चन्द्रागिरी हिल्सको शेयर मूल्य कर्नरिङकै बेला १० प्रतिशतले घट्यो


निरन्तर उकालो लागिरहेको चन्द्रागिरी हिल्सको शेयर कर्नरिङ नरोकिँदै शेयर मूल्यमा गिरावट आएको छ ।

यस अघि बिक्रेताहरु नदेखिने अवस्थामा बिक्रीमा आउने सबै शेयर किन्नेहरु नै शेयर बिक्री गर्न थालेपछि सोमबार चन्द्रागिरीको शेयर सामान्य कारोबारको अवस्थामा आएको हो ।

साधारण शेयर निष्काशन पश्चात पहिलो पटक चन्द्रागिरीको शेयर मूल्यमा गिरावट आएको हो । दिनहुँ १० प्रतिशतको दरमा सर्किट लगाउँदै माथि लगिएको कम्पनीको शेयरमूल्य सोमबार  समाचार तयार पार्दासम्म भने १० प्रतिशतले नै ओरालो लागेको छ ।

चन्द्रागिरी हिल्सको शेयरमूल्य ३४ औं कारोबारको दिनमा सोमबार घटेको छ । कम्पनीको शेयरमूल्यमा सुरुवाति २ दिनबाहेक बाँकी विगत ३० दिनयता सकारात्मक सर्किट लेबलमा वृद्धि हुँदै आएको थियो ।

गत बिहीबार १० प्रतिशतले बढेर २०७९ रुपैयाँ पुगेको कम्पनीको प्रतिकित्ता शेयर मूल्य सोमबार १९४ ले घटेर १८९५ रुपैयाँमा ओर्लिएको हो । धेरै लगानीकर्तासँग छरिएर रहेको १० कित्ता शेयरको आडमा अझै पनि कम्पनीको शेयरमा कर्नरिङ् तीव्र हुने सम्भावनालाई भने नकार्न सकिन्न ।

सोमबार बजार खुलेको २० मिनेटको अवधिमा कम्पनीको ७२ हजार ७०० कित्ताभन्दा धेरै शेयर कारोबार भईसकेको छ । केही कारोबारहरु ८०० कित्तासम्मको दरमा भएका छन् भने अधिकांश कारोबार १० कित्ताको दरमा नै भएको छ । सर्वसाधारणसँग भएको १० कित्ता शेयरमा मिलाएर यस अघि शेयर किनेकाहरुले १० कित्ताको दरमा ठुलो संख्यामा शेयर बिक्रीमा ल्याएको हुनाले कारोबार सामान्य बन्ने मात्र नभई शेयर मूल्यमा गिरावट आएको हो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।