काठमाडौँ । वाणिज्य बैंकहरुले सडक दस्तुर संकलनका लागि ‘आरएफआईडी’ कार्ड जारी गर्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले मंगलबार एक परिपत्र जारी गर्दै भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन, २०८१ मा संशोधन गरेको हो ।
अब वाणिज्य बैंकहरूलाई मात्रै सडक उपभोग दस्तुर संकलनका लागि विशेष कार्ड जारी गर्ने बाटो खुलेको छ । जसअनुसार वाणिज्य बैंकहरूले अबदेखि रेडियो फ्रिक्वेन्सी आइडेन्टिफिकेसन (आरएफआईडी) चिपमा आधारित प्रिपेड कार्ड वा ट्याग जारी गर्न पाउने छन् ।
संशोधित निर्देशनअनुसार नेपाल सरकारले तोकेका सडक वा सडक खण्डहरूमा चल्ने सवारी साधनबाट सडक उपभोग दस्तुर संकलन गर्ने प्रयोजनका लागि मात्र यस्तो कार्ड प्रयोग हुनेछ। बैंकहरूले डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्न ‘प्रिपेड ट्याग’ वा कार्ड जारी गर्न सक्ने छन् ।
यसअघि बैंकहरूले डेबिट, क्रेडिट र सामान्य प्रिपेड कार्ड मात्र जारी गर्दै आएका थिए। यो नयाँ व्यवस्थासँगै अब नेपालका राजमार्गहरूमा ‘फास्ट ट्याग’ जस्तै प्रविधि कार्यान्वयनमा आउने निश्चित भएको छ। जसले गर्दा सवारी चालकहरूले टोल प्लाजामा गाडी रोकेर नगद बुझाउनुपर्ने झन्झट हट्ने छ।
यस कदममार्फत डिजिटल भुक्तानी प्रणाली प्रवर्द्धन गर्ने, टोल संकलन प्रक्रिया पारदर्शी र द्रुत बनाउने तथा समय र स्रोतको बचत सुनिश्चित हुने विश्वास लिइएको छ ।












प्रतिक्रिया