धितोपत्र बोर्डको अध्यक्षको आवेदन दिने समय सकियो, कति जनाले दिए आवेदन ?


काठमाडौँ । सरकारले क्षमतावानलाई प्राथमिकतामा राख्ने भएपछि नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदमा आवेदन दिनेहरुको संख्या उच्च देखिएको छ । आवेदन दिने अन्तिम दिन सोमबार कार्यालय समयभित्र आवेदन दिनेहरुको संख्या झण्डै ५० पुगेको छ ।

अर्थमन्त्रालयले एक साताको म्याद राखेर आवेदन माग गरेको थियो । शुक्रबार, शनिबार र आइतबार लगातार तीन दिन सार्वजनिक बिदा परेपछि सोमबार अर्थमन्त्रालयमा आवेदन दिनेहरुको भिड लागेको थियो ।

विगतमा राजनीतिक भागबण्डामा बोर्डको अध्यक्ष नियुक्त हुँदा सत्तारुढ दल निकटका व्यक्तिहरुको धेरै आवेदन पर्ने गरेको थियो । तर यस पटक भने सरकारले अध्यादेश नै ल्याएर राजनीतिक नियुक्तिहरु हटाएको अवस्थामा पार्टीको झण्डा नबोकेका व्यक्तिहरु पनि बोर्डको अध्यक्ष बन्ने दौडमा होमिएका हुन् । सरकारले राजनीतिक पहुँचका आधारमा नभई क्षमताका आधारमा विभिन्न निकायको नेतृत्व चयन गर्ने बताइरहेको छ । जसका कारण धेरै जना अध्यक्षका आकांक्षीहरु आफ्नो क्षमता प्रदर्शन गर्न लागेका हुन् ।

अर्थमन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान संमन्वय महाशाखा, सिहंदरबारमा रहेको ‘नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदमा नियुक्तिको लागि नाम सिफारिस गर्न गठित सिफारिस समिति’ को सचिवालयमा उनीहरुले आवेदन दिएका हुन् । समितिले बैशाख २१ गते सोमबारसम्ममा आवेदन दिन गत १५ गते सार्वजनिक सूचना निकालेको थियो ।

सोमबार साझ ५ बजेसम्ममा धितोपत्र बोर्डको अध्यक्ष बन्नका लागि कुल ४७ जनाले आवेदन दिएका छन् । सोमबार साँझ कार्यालय समय अर्थात् ५ बजेसम्म सचिवालयमा आवेदन दिन सक्ने व्यवस्था गरिएको थियो ।

धितोपत्र बोर्डका बहालवाला उच्च कर्मचारीदेखि पूर्व कर्मचारी, पूर्व मर्चेन्ट बैंकर तथा वित्तीय क्षेत्रमा अनुभव बटुलेका व्यक्तिहरुले आवेदन दिएका छन् । नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक विनयदेव आचार्य, पूर्व कार्यकारी निर्देशक डा. नवराज अधिकारीले बोर्डको अध्यक्ष पदका लागि आवेदन दिएका छन् । त्यसैगरी, पुँजीबजारमा सक्रिय पुरुषोतमराज चिमोरिया (शिव चन्द्र), पूर्व मर्चेन्ट बैंकर झवेन्द्र खत्री, पूर्व मर्चेन्ट बैंकर विनोद आचार्य, डा. गोपाल भट्ट लगायतले बोर्डको अध्यक्ष पदमा आवेदन दिएका हुन् ।

सोमबार साँझसम्म प्राप्त विवरणका आधारमा समितिले ५ जनाको नाम सिफारिस गर्नेछ । सरकारले ५ जना मध्येबाट एक जनालाई धितोपत्र बोर्डको अध्यक्ष चयन गर्नेछ ।

यही बैशाख ८ गते बसेको मन्त्री परिषदको बैंठकले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरेको थियो । समितिमा अर्थ सचिव घनश्याम उपाध्याय र पूर्व बैंकर भुवन कुमार दाहाल सदस्य छन् ।

प्रकाशित मिति: २१ बैशाख २०८३, सोमबार  १८ : ०३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।