काठमाडौँ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा वाणिज्य बैंकहरूको नाफामा सुधार भएको छ । तर, नाफा बढाउने बैंकको संख्या ११ मात्रै छ । बाँकी ९ बैंकको नाफामा भने गिरावट आएको छ ।
दोस्रो त्रैमासमा बैंकहरूको निष्क्रिय कर्जा बढेर औसतमा ५.०८ प्रतिशत पुगेको छ । गत आवमा बैंकहरूको यस्तो कर्जा ४.४९ प्रतिशत थियो । यस अवधिमा ८ वटा वाणिज्य बैंक निष्क्रिय कर्जा घटाउन सफल भएका छन् । बाँकी १२ बैंकको भने यस्तो कर्जा बढेको छ ।
निष्क्रिय कर्जा बढ्दा बैंकहरूले सम्भावित कर्जा नोक्सानीका लागि राख्ने प्रोभिजन रकम पनि बढेको छ । बैंकहरुले चालु आवको दोस्रो त्रैमासमा २८ अर्ब ७५ करोड रुपैयाँ कर्जा नोक्सानी व्यवस्थामा छुट्याएका छन् । गत आवको दोस्रो त्रैमासको तुलनामा चालु आवको सोही अवधिमा वाणिज्य बैंकहरूले १६।५४ प्रतिशत बढी प्रोभिजन गर्नुपरेको हो । गत आवको सोही अवधिमा बैंकहरूले २४ अर्ब ६७ करोड कर्जा नोक्सानी व्यवस्थामा छुट्याएका थिए ।
कुन कम्पनीको कति कर्जा निष्क्रिय ?
चालु आवको पुससम्ममा अधिकांश वाणिज्य बैंकको निष्क्रिय कर्जा बढ्दा नबिल, नेपाल एसबिआई बैंक, सिद्धार्थ बैंक लगायत आठ बैंकको घटेको छ । राष्ट्र बैंकले गत आर्थिक वर्षमा निक्षेपमा लगानी गर्दा कुल निष्क्रिय कर्जा ५ प्रतिशत हुनुपर्ने व्यवस्थालाई बढाएर ८ प्रतिशत पुर्याएको थियो । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा केही बैंकको निष्क्रिय कर्जा घटे पनि केहीको भने ८ प्रतिशत नजिक पुगेको छ ।
चालु आवको दोस्रो त्रैमाससम्ममा सबैभन्दा धेरै निष्क्रिय कर्जा हिमालयन बैंकको छ । गत आवको दोस्रो त्रैमासमा ४.९८ प्रतिशत रहेको यो बैंकको निष्क्रिय कर्जा बढेर चालु आवको दोस्रो त्रैमासमा ७.९६ प्रतिशत पुगेको छ । त्यस्तै, प्रभु बैंकको निष्क्रिय कर्जा ५.०६ प्रतिशतबाट बढेर ७.९४ प्रतिशत पुग्दा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको ५.८६ प्रतिशतबाट बढेर ७.९० प्रतिशत र एनआईसी एशिया बैंकको ४.६१ प्रतिशतबाट बढेर ७।४७ प्रतिशत पुगेको छ ।
नेपाल एसबिआई बैंकको निष्क्रिय कर्जा ३.५५ प्रतिशतबाट घटेर २.४६ प्रतिशतमा झरेको छ । त्यस्तै, सिद्धार्थ बैंकको निष्क्रिय कर्जा १.०५ प्रतिशत बिन्दुले घटेर ३.४५ प्रतिशतमा झरेको छ । नबिल बैंकको निष्क्रिय कर्जा ०.६८ प्रतिशत बिन्दुले घटेर ४.२५ प्रतिशतमा झरेको छ । राष्ट्रिय वाणिज्य बैंकको निष्क्रिय कर्जा ०.६० प्रतिशत बिन्दुले घटेर ४.३६ प्रतिशतमा झरेको छ । त्यस्तै, माछापुच्छ्रे बैंकको निष्क्रिय कर्जा ०.२९ प्रतिशत बिन्दुले घटेर ४.२५ प्रतिशत हुँदा कृषि विकास बैंकको ०.२५ प्रतिशत बिन्दुले घटेर ४.६५ प्रतिशत र कुमारी बैंकको ०.०४ प्रतिशत बिन्दुले घटेर ६.९२ प्रतिशतमा झरेको छ ।
निष्क्रिय कर्जा बढेसँगै अधिकांश बैंकको सम्भावित कर्जा नोक्सानी व्यवस्थामा गरिएको प्रोभिजन रकम पनि बढेको छ । चालु आवको दोस्रो त्रैमासमा लक्ष्मी सनराइज, नेपाल इन्भेष्टमेण्ट मेगा र एनआईसी एशिया बैंकले धेरै रकम प्रोभिजन गरेका छन् । लक्ष्मी सनराइजले ४ अर्ब ४७ करोड रुपैयाँ प्रोभिजनका लागि छुट्याएको छ । गत आवको सोही अवधिमा १ अर्ब ९२ करोड रुपैयाँमात्रै प्रोभिजन गर्नुपरेको थियो ।
नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले कर्जा नोक्सानी व्यवस्थामा छुट्याएको रकम ७४।५९ प्रतिशतले बढेर ३ अर्ब ९ करोड रुपैयाँ पुगेको छ । त्यस्तै, एनआईसी एशिया बैंकको ३.११ प्रतिशतले बढेर २ अर्ब ४३ करोड रुपैयाँ पुगेको छ ।
ग्लोबल आइएमई बैंकले कर्जा नोक्सानी व्यवस्थामा छुट्याएको रकम ८.९१ प्रतिशतले बढेर २ अर्ब ४० करोड पुग्दा सिटिजन्स बैंकको ३२.२९ प्रतिशतले बढेर १ अर्ब ८३ करोड रुपैयाँ छ ।
कृषि विकास बैंकको कर्जा नोक्सानी व्यवस्थामा छुट्याएको रकम ९०.०२ प्रतिशतले बढेर १ अर्ब ६२ करोड ९४ लाख रुपैयाँ पुगेको छ । त्यस्तै एनएमबि बैंकको कर्जा नोक्सानी व्यवस्थाको रकम ३५० प्रतिशतले बढेर १ अर्ब ५५ करोड २२ लाख रुपैयाँ र कुमारी बैंकको भने ५३.९४ प्रतिशतले घटेर १ अर्ब ५० करोड ७५ लाख रुपैयाँमा झरेको हो ।
राष्ट्रिय वाणिज्य बैंकले १ अर्ब ४७ करोड, प्रभु बैंकले १ अर्ब ४५ करोड, सिद्धार्थ बैंकले १ अर्ब ४५ करोड, प्राइम कमर्सियल बैंकले १ अर्ब १५ करोड, सानिमा बैंकले १ अर्ब ७ करोड र हिमालयन बैंकले १ अर्ब ३ करोड रुपैयाँ कर्जा नोक्सानी व्यवस्थामा छुट्याएका छन् ।
नबिल बैंकले ४ करोड ८८ लाख रुपैयाँ प्रोभिजन राइटब्याक गरेको छ । यस्तै, गत आर्थिक वर्षको दोस्रो त्रैमासमा २५ करोड ८ लाख रुपैयाँ प्रोभिजन राइटब्याक गरेकोमा चालु आवको सोही अवधिमा ४.६४ लाख रुपैयाँ कर्जा नोक्सानी व्यवस्थामा छुट्याएको छ ।












प्रतिक्रिया