नेको इन्स्योरेन्सको व्यवसायसँगै खुद नाफामा तीब्र सुधार


नेको इन्स्योरेन्स (NIL) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा व्यवसायसँगै खुद नाफामा राम्रो सुधार गरेको वित्तीय विवरण निकालेको छ ।

इन्स्योरेन्सले गत आर्थिक वर्षको देस्रो त्रैमासमा ७० करोड ९९ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेकोमा चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ९४ करोड ४३ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ ।

पुनर्बीमा कमिशन आयमा ह्रास आएको इन्स्योरेन्सले लगानी, कर्जा तथा अन्य आयबाट आम्दानी बढाएको छ । दाबी भुक्तानीको आकार स्थीर रहेको इन्स्योरेन्सको अभिकर्ता कमिशन, सेवाशुल्क खर्च बढेको छ भने व्यवस्थापन खर्च घटेको छ ।

भुक्तान हुन बाँकी दाबी वापतको व्यवस्था र असमाप्त जोखिम वापतको व्यवस्था बढेको कम्पनीको आम्दानीका शीर्षकहरुमा सुधार देखिएको छ । जसका कारण कर्मचारीको बोनस र आयकर वापतका लागि छुट्याइने रकमको आकार फराकिलो अन्तरले बढाएको इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा २६ करोड ४० लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको यसै अवधिमा इन्स्योरेन्सले १६ करोड ४७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

गत आर्थिक वर्षको दोस्रो आर्थिक वर्षमा १ लाख १७ हजार ८०९ वटा बीमालेख जारी गरेको इन्स्योरेन्सले चालु आर्थिक वर्षको यसै अवधिसम्ममा १ लाख ७४ हजार ७१० वटा बीमालेख जारी गरेको छ । २६ हजार ६१८ वटा बीमालेख नवीकरण गरेको इन्स्योरेन्सले ३ हजार ३२९ वटा दाबी वापत ४४ करोड १७ लाख रुपैयाँ भुक्तानी गरेको छ भने ४ हजार ९१९ वटा दाबी वापत ८८ करोड १२ लाख रुपैयाँ भुक्तान गर्न बाँकी छ ।

चुक्ता पूँजी १ अर्ब ३१ करोड ७४ लाख ३२ हजार रुपैयाँ रहेको इन्स्योरेन्सको जगेडा कोषमा ६४ करोड ३२ लाख रुपैयाँ तथा बीमा कोषमा ९६ करोड ३६ लाख रुपैयाँ सञ्चित छ । प्रतिशेयर आम्दानी ४० रुपैयाँ ८ पैसा रहेको इन्स्योरेन्सको मूल्य आम्दानी अनुपात ३१.९४ गुणा छ भने प्रतिशेयर नेटवर्थ २२९ रुपैयाँ छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।