काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यमा पछिल्ला तीन दिनमा ऐतिहासिक गिरावट आएको छ । गत बिहीबार प्रतितोला ३ लाख ३९ हजार ३०० रुपैयाँको कीर्तिमानी मूल्यमा कारोबार भएको सुनको भाउ सोमबारसम्म आइपुग्दा प्रतितोला १५.५३ प्रतिशतले घटेको छ ।
तीन दिनको अन्तरालमा सुनको मूल्यमा आएको भारी गिरावटसँगै सोमबार सुन प्रतितोला २ लाख ८६ हजार ६०० रुपैयाँ कायम भएको छ । पछिल्ला तीन दिनमा सुनको मूल्यमा भएको यो गिरावट इतिहासकै उच्च भएको सुनचाँदी व्यवसायी महासंघका पुर्वअध्यक्ष मणिकरत्न शाक्य बताउँछन् ।
‘हामीले दैनिक ५÷७ हजार रुपैयाँभन्दा बढीको घटबढको तथ्यांक राख्दै आएका छौँ,’ शाक्यले भने, ‘केही दिनमै १०÷१५ प्रतिशतको गिरावट आएको यो नै पहिलो पटक हो ।’
उनका अनुसार यसअघि २०८१ मंसिरमा पनि सुनको मूल्य करिब १० प्रतिशतसम्म घटेको थियो । तर, उक्त गिरावट अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा भएको घटबढको कारणले नभएर सरकारले भन्सार शुल्क २० प्रतिशतबाट घटाएर १० प्रतिशत कायम गर्दा भएको थियो । त्यसबेला प्रतितोला १ लाख ६७ हजार रुपैयाँमा कारोबार भइरहेको सुन भोलिपल्टै प्रतितोला १ लाख ५१ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, गत कात्तिक ९ गते पनि एकैदिन तोलामा ११ हजार ६०० रुपैयाँले घटेको थियो । तर यसरी १५÷२० हजारको घटबढ भने यो पहिलो पटक देखिएको व्यावसायीहरु बताउँछन् ।
अमेरिकी केन्द्रीय बैंकसम्बन्धी एक महत्वपूर्ण राजनीतिक–आर्थिक खबरपछि अन्तर्राष्ट्रिय वित्तीय बजारमा उल्लेखनीय उतारचढाव देखिएको छ । जसको असर सुनको मूल्यमा पनि देखिन थालेको हो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेडेरल रिजर्भ (फेड) का वर्तमान अध्यक्ष जेरोम पावेलको स्थानमा पूर्व गभर्नर केभिन वार्सलाई नयाँ अध्यक्षका रूपमा नियुक्त गर्ने तयारीमा रहेको संकेत दिएका छन् । यो संकेतपछि बजारले अमेरिकाको मौद्रिक नीतिमा सम्भावित परिवर्तन हुने अनुमान गर्न थालेको नेपाल सुनचाँदी व्यवसायी महासंघका प्रथम उपाध्यक्ष धर्म सुन्दर बज्राचार्यले बताएका छन् ।
उनका अनुसार, ‘केभिनलाई वित्तीय क्षेत्रमा कडा मौद्रिक नीति समर्थक व्यक्तित्वका रूपमा हेरिन्छ । उनी मुद्रास्फीति नियन्त्रणका लागि ब्याजदरलाई कडाइका साथ प्रयोग गर्नुपर्ने धारणा राख्ने व्यक्तिका रूपमा परिचित छन् । त्यसैले फेडको नेतृत्वमा उनको सम्भावित आगमनलाई बजारले भविष्यमा ब्याजदर छिट्टै फेरि घट्ने सम्भावना कमजोर हुने, बरु दर कटौती ढिलो हुन सक्ने संकेतका रूपमा बुझेको छ ।’
‘फेडका अध्यक्ष परिवर्तनको सम्भावित संकेतले बजारमा ब्याजदर कटौती अपेक्षाभन्दा ढिलो हुन सक्छ भन्ने धारणा बलियो बनाएको छ । यही धारणा सुनको मूल्य घट्नुको मुख्य कारण बनेको देखिन्छ ।’ उनले भने, ‘यद्यपि, दीर्घकालीन रूपमा राजनीतिक अनिश्चितता र विश्व अर्थतन्त्रसँग सम्बन्धित जोखिमहरू भने सुनको मूल्य उतारचढावको लागि अझै महत्वपूर्ण कारकका रूपमा कायम छन् ।’
नेपालमा सुनको मूल्य अन्तर्राष्ट्रिय बजार मूल्यको आधारमा तोकिन्छ । यहाँको माग र आपूर्तिले सुनको मूल्य निर्धारण हुँदैन । अहिले अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य उच्चले घटेकोले स्थानीय बजारमा पनि मूल्य घटेको हो ।
बिहीबार अन्तराष्ट्रिय बजारमा प्रतिऔँस ५ हजार ५५६.४६ अमेरिकी डलर पुगेको सुनको भाउ शुक्रबार भने ५ हजार २०५.५३ अमेरिकी डलरमा झरेको हो । यो सन् २०१३ पछि एकै दिनमा आएको सबैभन्दा ठूलो गिरावट हो ।
आइतबार प्रतिऔँस ४ हजार ८९३.२ अमेरिकी डलरमा झरेको थियो भने आज सोमबार ४ हजार ६५२.७७ अमेरिकी डलर कायम भएको छ । नेपालमा पनि अन्तराष्ट्रिय बजारमा घटेकै कारण सुनको मूल्य घटेको हो । विश्वका केन्द्रीय बैंकहरुले सुन किनेर सञ्चित गर्ने क्रम बढेको कारण केही समयअघिसम्म अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बृद्धि थियो । त्यस्तै, विश्वका विभिन्न स्थानमा भइरहेको द्वन्द्वले पनि सबैभन्दा सुरक्षित मानिने भएकाले सुनको मूल्य बढाइरहेको थियो ।
तर, मूल्य निकै उच्चमा पुगेपछि भने सुनको भाउ घट्न थाल्यो । पछिल्लो समय भने अमेरिका र चीनबीच चलेको व्यापार युद्ध रोकिन सक्ने खबर बाहिरिएसँगै मूल्य थप घटिरहेको हो ।
डोनाल्ड ट्रम्प अमेरिकी राष्ट्रपति निर्वाचित भएपछि एक वर्षमा डलर सूचकांक १० प्रतिशतले घटेको थियो । यही कारण पनि सुनको मूल्य बढ्नमा भूमिका खेलेको विज्ञहरूको बुझाइ छ । ट्रम्पको आगमनपछि बढेको भूराजनीतिक तनाव, आर्थिक अनिश्चितता लगायतका कारण लगानीकर्ताको ध्यान डलरबाट टाढिँदै सुन तथा अन्य धातुतर्फ तानिएको थियो ।
सुन लामो समयसम्म सुरक्षित राख्न सकिने सम्पत्ति भएकाले अनिश्चितता बढ्दा लगानीकर्ता त्यसको संग्रहतिर लाग्ने गर्छन् । जसले गर्दा सुनको मूल्यमा निरन्तर उतारचढाव देखिने गरेको विज्ञहरु बताउँछन् ।












प्रतिक्रिया