाट सेवा खातामा ४५ अर्ब ४० करोड १ लाख रुपैयाँको घाटा व्यहोर्नुपरेको थियो । अघिल्लो आव २०८०/८१ मा ४४ अर्ब ९५ करोड ९ लाख रुपैयाँ घाटा व्यहोर्नुपरेको थियो ।

उपचारका लागि बाहिरियो १० करोड

नेपाली नागरिकहरु स्वास्थ्य उपचारका लागि पनि लाखौँको संख्यामा विदेश जाने गर्दछन् । स्वास्थ्य उपचारको प्रयोजनका लागि बिदेसिने नेपालीले चालु आवको ५ महिनामा १० करोड ३ लाख रुपैयाँ खर्च गरेका छन् । त्यस्तै, नेपालमा उपचार गराउन नेपाल आउने विदेशीको खर्च भने २० करोड ७ लाख रुपैयाँ छ । उपचारका लागि विदेश जाँदा १० करोड ३० लाख २ हजार रुपैयाँ घाटा भएको बैंकको तथ्यांकमा उल्लेख छ ।

गत आवको सो अवधिमा विदेशमा उपचार गर्दा नेपालीले ३१ करोड ६ लाख रुपैयाँ खर्च गर्दा विदेशीले ९ करोड ९ लाख रुपैयाँ नेपालमा खर्चिएका थिए । सो अवधिमा २१ करोड ६ लाख रुपैयाँ घाटा भएको थियो ।
त्यसैगरी, व्यवसायिक प्रयोजनका लागि विदेश जाँदा ७६ करोड २ लाख रुपैयाँ घाटा व्यहोरेको छ भने व्यक्तिगत प्रयोजनमा ५४ अर्ब २७ करोड ५ लाख रुपैयाँ घाटा व्यहोर्नुपरेको छ । साथै, अन्य कार्यका लागि विदेशीदा ४५ करोड ६ लाख रुपैयाँ घाटा व्यहोरेको तथ्यांकमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति: ८ माघ २०८२, बिहिबार  १३ : ३२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।