काठमाडौँ । पछिल्लो समय नेपालीहरु विदेश भ्रमण गर्न सौखिन भएका छन् । छुट्टि मनाउन विदेश भ्रमणमा जाने नेपालीहरुको संख्या बढ्दै गइरहेको छ । पश्चिम मुलुकमा मौलाएको घुमफिर गर्ने संस्कार नेपालीहरुले पनि अंगाल्न शुरु गरेका छन् ।
नेपालीहरुको विदेश भ्रमणको मोह बढ्दा ३ वर्षमा २ खर्ब ४९ अर्ब १९ करोड ९ लाख रुपैयाँ बाहिरीएको हो । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार चालु आर्थिक वर्षको पाँच महिना (साउन–मंसिर) मा ८८ अर्ब ९७ करोड खर्च गरेका छन् । त्यसैगरी, गत आर्थिक वर्ष २०८१/८२ को सोही अवधीमा ८४ अर्ब ४९ करोड ७ लाख रुपैयाँ र अघिल्लो आव २०८०/८१ म ७५ अर्ब ७३ करोड २ लाख रुपैयाँ खर्च गरेकका थिए ।
विशेष पारिवारीक भ्रमणमा जानेको संख्या बढेको नेपाल एशोसियशन अफ टुर एण्ड ट्राभल एजेन्टका अध्यक्ष कुमारमणी थपलियाले बताए । ‘मेहनत गरेर कमाउन अनि मोजमस्ती गर्ने नेपालीहरु बढ्दै गइरहेका छन्’ उनले भने, ‘नेपालीहरुमा पनि घुमफिर गर्नुपर्छ भन्ने प्रवृत्ति विकास हुँदै गइरहेको छ ।’
उनका अनुसार दशैं–तिहार विदामा विदेश भ्रमण गर्न जान प्याकेज खरिद गर्नेहरुको संख्या बढी छ । नेपालीहरुको विदेश भ्रमण मोह बढ्न थालेपछि व्यवसायीहरुले पनि विभिन्न देशमा भ्रमणका आकर्षक प्याकेज बनाउँदै आएका छन् ।
विदेश भ्रमणमा जाँदा नयाँ ठाउँ देख्न पाइनुका साथै नयाँ कुरा जान्न पनि पाइन्छ । नेपालीहरु परिवार तथा साथीहरुसँग विदेश भ्रमणमा जाने गरेको ट्रेकिङ एजेन्सिज अफ नेपाल (टान) का वरिष्ठ उपाध्यक्ष कर्म शेर्पा बताउँछन् ।
‘पछिल्लो समय नेपालमा घुमफिर गर्ने भन्दा विदेश घुमफिर गर्न जानेहरुको संख्या बढिरहेको छ’ उनले भने । उनका अनुसार, कतिपय अन्तर्राष्ट्रिय विमान कम्पनीहरुले नेपालीहरुलाई लक्षित गरि हवाई टिकटमा विशेष छुट प्रदान गर्दै आएका छन् । जस्ले गर्दा पनि नेपालीहरु विदेश भ्रमणमा जान आकषिर्त भएका हुन् ।
नेपालीहरु विशेषगरि थाईल्याण्ड, सिंगापुर, मेलेसिया, दुबई, भारत र हङकङ लगायतका भ्रमण गर्न रुचाउने गरेको उनले बताए । खासगरी नेपालीहरुका लागि सहज र सस्तो गन्तव्य भारत बनेको छ । भारतका गोवादेखि महाराष्ट्रसम्म, नैनीतालदेखि आगरासम्म फन्को लगाउने गरिएको छ ।
थाइल्याण्ड
विश्वकै सबैभन्दा बढी पर्यटक भित्र्याउने सहरमध्येमा पर्छ थाइल्याण्डको राजधानी बैंकक । बैंककमा विश्वको सबैभन्दा ठूलो चिडियाघर पनि छ । त्यहाँ एसिया र अफ्रिकाका लगभग सबै वन्यजन्तुलाई नजिकबाट नियाल्न सकिन्छ । दरबार, संग्रहालय, पार्कहरुका साथै बैंककमा विभिन्न सपिङ सेन्टर पनि छन् । चतुचक वीकेन्ड मार्केट, साम्पेङ मार्केट, याओवरात र फहुरात नाइट मार्केट लगायत लक्जरी डिपार्टमेन्ट स्टोरहरू छन् ।
दुबई
दुबई सहर विश्वभरकै लागि विलासी गन्तव्य हो । पर्यटनलाई आफ्नो अर्थतन्त्रको प्रमुख हिस्सा बनाउँदै यूएईका सहरहरू विकसित छन् । दुबई संसारकै द्रुत गतिमा विकसित भइरहको सहर हो ।
यहाँ समुन्द्री तटहरू, भव्य होटल र विलासी भवन, मानव निर्मित टापुहरू, चम्किलो स्काइलाइन, आकर्षक सपिङ मल छन् । सिटी टुर, बुर्ज खालिफा, गोल्डेन गेट, संग्राहलय, डेजर्ट सफारी दुबईका आकर्षण हुन् । धावा क्रुजमा डिनर पार्टी, सांस्कृतिक नाच प्रदर्शनले यहाँको रातलाई रंगीन बनाउँछ ।
सपिङ डेस्टिनेसनका लागि समेत विकसित दुबई खानाको लागि प्रख्यात छ । अरबिक खाना, चाइनिज, थाइदेखि भारतीय र नेपाली परिकार दुबईमा उपलब्ध छन् ।
सिंगापुर
सिंगापुर एसियाको व्यापारिक, पर्यटकीय तथा सांस्कृतिक देश हो । सिंगापुर वुडल्यान्ड्स, जुरोङ इस्ट, पुलाउ उजोङ आदि पर्यटकीय स्थलहरूका लागि चर्चित छन् । वुडल्यान्डहरू विभिन्न पार्क, स्मारक र विश्वकै ठूलो स्वीमिङ पुल सिंगापुरमा छ । वुडल्याण्डमा सिंगापुरको प्रकृतिको आनन्द लिन सकिन्छ । बड्र्स पार्क, विज्ञान केन्द्र, म्युजियम आदिका लागि जुरोङपूर्व सबैभन्दा राम्रो ठाउँ हो ।
हङकङ
चीनको स्वशासित क्षेत्र हङकङ प्रमुख पर्यटकीय गन्तव्य हो । घुमघाम र किनमेल गरेर यहाँ आनन्द लिन सकिन्छ । अर्को आकर्षक पक्ष यहाँको चिनियाँ संस्कृति हो । सिंह र ड्र्यागन नृत्य, आतिशबाजी, कार्निभल आदि हङकङको रात्रि जीवनले पर्यटकलाई आकर्षित गर्छ ।
मलेसिया
छोटो समयमै आर्थिक प्रगति गरेको मलेसिया घुम्नका लागि निकै चर्चित छ । कामदारका रुपमा धेरै नेपाली पुगेका छन्, यद्यपि घुम्न जाने नेपालीको संख्या पनि मलेसियामा उल्लेख्य हुने गरेको छ ।
यहाँको नाइटलाइफको मज्जा, समुन्द्री तट, सुन्दर पार्क र वन्यजन्तुहरू जस्तै राष्ट्रिय निकुञ्जको केन्द्र मुख्य आकर्षण हो । राजधानी क्वालालम्पुरमा स्वादिष्ट परिकार, आलिसान भवनहरू, सपिङ मल, बजार, नाइट लाइफ प्रख्यात छ ।












प्रतिक्रिया