रसुवागढी र साञ्जेनको आईपिओमा आवेदन खुल्यो, एक हजार रुपैयाँदेखि आवेदन गर्न सकिने

0
Shares

 

रसुवागढी हाइड्रोपावर र साञ्जेन जलविद्युत कम्पनीको साधारण शेयर बैशाख ६ गते आजदेखि सर्वसाधारणमा कूल १ करोड ४३ लाख २१ हजार ७१७ कित्ता शेयरमा आवेदन खुला भएको छ । दुबै कम्पनीको शेयरमा लगानीकर्ताले एक हजार रुपैयाँदेखि नै आवेदन गर्न पाउनेछन्।

रसुवागढी हाइड्रोपावरले जारी पूँजी ६ अर्ब ८४ करोड २१ लाख रुपैयाँको १५ प्रतिशतले हुन आउने एक अर्ब दुई करोड ६३ लाख १५ हजार रुपैयाँ बराबरको एक करोड २ लाख ६३ हजार १५० कित्ता शेयर निष्काशन गरेको हो ।

जसमध्ये चार प्रतिशत बराबरको ४ लाख १० हजार ५२६ कित्ता कर्मचारीहरुलाई र ५ लाख १३ हजार १५७ कित्ता सामूहिक लगानी कोषहरुलाई छुट्टाएर बाँकी रहेको ९३ लाख ३९ हजार ४६७ कित्ता शेयर सर्वसाधारणमा निष्काशन गरिएको छ।

उता साञ्जेन जलविद्युत कम्पनीले कुल जारी पूँजी ३ अर्ब ९५ करोड रुपैयाँको १५ प्रतिशतले हुन आउने ५४ करोड ७५ लाख रुपैयाँ बराबरको ५४ लाख ७५ हजार कित्ता शेयर निष्काशन गरेको हो।

निष्काशित शेयरमध्ये चार प्रतिशत बराबरको २ लाख १९ हजार कित्ता कर्मचारीहरुलाई र २ लाख ७३ हजार ७५० कित्ता सामूहिक लगानी कोषहरुलाई छुट्टाएर बाँकी रहेको ४९ लाख ८२ हजार २५० कित्ता शेयरमा सर्वसाधारणबाट माग आह्वान गरिएको छ ।

बैशाख १० गतेसम्म आवेदन दिन पाउने

दुवै कम्पनीले निष्काशन गर्ने आईपिओमा लगानीकर्ताले बैशाख १० गतेसम्म आवेदन दिन पाउनेछन् । नेपाल धितोपत्र बोर्डबाट सि आश्वा अनुमति लिएका लगानीकर्ताको बैंक खाता रहेको सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा तिनका शाखा कार्यालयहरु ७७ जिल्लाबाटै आईपिओमा आवेदन गर्न सकिन्छ। त्यसको अलावा मेरो शेयर प्रयोगकर्ताहरुले सो सफ्टवेयर मार्फत पनि आईंपिओ भर्न सक्नेछन्

‘जनताको जलविद्युुत कार्यक्रम’ अन्तर्गत निष्काशन गरिएपनि दुबै आयोजनाको भौतिक प्रगति ५० प्रतिशत बढी सम्पन्न भैसकेकाले लगानीकर्ताले प्रतिशेयर १०० रुपैयाँ दरले नै खरिद गर्नुपर्नेछ।

न्यूनतम १० कित्तादेखि आवेदन गर्न सकिने व्यवस्था

नेपाल धितोपत्र बोर्डले एक निर्देशन जारी गर्दै पूँजी बजार पहुँच देशव्यापी बनाउने भन्दै सबै सार्वजनिक निष्काशनमा न्यूनतम १० कित्ता पनि आवेदन गर्न पाइने नयाँ व्यवस्था तत्काल कार्यान्वयन गर्न चैत २७ गते मर्चेन्ट बैंकरहरुलाई निर्देशन दिएको थियो।

सो व्यवस्था अनुसार रसुवागढी हाइड्रोपावर र साञ्जेन जलविद्युतको दुबै कम्पनीको आईपिओमा १० कित्ता पनि भर्न पाउने व्यवस्था लागू गरिएको हो। यसअघि प्रकाशित आह्वानपत्रमा भने दुबै कम्पनीले न्यूनतम ५० कित्ता आवेदन गर्नुपर्ने विवरणपत्र प्रकाशन गरेका थिए।

शेयर बिक्री प्रबन्धक

रसुवागढीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल तथा सह निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल, ग्लोबल आईएमई र सनराइज क्यापिटल छन्।

यस्तै साञ्जेन जलविद्युत्को धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नागरिक लगानी कोष तथा सह निष्काशन तथा विक्री प्रबन्धक सनराइज र एनएमबि क्यापिटललाई तोकिएको छ ।

रसुवागढी हाइड्रोपावरले १११ मेगावाटको रसुवागढी जलविद्युत आयोजना निर्माण गरिरहेको छ भने साञ्जेनले १४.८ मेगावाट क्षमताको साञ्जेन माथिल्लो र ४२.५ मेगावाटको साञ्जेन जलविद्युत आयोजना निर्माण गरिरहेको छ।

साञ्जेनका दुबै आयोजनाहरु २०७६ पुस मध्यसम्म र रसुवागढी जलविद्युत आयोजनाले २०७६ फागुनदेखि व्यवसायिक विद्युत उत्पादन गर्ने प्रक्षेपण छ।