अब १० लाखसम्म बिना धितो कर्जा पाइने


काठमाडौँ । नेपाल राष्ट्र बैंकले डिजिटल माध्यमबाट प्रवाह हुने अधिकतम कर्जा सीमा १० लाखसम्म पु¥याइएको छ । बैंकले डिजिटल माध्यमबाट प्रवाह हुने कर्जा मार्गदर्शन संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो ।

यस्तो कर्जाका लागि धितो राख्नु पर्दैन । अब लघु, साना तथा मझौला व्यवसायीले दीर्घकालीन प्रकृतिको चालु पुँजी कर्जा १० लाखसम्म पाउने छन् ।

बैंक तथा वित्तीय संस्थामा तलब, पेशागत वा व्यवसायिक आम्दानी जम्मा हुने खाता भएका ग्राहकले अधिकतम ५ लाख रुपैयाँ र अन्य ग्राहकले २ लाख रुपैयाँसम्म डिजिटल कर्जा पाउने व्यवस्था थियो । तर संशोधित मार्गदर्शनले अब साना व्यवसायीलाई पनि डिजिटल कर्जाको दायरामा समेटेको छ ।

कर्जा भुक्तानी अवधि भने सम्बन्धित वित्तीय संस्थाले निर्धारण गर्न सक्ने छन् । अल्पकालीन प्रकृतिको चालु पुँजी कर्जाको सीमा ५ लाख तोकिएको छ । त्यसको अवधि एक वर्ष तोकिएको छ ।

यसअघि यस्तो व्यवस्था थिएन। मार्गदर्शनको उद्देश्यमा बुँदा नं. च थप्दै ‘लघु, साना तथा मझौला व्यवसायीलाई विद्युतीय माध्यमबाट कारोबारमा आधारित भई प्रवाह गरिने कर्जामा सहजीकरण गर्ने’ व्यवस्था गरिएको हो ।

त्यस्तै विद्युतीय कर्जा प्रदान गर्ने सिलसिलामा ग्राहकको विद्युतीय माध्यमबाट गरिएको कारोबारको विवरण, भुक्तानीसम्बन्धी विवरणलगायत व्यवसायसम्बन्धी अन्य विवरणबाट कर्जा विश्लेषण गर्ने कार्यका लागि बैंक तथा वित्तीय संस्थाहरूले प्रविधि प्रदायक संस्थाहरु (टीएसपी) सँग सहकार्य गर्न सक्ने पनि मार्गदर्शनमा व्यवस्था गरिएको छ । जोखिमको व्यवस्थापन भने बैंक तथा वित्तीय संस्थाले गर्नुपर्ने मार्गदर्शनमा उल्लेख छ ।

अहिले तलबी खाता हुनेहरूले ५ लाखसम्म र अन्य खाता हुने हरूको हकमा दुई लाखसम्म विद्युतीय कर्जा उपलब्ध गराउने सकिने व्यवस्था छ । त्यसलाई कायम राखिएको छ । यसको कर्जा भुक्तानी अवधि तीन वर्ष तोकिएको छ ।

प्रकाशित मिति: २६ जेष्ठ २०८३, मंगलबार  ०८ : १० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।