काठमाडौँ । चलचित्र ‘आबाट आमा’ ले ११ करोड बढी कमाएको छ । चलचित्र विकास बोर्डले सार्वजनिक गरेको बक्स अफिस कलेक्सनले फागुन ९ गते मध्यरातसम्मको विवरण सार्वजनिक गरेको हो ।
चलचित्र विकास बोर्ड अन्तर्गतको सिनेपा बक्स अफिसले चलचित्र आबाट आमा, कुमारी, रमिताको पिरती, बिगुल, श्री बुकुरो र शिवांशको बक्स अफिस कलेक्सन विबरण सार्वजनिक गरेको हो ।
पछिल्लो समय चुनावी चहलपहल बढ्दा चलचित्रको व्यापार सुस्ताएको छ । हलहरुमा प्रर्दशन सुरु भएका चलचित्रहरु हेर्न टिकट खासै बिक्री भइरहेका छैनन् । तर चलचित्र ‘आबाट आमा’ले सुखद व्यापार गरिरहेको बोर्डको तथ्यांकले प्रष्ट पारेको छ ।
बोर्डका अनुसार गत माघ १६ गतेदेखि प्रदर्शनमा आएको आबाट आमा चलचित्रले हालसम्ममा ११ करोड २४ लाख ६ हजार रुपैयाँ कलेक्सन गरेको हो । यो अवधिमा चलचित्रको ४ लाख २३ हजार १११ वटा टिकट बिक्री भएका छन् । चन्द्र पन्तद्वारा निर्देशित सामाजिक कथामा निर्माण भएको चलचित्रले आमा र परिवारको कथा समेटेको छ ।
चलचित्रमा प्रेमकथा पनि समावेश गरिएको छ । सो चलचित्रमा विपना थापा, पल शाह, भारतीय अभिनेता प्रदीप रावत, उषा उप्रेती, सिम्रन पन्त, साइग्रेस पोखरेल, गजित बिष्ट, बेगम नेपाली लगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ ।
त्यसैगरी, कमाइको हिसाबले दोस्रो स्थानमा चलचित्र ‘कुमारी’ रहेको छ । माघ २३ गतेदेखि प्रदर्शनमा आएको चलचित्रले हालसम्म १९ हजार ३७९ वटा टिकटबाट ६३ लाख २४ हजार रुपैयाँ कलेक्सन गरेको छ । प्रेम कथामा आधारित चलचित्रलाई निर्देशनमा अब्बल मानिने निर्देशक दिनेश राउतले निर्देशन गरेका हुन् । चलचित्रमा प्रेम, मानवीय संघर्ष र पारिवारिक अन्तद्र्वन्द्वको कथालाई कलात्मक ढंगले चित्रण गरिएको छ ।
त्यसैगरी, तेस्रो स्थानमा रहेको रमिताको पिरतीले ७ हजार ८०३ टिकटबाट २५ लाख ५५ हजार ८३ रुपैयाँ आम्दानी गरेको छ । सुदिप्ताको निर्देशनमा बनेको चलचित्र ‘रमिताको पिरती’ पनि माघ २३ गतेबाट प्रदर्शनमा आएको थियो । प्रेम सम्बन्धमा आधारित चलचित्रमा युवतिको ‘ब्रेकअप’ पछिको दृष्टिकोणबाट चलचित्र प्रस्तुत गर्न खोजिएको छ ।
त्यस्तै, चलचित्र बिगुलले २ हजार ६०९ वटा टिकटबाट ८ लाख ९७ हजार रुपैयाँ कमाइ गर्दै चौथो स्थान लिएको छ । फागुन १ गतेबाट प्रदर्शनमा आएको यो चलचित्र राजनीतिक विषयवस्तुमा आधारित छ ।
रमेश कोइराला निर्देशित चलचित्रमा नीर शाह, रमेश बुढाथोकी, बेनिशा हमाल, नरेन खड्का, सरोज खनाल, हेमन्त बुढाथोकी, शिशिर वाङ्देल, मीरा पण्डित लगायतको अभिनय छ ।
त्यस्तै, चलचित्र श्री बुकुरोले हालसम्म ८०५ टिकट मार्फत २ लाख ७२ हजार रुपैयाँ आम्दानी गरेको छ । सुदीप भूपाल सिंह निर्देशित सो चलचित्र फागुन १ गतेदेखि प्रदर्शनमा आएको हो ।
चलचित्रमा आशीर्वाद क्षेत्री, लक्ष्मी गिरी, निकिता आचार्य, प्रतिकराज आचार्य, रोशनी कार्की, राजन इशान, दीपिका थापा, लय संग्रौला, मोहन निरौला, रामबाबु रेग्मी, रश्मी भट्ट, उत्तम केसी, गीता थापा, सपना श्रेष्ठ, आशिका शाही, दीपक कार्की र रजिना विश्वकर्माको अभिनय छ ।
फागुन १ गतेदेखि नै प्रदर्शनमा आएको चलचित्र ‘शिवांश’ले हालसम्म ७८७ वटा टिकटबाट २ लाख ६१ हजार रुपैयाँ कमाएको छ । सन्तोष कुमार आत्रेयले निर्देशन गरेका हुन् । चलचित्रको कथा अञ्जान केसीले लेखेका छन् । स्क्रिनप्ले बारत लिम्बूको छ । अञ्जान केसी निर्माता चलचित्रको सह–निर्मातामा शोभा भण्डारी र अनिस केसी बोगटी रहेका छन् । चलचित्रका कार्यकारी निर्माता सम्भू थापा हुन् ।
एकैसाथ प्रदर्शनमा आएको पछिल्लो तीन चलचित्र प्रदर्शनमा आएको पाँच दिनबाट नै स्थगित भएको छ । चलचित्र फागुन ६ गते बुधबारदेखि अर्को सूचना जारी नभइन्जेलसम्मका लागि हाललाई स्थगित गरिएको निर्माण टिमले विज्ञप्ति मार्फत जानकारी दिएको हो ।












प्रतिक्रिया