काठमाडौँ । वाणिज्य बैंकहरूले शाखा मर्जरमा चासो देखाउन थालेका छन् । नेपाल राष्ट्र बैंकले महानगरपालिका भित्रका बैंक शाखा समायोजन गर्न अनुमति दिएपछि वाणिज्य बैंकहरूले शाखा मर्जरलाई तीव्रता दिएका हुन् । यससँगै शहरी बैंकिङ संरचनामा पुनर्संरचना सुरु भएको छ ।
आधा दर्जन वाणिज्य बैंकहरूले सयभन्दा बढी शाखा गाभ्ने तयारी गरेका छन् । लागत कटौती गर्न, खर्च व्यवस्थापन गर्न तथा डिजिटल रूपान्तरणका लागि बैंकहरू शाखा मर्ज गर्न अगाडि बढेका हुन् ।
चालु आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिमार्फत घोषणा गरिएको यो व्यवस्था कार्यान्वयन गर्न राष्ट्र बैंकले मङ्सिर २९ गते निर्देशन जारी गरेको थियो । उक्त निर्देशनले महानगरपालिका भित्र एकै क्षेत्रमा केन्द्रित र घाटामा रहेका शाखाहरूलाई गाभ्न सहज बनाएको हो । बैंकहरूले लामो समयदेखि सञ्चालन खर्च उच्च भएको र एकै स्थानमा धेरै शाखा हुँदा अस्वस्थ प्रतिस्पर्धा बढेको भन्दै यस्तो व्यवस्था माग गर्दै आएका थिए ।
निर्देशन जारी भएको करिब दुई महिनामै आधा दर्जन बैंकहरूले सयभन्दा बढी शाखा समायोजनका लागि सार्वजनिक सूचना जारी गरेका छन्, जसले शहरी बैंकिङ संरचनामा परिवर्तनको संकेत गरेको छ ।
शाखा समायोजन गर्ने बैंकहरूमध्ये एनआईसी एशिया बैंक अग्रस्थानमा देखिएको छ, जसले ३९ शाखा गाभ्ने प्रक्रिया अघि बढाएको छ । यसैगरी कुमारी बैंकले २४, नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले १८, प्रभु बैंकले १४, एनएमबि बैंकले ४ र नबिल बैंकले ३ शाखा समायोजनका लागि सूचना जारी गरेका छन् । राष्ट्र बैंकको प्रावधानअनुसार बैंकहरूले शाखा गाभ्दा कम्तीमा ९० दिनअघि सूचना दिनुपर्ने व्यवस्था छ ।
शहरी क्षेत्रमा विद्युतीय कारोबार तीव्र रूपमा बढ्दै गएको सन्दर्भमा ग्राहकहरू बैंक शाखामै निर्भर हुनुपर्ने बाध्यता घट्दै गएको राष्ट्र बैंकले जनाएको छ । सोही कारण नजिकका शाखा गाभेर सञ्चालन खर्च घटाउने र दक्षता बढाउने लक्ष्यसहित यो नीति ल्याइएको हो । यद्यपि, ग्रामीण क्षेत्रमा शाखा बन्द गर्ने विषयमा भने अझै अध्ययन आवश्यक रहेको राष्ट्र बैंकको भनाइ छ ।
पछिल्लो समय कर्जा प्रवाह सुस्त हुनु र खराब कर्जा बढ्दै जाँदा बैंकहरूको आम्दानीमा दबाब परेको छ । यस्तो अवस्थामा लागत कटौतीका उपायस्वरूप शाखा समायोजनलाई प्राथमिकतामा राखिएको देखिन्छ । राष्ट्र बैंकका अनुसार २०८२ माघसम्ममा वाणिज्य बैंकका ५ हजार ८५, विकास बैंकका १ हजार १२६ र वित्त कम्पनीका २९१ गरी कुल ६ हजार ५०२ शाखा सञ्चालनमा छन् ।
शाखारहित सेवाग्राहीको संख्या निरन्तर घट्दै
बैंकिङ क्षेत्रमा शाखारहित सेवाग्राहीको संख्या निरन्तर घट्दै गएको छ । राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पछिल्लो ६ महिनामा अवधिमा बैंकिङ क्षेत्रमा शाखारहित सेवा केन्द्रका कुल ग्राहक संख्या दुई लाख ७४ हजार १४८ छ । जसमध्ये वाणिज्य बैंकमा दुई लाख ७३ हजार ६०१ र विकास बैंकमा पाँच सय ४७ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकिङ क्षेत्रमा शाखारहित सेवा केन्द्रतर्फको कुल ग्राहक संख्या दुई लाख ९७ हजार ४६० रहेको थियो । जसमध्ये वाणिज्य बैंकहरुमा दुई लाख ९६ हजार २७२ र विकास बैंकहरुमा १ हजार १८८ रहेको थियो ।
मोवाईल र इन्टरनेट बैंकिङ सेवाको तुलनामा शाखारहित सेवा महँगो र झन्झटिलो भएपछि यसतर्फ ग्राहक निरुत्साहित भएको बैंकरहरू बताउँछन् ।
पुस मसान्तसम्ममा बैंकिङ क्षेत्रमा शाखारहित सेवा केन्द्रको कुल संख्या घटेर ७७७ मा झरेको छ । जसमध्ये वाणिज्य बैंकहरुमा ७७३ र विकास बैंकहरुमा चारवटा शाखारहित सेवा केन्द्र रहेको छ भने फाइनान्स कम्पनीहरुमा यस्तो संख्या शून्य रहेको छ । गत आवको सोही अवधिमा शाखारहित सेवा केन्द्रको कुल संख्या १०२८ रहेको थियो । जसमध्ये वाणिज्य बैंकहरुमा १०११ र विकास बैंकहरुमा १७ रहेको थियो ।












प्रतिक्रिया