वित्तीय समावेशीकरण सूचकांक ०.४७ बाट बढेर ०.५३ पुग्यो


काठमाडौँ । नेपालमा वित्तीय सेवामा पहुँच, प्रयोग र गुणस्तरमा उल्लेखनीय सुधार देखिएको छ। नेपाल राष्ट्र बैंकका अनुसार वित्तीय समावेशीकरण सूचकांकअनुसार आर्थिक वर्ष २०२४/२५ मा समग्र वित्तीय समावेशीकरण सूचकांक ०.४७ बाट बढेर ०.५३ पुगेको छ।

‘वित्तीय सेवामा पहुँच विस्तार, डिजिटल माध्यमको प्रयोग तथा सेवा गुणस्तरमा सुधारका कारण वित्तीय समावेशीकरण सूचकांकमा स्थिर र व्यापक प्रगति भएको छ,’ राष्ट्र बैंकले भनेको छ।

रिपोर्टअनुसार मानव विकास सूचकांक जस्तै विधिबाट गणना गरिएको उक्त सूचकांक ० देखि १ को मापनमा आधारित छ, जहाँ उच्च अंकले उच्च वित्तीय समावेशीकरण जनाउँछ। पहुँचका १५ सूचक, प्रयोगका १५ सूचक र गुणस्तरका २५ सूचकहरू समावेश गरी प्रतिवेदन तयार पारिएको केन्द्रीय बैंकले जनाएको छ । सूचकांकको प्रत्येक आयामको विशिष्ट भार निर्धारण गरिएको छ । पहुँचलाई ३५ प्रतिशत, प्रयोगलाई ४५ प्रतिशत र गुणस्तरलाई २० प्रतिशत भार दिइएको छ।

पहुँच सूचकांक ०.५३ पुगेको प्रतिवेदनमा उल्लेख छ, जसले देशभर वित्तीय संस्था, सेवा केन्द्र तथा डिजिटल वित्तीय सेवा माध्यमको विस्तार भएको देखाउँछ। त्यस्तै प्रयोग सूचकांक ०.४९ बाट बढेर ०.५४ पुगेको छ । जसले बैंकिङ, डिजिटल भुक्तानी, बिमा र अन्य वित्तीय सेवाहरूमा व्यक्ति र परिवारहरूको बढ्दो संलग्नतालाई झल्काउँछ । त्यसै गरी गुणस्तर सूचकांक ०.५० मा पुगेको छ।

केन्द्रीय बैंकले भनेको छ, वित्तीय साक्षरतामा वृद्धि, उपभोक्ता संरक्षण संयन्त्रको सुदृढीकरण, पारदर्शिताको अभिवृद्धि तथा ग्राहक अनुभवमा सुधारका कारण गुणस्तर सूचकांकमा उल्लेखनीय प्रगति भएको हो,’

नेपाल राष्ट्र बैंकले नीतिगत पहल, डिजिटल वित्तीय नवप्रवर्तन तथा नियामक सुधारले सकारात्मक प्रभाव परेको उल्लेख गर्दै आगामी दिनमा डिजिटल पूर्वाधार सुदृढीकरण, वित्तीय साक्षरताको प्रवर्द्धन तथा उपभोक्ता केन्द्रित वित्तीय सेवामा निरन्तर जोड दिन आवश्यक रहेको जनाएको छ।

प्रकाशित मिति: १९ माघ २०८२, सोमबार  ०८ : ०७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।