भुक्तानी प्रणालीमा प्रभुत्व जमाउँदै मोबाइल बैंकिङ र क्यूआर, कस्तो छ एटीएम प्रयोगको अवस्था ?


काठमाडौं । चालु आर्थिक वर्ष २०८२-८३ को आठ महिना (फागुनसम्म) सार्वजनिक गरिएको आर्थिक तथा वित्तीय तथ्याङ्कले नेपालको भुक्तानी प्रणाली तीव्र गतिमा डिजिटल माध्यमतर्फ रूपान्तरण हुँदै गएको देखाएको छ ।

विशेषगरी डेबिट कार्ड, मोबाइल बैंकिङ र क्यूआर कोडमार्फत हुने कारोबारको उल्लेखनीय वृद्धिले उपभोक्ता व्यवहार, बैंकिङ पूर्वाधार र समग्र वित्तीय प्रणालीमा संरचनात्मक परिवर्तन भइरहेको देखाएको छ ।

फागुन महिनाको मात्र तथ्याङ्क हेर्दा डेबिट कार्डमार्फत ९८ लाख पटक कारोबार भई ७५ अर्ब ७३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । औसत कारोबार आकार विश्लेषण गर्दा प्रति कारोबार करिब ७–८ हजार रुपैयाँको हाराहारीमा देखिन्छ, जसले डेबिट कार्ड मुख्यतः एटीएम नगद झिक्ने तथा मध्यम आकारका भुक्तानीका लागि प्रयोग हुने गरेको छ ।

कार्ड–आधारित पूर्वाधार नेपालमा पुरानो र स्थिर भए पनि यसको प्रयोग विस्तारको गति अपेक्षाकृत मध्यम खालको छ । प्रयोगकर्ताहरू क्रमशः मोबाइल बैंकिङ र तुरुन्तै सेटल हुने डिजिटल माध्यमतर्फ सर्दै गएका कारण एटीएम प्रयोग घट्दै गएको छ ।

मोबाइल बैंकिङतर्फ भने उल्लेखनीय वृद्धि देखिएको छ । ६ करोड २५ लाखभन्दा बढी कारोबारमार्फत ५ खर्ब ४० अर्ब ७६ करोड बराबरको लेनदेन भएको छ । जसले भुक्तानी प्रणालीमा मोबाइल बैंकिङको प्रयोगले तीव्रता पाएको देखिन्छ ।

औसत कारोबार आकार करिब ८–९ हजार रुपैयाँ रहेको मोबाइल बैंकिङले केवल साना भुक्तानीमा सीमित नभई मध्यम तथा ठूला रकमका ट्रान्सफरमा समेत प्रयोग भइरहेको देखिन्छ । तलब भुक्तानी, व्यापारिक भुक्तानी, बिल सेटलमेन्ट, फन्ड ट्रान्सफर जस्ता बहुआयामिक प्रयोगका कारण मोबाइल बैंकिङ अहिले बैंकिङ प्रणालीको मेरुदण्डजस्तै बन्न थालेको जानकारहरू बताउँछन् ।

इन्टरनेट पहुँच विस्तार, स्मार्टफोनको उच्च प्रवेश दर र बैंकहरूले आफ्ना एपहरूलाई थप सहज बनाउँदै लगेका कारण यसको वृद्धिदर आगामी वर्षहरूमा अझ तीव्र हुने अनुमान गरिएको छ ।

क्यूआर कोड भुक्तानीतर्फ पनि उल्लेखनीय संरचनात्मक परिवर्तन देखिन्छ । चालु आवको फागुनसम्ममा ४ करोड ९० लाख कारोबारमार्फत १ खर्ब २५ अर्ब ९२ करोड रुपैयाँको कारोबार भएको छ । यसरी ठूलो मात्रामा भएको कारोबारले साना तथा खुद्रा कारोबारमा डिजिटल भुक्तानीको तीव्र प्रवेशलाई देखाएको छ ।

क्यूआरमार्फत औसत कारोबार आकार करिब २ हजार ५ सय देखि ३ हजार रुपैयाँको हाराहारीमा सीमित रहनुबाट यो माध्यम मुख्यतः दैनिक उपभोग, रेस्टुरेन्ट, किराना पसल, यातायात र साना सेवा क्षेत्रमा केन्द्रित रहेको स्पष्ट हुन्छ । कम लागत, तत्काल सेटलमेन्ट र सजिलो सेटअपका कारण क्यूआर कोड साना व्यवसायीका लागि सबैभन्दा आकर्षक विकल्प बनेको छ । यसले नगद कारोबार विस्थापनमा महत्वपूर्ण भूमिका खेल्दै आएको देखिन्छ ।

यी तीनवटै माध्यमको तुलनात्मक विश्लेषण गर्दा डेबिट कार्ड स्थिर र परम्परागत, मोबाइल बैंकिङ बहुउद्देश्यीय र उच्च मूल्य कारोबारका लागि प्रमुख र क्यूआर कोड साना तथा खुद्रा भुक्तानीका लागि तीव्र विस्तारशील भइरहेको देखाउँछ । यसले नेपालमा ‘नगद रहित अर्थतन्त्र’तर्फको प्रवेश केवल नीतिगत घोषणामा सीमित नरही व्यवहारमै कार्यान्वयन भइरहेको देखाउँछ ।

पछिल्ला केही वर्षयता सरकारले डिजिटल भुक्तानीलाई जोड दिँदै आएको छ । सोही अनुसार केन्द्रीय बैंकले पनि आफ्ना नीतिहरूमा डिजिटल भुक्तानी तथा डिजिटल कारोबारलाई विभिन्न नयाँ अवधारणामा प्रस्तुत गर्दै आएको छ । यसले मुलुकमा विद्यमान कागजी नोट भुक्तानी गर्ने प्रचलनलाई क्रमशः निरुत्साहित पार्दै गइरहेको देखिन्छ ।

खासगरी नेपालको सन्दर्भमा कोरोना महामारी पछि भुक्तानी प्रणालीमा फड्को मार्ने यात्रा तय भएको जानकार बताउँछन् । सो समयमा डिजिटल भुक्तानीलाई प्राथमिकता दिँदै जाँदा अहिले यस्तो कारोबार भ्रष्टाचार कम गर्न, सुशासन कायम गर्न तथा सरलीकृत सेवा दिनका लागि समेत सहज बन्दै गइरहेको छ ।

अहिले विश्वका धेरै मुलुकहरू नदगरहित अर्थतन्त्रको दिशामा छन् । तर वित्तीय समावेशीता लगायतका कारण न्यून नगद भएपनि चलनमा राख्ने परिपाटीका कारण उनीहरूले अधिकांश भुक्तानी नगदरहित भने गर्दै गइरहेका छन् । नेपालमा पनि डिजिटल भुक्तानीको प्रयोग बढ्दै जाँदा त्यसले अर्थतन्त्रमा नयाँ उत्साह र सन्देश दिने जानकार बताउँछन् ।

प्रकाशित मिति: २६ चैत्र २०८२, बिहिबार  १३ : २५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।