बैंक नपुगी ऋण लिन पाउँदा फोन लोनमा आकर्षण बढ्दो, तीन वाणिज्य बैंकबाट कर्जा लिनेको संख्या उत्साहजनक


प्रविधिमा आधारित भुक्तानी प्रणालीको प्रयोग बढिरहेका बेला मोबाइल एपबाट नै ऋण लिनेहरु पनि उत्तिकै आकर्षित हुन थालेका छन् । पछिल्लो समय एफ वान सफ्टले विकास गरेको फोन लोन नामक सेवा विभिन्न बैंकहरुले सञ्चालन गरिरहेका छन् । पछिल्लो पटक लक्ष्मी बैंकले यो सेवा सुरुवात गरेकोमा पहिलो दिनमा नै कर्जा लिनेको संख्या उत्साहजनक रहेको बैंकले जनाएको छ ।

बैंकका अनुसार एफ वान सफ्टसँगको सहकार्यमा सुरु गरिएको स्मार्ट फोन लोन सेवामा सेवाग्राहीको चासो अधिक देखिएको हो । कर्जा प्रकृयाका लागि बैंक पुग्नु नपर्ने भएकाले घरमा वा कार्यालयमा नै बसेर केही बेरमा कर्जा लिन सकिने भएकाले उल्लेख्य संख्यामा मोबाइल बैंकिङ प्रयोगकर्ताहरुले यस्तो कर्जा लिएका हुन् । बैंकले फागुन ४ गतेदेखि यो सेवा सुरु गरेको थियो ।

लक्ष्मी बैंकको ‘स्मार्टफोन लोन’ सेवाबाट २ लाखसम्मको कर्जा लिन सकिने

लक्ष्मी बैंककी स्ट्राटिजी एण्ड मार्केटिङ हेड भारती पाण्डेका अनुसार बैंकमा सञ्चालनमा रहेका तलबी खातावाहकहरुले छिनभरमा नै बैंकको मोबाइल एपका लागि आवेदन दिन सक्ने छन् । कर्जा लिनका लागि पुरा गर्नु पर्ने अन्य प्रकृयाका लागि बैंक पुग्नु नपर्ने भएकाले नै बैंकका सेवाग्राहीले स्मार्ट फोन लोनबाट कर्जाका लागि आवेदन गर्ने गरेको र यस्तो संख्या उत्साहजनक रहेको उनको भनाई छ । “सामान्य अवस्थामा कर्जा लिन बैंक पुग्नु पर्ने र आम्दानी विबरण बुझाउनु पर्ने व्यवस्था भएकोमा तलबी खाताको स्टेटमेण्टका आधारमा कर्जा प्रवाह हुने भएकाले हामीलाई मात्र नभई सेवाग्राहीलाई पनि सजिलो भएको छ,” उनले भनिन् ।

उता केही समय अघि यो सेवा सुरु गरेका नबिल र कुमारी बैंकमा पनि फोन लोन आकर्षित बनिरहेको छ । एफ वान सफ्टसँगको सहकार्यमा पहिलो पटक गत असोज ५ गते नबिल बैंकले नबिल फोन लोन सेवाको सुरुवात गरेको थियो । उक्त सेवामा आकर्षण देखिएको बैंकका डिपुटी सिइओ विनय कुमार रेग्मीको भनाई छ । “तलबी खाता सञ्चालन गर्ने सेवाग्राहीलाई लक्षित गरेर कोभिडको असहज परिस्थितीमा सुरु गरेको सेवाबाट धेरै जनाले कर्जा लिएका छन्” रेग्मीले भने, “प्रकृया सहज अनि मोबाइलमा आधारित भएकाले यो लोन सेवाको प्रभावकारिता राम्रो देखिएको छ ।”

नबिल बैंकले ल्यायो ‘नबिल फोन लोन’ सुविधा, यसरी पाइन्छ ऋण

फोनबाटै तत्काल लोन लिन पाउँदा बैंक र कर्पोरेट क्षेत्रका कर्मचारी लावान्वित बनेको कुमारी बैंकको भनाई छ । बैंकका अनुसार कात्तिक १६ गतेदेखि सुरु गरिएको फोन लोन सेवाबाट कर्जा लिनेहरुको संख्या उल्लेख्य छ । बैंकले आफुकहाँ सञ्चालनमा रहेका तलबी खातावाहकहरुलाई लक्षित गर्दै उक्त सेवा सुरु गरेको थियो ।

कुमारी बैंकले ल्यायो ‘फोनलोन’, किनमेल गर्दा सिधै १ लाखसम्म कर्जा

फोन लोनको सबै प्रविधि एफ वान सफ्टले तयार पारेको हो । एफवान सफ्टका अनुसार हाल तीन वटा बैंकमा सञ्चालनमा रहेको सेवालाई अरु बैंकहरुमा बिस्तार गर्दै लगिने छ । यसले डिजिटल बैंकिङमा फड्को मार्ने विश्वास एफ वान सफ्टले लिएको छ ।

बिना धितो, बिना कागजी प्रक्रिया तत्कालै ऋण पाइने भएकाले यसमा आकर्षण बढेको एफवान सफ्टका प्रमुख कार्यकारी अधिकृत सुवास शर्माले बताए । “एफवान सफ्टले जहिलेपनि आम मानिसको दैनिकीलाई सहज र सरल बनाउने किसिमका प्रविधिको निर्माण गर्दछ । यसै क्रममा हामीले फोनबाटै लोन लिन सकिने प्रविधिको विकास गरेका हौं । जसलाई बैंकहरूले एडप्ट गरिदिएकाले सेवाग्राहीलाई सजिलो भएको छ” शर्माले भने ।

यो सेवा प्रयोग गरेर कर्जा लिनका लागि लक्ष्मी बैंक, कुमारी बैंक र नबिल बैंकमा तलबी खाता सञ्चालन गरेकाहरुले बैंकको स्मार्ट एप डाउनलोड गरेर सञ्चालन गर्नु पर्ने हुन्छ । कन्ट्याक लेस डिजिटल ल्यान्डिङ एक्सपेरियन्समा आधारित प्रणालीको सहायतामा सेवाग्राहीले मोबाइलबाट नै कर्जाका लागि आवेदन दिन सक्छन् । बैंकले सम्पूर्ण प्रक्रिया पूरा गरी तुरुन्त आवेदकलाई कर्जा उपलब्ध गराउँछ ।

ग्राहकको बैंकिङ कारोबारसँग निहीत भएकाले कुनै अतिरिक्त धितो आवश्यक नपर्ने यो सेवामा तलबी बैंक खाताको स्टेटमेण्टका आधारमा कर्जा उपलब्ध हुन्छ । यस योजना अन्तर्गत बैंक अनुसार २ लाख रुपैंयासम्मको कर्जा उपलब्ध हुनेछ । बैंकमा नियमित कारोबार गरेका र क्रेडिट हिस्ट्र राम्रो रहेका ग्राहकहरूलाई यस्तो सुविधा प्रदान गरिन्छ । बैकमा खाता भएका व्यक्तिहरूले आफ्नो मोबाईल बैंकिङमार्फत निवेदन दिएको केही मिनेटमै ग्राहकको खातामा ऋण उपलब्ध हुन्छ । 

आगामी दिनमा यो सेवालाई अन्य बैंकहरुमा पनि बिस्तार गर्दै लगिने एफ वान सफ्टले जनाएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।