उद्योगमन्त्रीलाई भेटेर नाडाले भन्यो “अटोमोवाइल उत्पादनमा अधिकतम मूल्य सहितको स्टीकर उचित”


अटोमोवाइल व्यवसायीहरुले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवसँग भेट गरी अटोमोवाइल वस्तुहरुमा अधिकतम मूल्य सूचि सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल गरेका छन् ।

नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले उद्योगमन्त्री यादवलाई व्यवसाय पारदर्शी बनाउनका यस्तो विकल्प उचित हुने बताएको हो ।

छलफलको क्रममा नाडा अध्यक्ष उपे्रतीले त्यस्तो व्यवस्थाले स्वभाभिक रुपमा उत्पादन र आयात व्यवसायलाई थप व्यवस्थित, स्वच्छ र पारदर्शी बनाउने मात्र नभई सरकारले प्राप्त गर्ने राजश्वमा समेत बृद्धि हुने बताएका थिए । साथै यसले आधिकारिक रुपमा व्यवसाय सञ्चालन गरिरहेका उद्यमी र व्यवसायीहरुलाई समेत प्रोत्साहित गर्ने भएकोले सरकारको दिर्घकालिन नीतिसँग नाडा पनि त्यस मन्त्रालयसंग सहकार्य गरी अघि बढ्न चाहेको उनले बताएका थिए ।

अध्यक्ष उपे्रतीले नेपालमा अहिले सिकेडी मोडेलमा थुप्रै चार पाँगे्र तथा दुई पाँगे्र सवारी साधनहरुको उत्पादन भईरहेको र अहिले टायर, लुव्रिकेण्ट्स् र व्याट्रीहरु पनि नेपालमै उत्पादन भईरहेको जानकारी गराएका थिए ।

नाडा प्रतिनिधि मण्डलसंग छलफल गर्दै मन्त्री यादवले नाडाले दिएका सुझावहरु मनन्योग्य रहेको भन्दै अहिलेको परिप्रेक्षमा यसको व्यावहारिक पक्ष बारे समय परिस्थिति अनुसार केही समयको लागि पछाडी सारेर समाधान गरिने बताएकी थिइन् । अब कसरी अगाडी बढ्ने भन्ने सम्बन्धमा अर्को निर्णय नभएसम्मका लागि तत्कालको समस्याहरुको समाधान गरेर अगाडी बढ्ने आश्वासन उनले दिएकी थिइन् ।

छलफलमा यो व्यवस्थालाई नेपालका अटोमोवाइल व्यवसायीहरुले एउटै बक्स भित्र सयौको संख्यामा आउने अटोमोवाइल स्पेयर पार्टसहरुको हकमा यो व्यवस्थालाई कसरी कार्यान्वयनमा ल्याउने भन्नेमा व्यावहारिक समस्या रहेको मन्त्री यादवले बताएकी थिइन् । भन्सारमा वण्डेड वेयर हाउस समेतको व्यवस्था नभएको अवस्थामा अटोमोवाइल बस्तुहरुमा भन्सार यार्ड भित्रै अधिकतम मूल्य सूचि सहितको स्टिकर टाँस्नु पर्ने व्यवस्था पनि व्यावहारिक नहुने बताएकी उनले सरकारले कसरी थप व्यावहारिक र कार्यान्वयन योग्य बनाउने भन्ने सम्बन्धमा व्यवसायीहरुका लागि सहजीकरण गरी दिनु पर्नेे आवश्यकतामा चासो भने देखाएकी थिइन् ।

नाडाका उपाध्यक्ष अभिक ज्योतिले नाडाले नै पहिलो पटक सरकारलाई एमआरपी र स्टिकरको विषयमा राय सुझाव दिएको जानकारी गराएका थिए । नाडाका सचिव मेघराज पौडेलले अधिकतम मूल्य सूचि सहितको स्टिकर टाँस्ने सम्बन्धमा देखिएको व्यावहारिक कठीनाइहरुबारे जानकारी दिएका थिए ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले मिति गत चैत ३० गते जारी गरेको विज्ञप्तिमा विदेशबाट पैठारी गरी नेपालमा विक्री वितरण गरिने सम्पूर्ण बस्तुहरुमा अनिवार्य रुपमा अधिकतम खुद्रा मूल्य उल्लेख गर्नु पर्ने साथै वस्तु विक्री गर्दा अनिवार्य रुपमा विल विजक जारी गर्ने व्यवस्था गरेको थियो । त्यसैगरी उद्योगहरुको हकमा उद्योगले बस्तु उत्पादनकै क्रममा प्याकेजिड्डमा मूल्य, व्याच नम्बर, तौल र म्याद स्पष्ट देखिनेगरी स्थायी लेवल राख्नु पर्ने उल्लेख गरेको थियो ।

प्रकाशित मिति: २२ बैशाख २०८३, मंगलबार  १८ : २२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।