१३ प्रतिशतले बढ्यो नेपालको वैदेशिक व्यापार, ८ महिनामा १३ खर्बको आयात


काठमाडौँ । चालु आर्थिक वर्षको ८ महिनामा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा नेपालको वैदेशिक व्यापारमा वृद्धि भएको छ । भन्सार विभागले सार्वजनिक गरेको वैदेशिक व्यापारको तथ्यांकअनुसार चालु आर्थिक वर्षको साउनदेखि फागुनसम्म गत आवको सोही अवधिको तुलनामा नेपालको वैदेशिक व्यापार १३.५५ प्रतिशतले वृद्धि भएको हो ।

विभागको तथ्यांकअनुसार फागुनसम्म नेपालको कुल वैदेशिक व्यापार १४ खर्ब ८० अर्ब ३६ करोड २२ लाख ६१ हजार रुपैयाँको भएको छ । गत आर्थिक वर्षको सोही अवधिसम्म १३ खर्ब ३ अर्ब ७३ करोड ८६ लाख ४२ हजार रुपैयाँ बराबरको भएको थियो ।

आयातमा १२ प्रतिशत वृद्धि, निर्यातमा २० प्रतिशतले वृद्धि

विभागको तथ्यांकअनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा नेपालमा १२.५४ प्रतिशतले आयातमा वृद्धि भएको छ । चालु आर्थिक वर्षको फागुनसम्म नेपालमा १२ खर्ब ८९ अर्ब २५ करोड २ लाख ३१ हजार रुपैयाँ बराबरको वस्तु तथा सामान आयात भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा ११ खर्ब ४५ अर्ब ५६ करोड ६२ लाख ४० हजार रुपैयाँ बराबरको भएको थियो ।

त्यस्तै, चालु आर्थिक वर्षको फागुनसम्म नेपालको निर्यात गत आवको सोही अवधिको तुलनामा २०.८३ प्रतिशतले वृद्धि भएको विभागको तथ्यांकले देखाएको छ । चालु आर्थिक वर्षको फागुनसम्म १ खर्ब ९१ अर्ब ११ करोड २० लाख ३० हजार रुपैयाँ बराबरको वस्तु तथा सामान विभिन्न मुलुकतर्फ निर्यात भएको छ । गत आवको सोही अवधिमा १ खर्ब ५८ अर्ब १७ करोड २४ लाख २ हजार रुपैयाँ बराबरको भएको थियो ।

नेपालको वैदेशिक व्यापारमा वृद्धि भएसँगै कुल वैदेशिक व्यापार घाटामा पनि ११.२२ प्रतिशतले वृद्धि भएको विभागले जनाएको छ । गत आर्थिक वर्षको फागुनसम्म नेपालको कुल व्यापार घाटा ९ खर्ब ८७ अर्ब ३९ करोड ३८ लाख ३८ हजार रुपैयाँ भएकोमा चालु आर्थिक वर्षको फागुन मसान्तसम्म १० खर्ब ९८ अर्ब १३ करोड ८२ लाख रुपैयाँ पुगेको छ ।

प्रकाशित मिति: ८ चैत्र २०८२, आइतबार  १३ : ५७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।