नेप्से ४८.२९ अंक बढ्यो, दुई अर्ब ६२ करोडको शेयर कारोबार

0
Shares

शेयर बजार परिसूचक नेप्से सातामा ४८.२९ अंक अर्थात ४.०८ प्रतिशतले बढेको छ। नेपाल स्टक एक्सचेञ्जमा यस साता दुई अर्ब ६२ करोड २ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । १८३ कम्पनीको ८६ लाख ४२ हजार कित्ता शेयर ३३ हजार २१ पटक खरिद बिक्री भएका छन् । चार दिन खुला भएको बजारमा दैनिक औसत ६५ करोड ५० लाखको शेयर कारोबार भएको हो ।

गत साताको तुलनामा कारोबार रकम १२.४५ प्रतिशतले घटेको हो । गत साता १८८ कम्पनीका एक करोड ४ लाख कित्ता शेयर ३८ हजार ७९७ पटकको कारोबारबाट दुई अर्ब ९९ करोड रुपैयाँ बराबरमा खरिद बिक्री भएको थियो।

सोमबार ११८४.०२ बिन्दुमा खुला भएको नेप्से अन्तिम दिन बिहीबार १२३२.३१ बिन्दुमा बन्द भएको हो। सातामा चार दिन कारोवार भए । सोमबार बजार एक हजार १८८.७१ बिन्दुमा पुग्यो । नेपाल स्टक एक्सचेञ्जका अनुसार साताको अन्तिम दिन बजार बढेर एक हजार २३२.३० बिन्दुमा पुगेको छ । बैंक र बीमा उपसमूहको शेयर वृद्धि हुँदा बजारमा सकारात्मक प्रभाव परेको छ । यस्तै नयाँ वर्ष लागे पनि शेयर बजारमा स्थायी लेखा नम्बर(प्यान) समेत लागू भएको छ । पाँच लाखभन्दा बढीको शेयर कारोवारमा प्यान लागू हुने व्यवस्था गरिएको छ । स्टकका अनुसार यस साता बजारमा वाणिज्य बैंक समूहकै बोलवाला रह्यो ।

बजार बढेसँगै लगानीकर्ताको सम्पत्ति मापक बजार पूँजीकरण १५ खर्ब २४ अर्ब १० करोडमा बढेको छ । गत हप्ता १४ खर्ब ६२ अर्ब रहेको थियो। बजार पूँजीकरणको हिसाबले नेपाल टेलिकम शिर्ष स्थानमा रहेको छ । टेलिकमको पूँजीकरण एक खर्ब २ अर्ब ३० करोड रहेको छ ।

नबिल बैंक ७२ अर्ब ९३ करोड, नेपाल इन्भेष्टमेन्ट बैंक ६९ अर्ब ५९ करोड , एभरेष्ट बैंक ५० अर्ब ६४ करोड, स्ट्याण्डर्ड चार्टड ४९ अर्ब ७५ करोड, नेपाल लाईफ ४८ अर्ब ८० करोड, हिमालयन बैंक ४५ अर्ब ३२ करोड, एनआईसी एशिया ४२ अर्ब ५८ करोड, एसबिआई बैंक ३९ अर्ब २८ करोड र दशौं ठूलो पूँजीकरण भएको एनएमबि बैंकको बजार पूँजीकरण ३७ अर्ब ३ करोड रहेको छ ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक प्रतिवेदन सार्वजनिक हुने क्रमको थालनी हुँदा लगानीकर्ताको रोजाइमा वाणिज्य बैंकको शेयर पर्न थालेका छन् । यस साता रकमका आधारमा शिर्ष कारोबार हुने दश कम्पनीमा ९ वाणिज्य बैंक रहेका छन् भने शेयरमूल्य बढ्ने शिर्ष दश कम्पनीमध्ये ७ वटा वाणिज्य बैंक अटाएका छन् ।

