शेयर बजारको चमक फर्कँदा हालसम्मकै तेस्रो उच्च विन्दुमा नेप्से

0
Shares

शेयर बजारको चमक फर्कँदा शेयर बजार परिसूचक नेप्से हालसम्मकै तेस्रो उच्च विन्दुमा पुगेको छ । नेप्से सूचक हालसम्मकै उच्च विन्दुभन्दा २१.३३ विन्दु मात्र तल रहेको छ ।

शेयर कारोबार प्रणाली टिएमएसमा समस्या आँउदा एक घण्टा ढिलोसम्म कारोबार भएको बजारमा २०९ कम्पनीका १ करोड १२ लाख ८१ हजार कित्ता शेयर ६ अर्ब १६ करोड ६८ लाख रुपैयाँ बराबरमा किनबेच भएका छन् । बजार बढेपछि कारोबार पनि सुधार आएको छ ।

बुधबार नेप्से सूचक ४३.३६ विन्दुले बढेर २६१९.०२ अंकमा पुगेको हो । गत फागुन ९ गते नेप्से हालसम्मकै उच्च विन्दु २६४०.३५ विन्दुसम्म पुगेको थियो । त्यसपश्चात घटेको नेप्से २३९० विन्दुसम्म ओर्लिएर फर्किएको हो ।

तत्कालै बजारमा तरलता अभाव नहुनेभएपछि शेयर बजारको चमक फर्किएको हो । साथै स्टक डिलरले समेत औपचारिक कारोबार थालेपछि शेयर लगानीकर्ताको मनोबल उकासिएको छ । साथै चैत महिना सकिए लगत्तै सूचीकृत कम्पनीहरुले तेस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गर्ने भएकाले त्यसको आँकलन गरेर पनि कतिपय लगानीकर्ताले लगानी बढाएका छन् । दीर्घकालिन लगानी गर्नेले पनि ६ मिहनाभित्रै चालु आवको लाभांश पाउने भएकाले पनि यतिबेला शेयर कारोबारमा बढोत्तरी आएको छ ।

बुधबारको बजारमा व्यपार बाहेक सबै समूहका सूचक बढेका छन् । पाँच कम्पनीको शेयर मूल्य सर्किट लेभलमा बढेको छ । निर्जीवन बीमा र बैंकिङ्ग समूहमा लगानीकर्ताको बढी आकर्षण रहेको छ । सबैभन्दा धेरै एचाआइडिसिएलको ३६ करोड बढीको कारोबार हुँदा अपरको पनि ३१ करोड बढीको शेयर किनबेच भएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १८ चैत्र २०७७, बुधबार  १६ : २१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।