कोशीबाट सुरु भएको बर्डफ्लु उपत्यकासम्म फैलियो, १० जिल्लाका ५५ फार्म प्रभावित


काठमाडौँ । कोशी प्रदेशबाट सुरु भएको बर्डफ्लु विभिन्न जिल्ला हुँदै पछिल्लो समय काठमाडौँ उपत्यकामा फैलिएको छ । पशुसेवा विभागका अनुसार, गत चैतमा मोरङमा देखिएको बर्डफ्लु अहिले काठमाडौँ उपत्यकामा व्याप्त देखिएको हो ।

हालसम्म १० जिल्लाका ५५ वटा व्यावसायिक फार्ममा असर पारेको विभागले जनाएको छ । हाल सुनसरी, मोरङ, काठमाडौं, झापा, चितवन, ललितपुर, बारा, भक्तपुर, नवलपरासी पश्चिम र महोत्तरीमा बर्डफ्लु भेटिएको छ ।

विभागको तथ्यांक अनुसार, काठमाडौँ, भक्तपुर र ललितपुरका १३ वटा फार्म बर्डफ्लुबाट प्रभावित भएका छन् । उपत्यकाका कीर्तिपुर, चन्द्रागिरि, गोकर्णेश्वर, गोदावरी र सूर्यविनायक जस्ता क्षेत्रका व्यावसायिक लेयर्स फार्म र लोकल कुखुरामा समेत संक्रमण पुष्टि भएको विभागले जनाएको छ ।

गत बुधबार भक्तपुर चाँगुनारायण नगरपालिकाका १ र ९ वडाका केही घरमा पालिएका कुखुराहरुमा पनि बर्डफ्लु पुष्टि भएको हो । संक्रमण पुष्टि भएसँगै विभागले विभिन्न फार्मका कुखुरा, दानार अण्डा नष्ट गरेको थियो ।

जसमा काठमाडौँका ८ फार्ममा ३९ हजार ४८१ कुखुरा नष्ट गरिएको छ । त्यस्तै ६३ हजार ८५४ अण्डा र २१ हजार ५०० किलो दाना नष्ट गरिएको छ । त्यसैगरी, भक्तपुरका २ वटा फार्मका ४१७ कुखुरा नष्ट गरिएको छ । ललितपुरका ३ वटा फार्मका ९ हजार ७३० कुखुरा, ३ हजार १५० गोटा अण्डा र ३ हजार ७०० किलो दाना नष्ट गरिएको छ ।

विभागको पछिल्लो तथ्यांकअनुसार १० जिल्लाका ५५ वटा फार्ममा जम्मा ४ लाख ७९ हजार १५६ कुखुरा तथा हाँस नष्ट गरिएको छ । त्यस्तै ६ लाख ९४ हजार १९३ वटा अण्डा र १ लाख ८२ हजार ७७५ किलो दाना पनि नष्ट गरिएको छ ।

संक्रमण पुष्टि भएलगत्तै कुखुरा, अण्डा र दाना नष्ट गरिएको विभागका महानिर्देशक डा. उमेश दाहालले बताए । ‘बर्डफ्लु फैलिन नदिने उपाय भनेकै जैविक सुरक्षा अपनाउनु हो ।’ उनले भने, ‘कतिपय फार्ममा प्रयोग भइसकेको अण्डा राख्ने क्रेट पुनः प्रयोग गरिएको पनि पाइयो, त्यसकारण बर्डफ्लु व्याप्त रुपमा फैलिएको हो ।’

उनका अनुसार, करिब २ महिनादेखि फैलिएको संक्रमण अन्य जिल्लामा केही सुधार देखिए पनि उपत्यकामा बढ्दो संकमण देखिएको छ । पछिल्लो समय उपत्यकाका व्यावसायिक भन्दा पनि स्थानीय र साना व्यावसायिक कुखुरा पालिएका ठाउँमा संक्रमण बढ्दो रहेको उनले जानकारी दिए ।

हालसम्म संक्रमणबाट ६० करोड बढी प्रत्यक्ष आर्थिक क्षति भएको बताए । संक्रमण भएपछि उक्त फार्ममा तत्कालको लागि कुखुरा राख्न नमिल्ने हुँदा व्यावसायिक रूपमा रहेका फार्महरू अर्बौंको अप्रत्यक्ष क्षति भएको उनी बताउँछन् ।

किसानले ‘बर्डफ्लु नियन्त्रणका क्रममा नष्ट गरिएका वस्तुहरूको राहतसम्बन्धी मापदण्ड’ २०७९ अनुसार राहत पाउने व्यवस्था छ । प्रमुख जिल्ला अधिकारीको मातहतमा रहने दरभाउ निर्धारण समितिको सिफारिसका आधारमा लागत मूल्यको ७५ प्रतिशतसम्म किसानले राहत पाउने व्यवस्था छ । क्षतिपूर्ति बजार मूल्यअनुसार निर्धारण हुनेछ ।

बर्डफ्लु फैलनुका मुख्य कारण जंगली चराचुरुङ्गीको आवतजावत, जैविक सुरक्षा मापदण्डको पालना नगर्नु, अनियन्त्रित प्रवेश, प्रयोग गरिएका अण्डा क्रेटहरूको पुनः प्रयोग, मरेका पक्षीको व्यवस्थापन नगर्नु रहेको विज्ञहरु बताउँछन् ।

संक्रमणको जोखिम कायम रहेकाले नियमित निगरानी, परीक्षण, सरसफाइ तथा जैविक सुरक्षा उपायलाई कडाइका साथ कार्यान्वयन गर्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् । विभागले व्यवसायीहरुलाई फार्ममा बाह्य व्यक्तिको प्रवेश नियन्त्रण गर्न र पन्छीको असामान्य मृत्यु देखिए तत्काल सम्बन्धित निकायलाई जानकारी गराउन आग्रह गरेको छ ।

बर्डफ्लुको हालसम्म कुनै प्रभावकारी खोप वा उपचार नभएकाले संक्रमण देखिएका कुखुरा नष्ट गर्नु नै एकमात्र उपाय रहेको निर्देशक दाहालले जानकारी दिए ।

बर्डफ्लु कुखुरा, हाँसलगायतका पन्छीमा लाग्ने संक्रामक भाइरल घातक रोग हो । संक्रमित पन्छीसँग प्रत्यक्ष सम्पर्क, फोहोर वा संक्रमित सामग्रीमार्फत यो रोग फैलिन सक्ने र दुर्लभ अवस्थामा मानिसमा पनि संक्रमण हुन सक्ने पशु चिकित्सकहरू बताउँछन् ।

त्यस कारण मरेका पन्छीलाई जतिसक्दो चाँडो खाडलमा गाड्नुका साथै पन्छी फार्ममा काम गर्ने व्यक्तिमा कुनै स्वास्थ्य समस्या देखिए तुरुन्त स्वास्थ्य संस्थामा सम्पर्क गर्न पनि विभागले आग्रह गरेको छ ।

प्रकाशित मिति: २५ जेष्ठ २०८३, सोमबार  ०८ : २१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।