एनएमबि बैंकको सबैभन्दा धेरै १९ करोड ४० लाख बढीको शेयर कारोबार भएको छ । कुमारी १७ करोड २६ लाख, प्रभु १५ करोड ६ लाख, एनआईसी एशिया १४ करोड ४३ लाख, नेपाल बैंक १२ करोड ६८ लाख, सिभिल ८ करोड २० लाख, एनसीसी ७ करोड ४५ लाख, सिद्धार्थ ७ करोड ४४ लाख र माछापुच्छ्रे बैंकको ६ करोड ७८ लाख रुपैयाँ बढीको कारोबार भएको छ । नेको इन्स्योरेन्सको ६ करोड ७४ लाख रुपैयाँ बढीको कारोबार भयो।

यसैगरि सातामा शेयरमूल्य बढ्ने दश कम्पनीमा ७ वठा वाणिज्य बैंक रहेको छ । यस साता डिप्रोक्स लघुवित्तको शेयरमूल्य सबैभन्दा धेरै १४।३३ प्रतिशतले बढेको छ । ५९३ रुपैयाँमा खुलेको लघुवित्तको शेयरमूल्य ८५ रुपैयाँले बढेर ६७८ रुपैयाँ पुगेको हो ।

एसबिआई बैंकको शेयरमूल्य १२.८६,सिद्धार्थ १२.४२, छिमेक लघुवित्त १२.२९,प्रभु ११.६५, लक्ष्मी ११.१७, कृषि विकास ११.११, स्वावलम्बन १०.४०, नबिल १०.०५ र सिभिल लघुवित्त १०.०४ प्रतिशतले बढेको छ ।

विजय लघुवित्तका शेयरधनीले सातामा सबैभन्दा धेरै ७.९६ प्रतिशतले गुमाएका छन् । लघुवित्तको शेयरमूल्य ६४१ रुपैयाँमा खुला भएकोमा ५१ रुपैयाँ घटेर ५९० मा झरेको हो ।

वल्ड मर्चेन्ट फाइनान्सको शेयरमूल्य ६.९८ र नाडेप लघुवित्तको शेयरमूल्य ५.६७ प्रतिशतले घटेको छ । रिलाइन्स फाइनान्स, रैराङ्ग, नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक, अरुण काबेली कर्पोरेट डेभलपमेन्ट बैंक, राधी विद्युत र सर्पोट माइक्रोफानान्सको शेयरधनी पनि तीन प्रतिशत बढीले गुमाएका छन् ।

गत दुई आर्थिक वर्षको लाभांशका कारण यस साता कुमारी बैंकको सबैभन्दा धेरै कित्ता शेयर कारोबार भएको छ । बैंकको ६ लाख ५८ हजार कित्ता शेयर एक हजार ९०९ पटक कारोबार भएको हो ।

इन्भेष्टमेन्ट बैंक र सिनर्जी फाइनान्सको शेयर सूचीकृत

स्टकमा यस साता नेपाल इन्भेष्टमेन्ट बैंकको बोनस र तत्कालिन सिनर्जी फाइनान्स (हाल वेष्ट फाइनान्स) को हकप्रद शेयर सूचीकरण भएको छ । बुधबार इन्भेष्टमेन्ट बैंकको एक करोड ९४ लाख ४५ हजार ८२ कित्ता बोनस र सिनर्जी फाईनान्सको तीन लाख ८० हजार ९३८ कित्ता हकप्रद शेयर सूचीकृत भएको हो।

इन्भेष्टमेन्ट बैंकको ३२ औं वार्षिक साधारण सभाले गत बर्षको मूनाफाबाट चुक्ता पूँजीको १८ प्रतिशत बोनस र २२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । उक्त बोनस शेयर पुस १० गतेसम्म कायम शेयरधनीले मात्र प्राप्त गर्न सक्नेछन् ।

बेष्ट फाइनान्ससँग गाभिन पहिले सिनर्जी फाइनान्सले चुक्ता पूँजीको २५ प्रतिशत हकप्रद निष्काशन गरेको थियो । उक्त हकप्रद शेयर बुधबार नेप्सेमा सूचीकृत भएको हो ।