औद्योगिक क्षेत्रमा लिएको ऋण उत्पादन विस्तारभन्दा दैनिक सञ्चालन खर्चमा सीमित


काठमाडौँ । औद्योगिक उत्पादन क्षेत्रमा बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने कर्जा बढ्दै गए पनि उक्त ऋण उत्पादन विस्तारमा लगानी हुन सकेको छैन ।

बैंकबाट लिएको ऋण उद्योगको क्षमता वृद्धि वा प्रविधि आधुनिकीकरणमा प्रयोग हुन नसकेर दैनिक सञ्चालन खर्च धान्नमै सीमित भइरहेको उद्योगीहरू बताउँछन् ।

नेपाल राष्ट्र अनुसार चालु आर्थिक वर्षको पहिलो १० महिनामा औद्योगिक उत्पादन क्षेत्रमा प्रवाह हुने कर्जा ६.८ प्रतिशतले वृद्धि भएको छ । कर्जा प्रवाह बढे पनि आन्तरिक उत्पादनमा अपेक्षित सुधार नदेखिनु अर्थतन्त्रको संरचनागत कमजोरीको संकेतका रूपमा विश्लेषण गरिएको छ ।

उद्योगीहरूको भनाइमा अहिलेको अवस्थामा बैंकबाट लिएको ऋण उत्पादन विस्तारका लागि लगानी गर्ने अवस्था छैन । उद्योगहरू बजार माग कमजोर हुनु, उत्पादन लागत उच्च हुनु, कच्चा पदार्थको मूल्य वृद्धि हुनु तथा पुरानो ऋणको चापका कारण सञ्चालन निरन्तरतामै केन्द्रित हुन बाध्य छन् ।

उद्योगीहरूले ऋणलाई नयाँ मेसिन खरिद, उत्पादन क्षमता वृद्धि, प्रविधि सुधार वा बजार विस्तारमा प्रयोग गर्नुपर्ने भए पनि अहिले त्यो सम्भव नभएको बताएका छन् । उनीहरूका अनुसार ऋणको ठूलो हिस्सा कर्मचारीको तलब, विद्युत् महसुल, कच्चा पदार्थ खरिद, कर दायित्व तथा अन्य दैनिक सञ्चालन खर्च धान्न प्रयोग भइरहेको छ ।

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष सुरकृष्ण वैद्यका अनुसार उद्योगहरू अहिले उत्पादन विस्तार गर्ने अवस्थामा नभई केवल अस्तित्व जोगाएर सञ्चालन गर्नुपर्ने दबाबमा छन् । “अहिले उद्योगहरूले लिएको ऋणको मुख्य हिस्सा उत्पादन विस्तारमा होइन, दैनिक सञ्चालन खर्च धान्नमै प्रयोग भइरहेको छ,” उनले भने । बजारमा माग घट्नु र लगानीको वातावरण अनिश्चित हुनुका कारण उत्पादन विस्तारतर्फ जान नसकिएको उनको भनाइ छ ।

वैद्यका अनुसार सामान्य अवस्थामा बैंक ऋण उत्पादन क्षमता वृद्धि, नयाँ प्रविधि अपनाउने, मेसिनरी थप गर्ने र बजार विस्तारका लागि प्रयोग हुनुपर्ने हो । तर अहिले उद्योगहरू दैनिक खर्च व्यवस्थापनमै सीमित हुनुपरेको छ, जसले दीर्घकालीन उत्पादन क्षमता कमजोर बनाइरहेको छ । उनका अनुसार यस्तो अवस्थाले उद्योगहरूलाई दीर्घकालीन विकासभन्दा पनि अल्पकालीन अस्तित्व जोगाउने दिशामा धकेलेको छ ।

त्यस्तै, नेपाल जुट उद्योग संघका कोषाध्यक्ष तथा चन्द्र शिव जुट मिल्सका सञ्चालक सोहन राठीले धेरै उद्योग गम्भीर आर्थिक संकटमा रहेको बताए । उनका अनुसार देशभर सञ्चालनमा रहेका ११ वटा जुट उद्योगमध्ये ६ वटा पूर्ण रूपमा बन्द भइसकेका छन् भने बाँकी उद्योग पनि क्षमताभन्दा निकै कममा सञ्चालन भइरहेका छन् । “उत्पादन बढाउने अवस्था छैन, तर दैनिक खर्च भने निरन्तर भइरहन्छ,” राठीले भने । उनका अनुसार यस्तो अवस्थामा उद्योगहरूले बैंक ऋण लिएर दैनिक सञ्चालन खर्च धान्नुपर्ने बाध्यता छ ।

उद्योग बन्द गर्दा पुनः सञ्चालन गर्न कठिन हुने भएकाले घाटा भए पनि उद्योग जोगाएर राख्नुपर्ने बाध्यता रहेको उनले बताए । उनका अनुसार एक पटक उद्योग बन्द भएपछि अनुभवी मजदुर अन्य क्षेत्रमा जाने, नयाँ मजदुरलाई तालिम दिनुपर्ने र उत्पादन प्रक्रिया पुनः सुरु गर्न ठूलो लागत लाग्ने भएकाले उद्योगहरू बन्द गर्ने जोखिम लिन नसकिएको हो ।

उद्योगीहरूका अनुसार उत्पादन घट्नुको मुख्य कारण कमजोर आन्तरिक माग र लगानीको वातावरण नहुनु हो । देशभित्र उपभोग घट्दा र लगानी सुरक्षित नहुँदा उत्पादन विस्तार गर्न सकिने अवस्था नरहेको उनीहरूको भनाई छ । त्यस्तै उत्पादन लागत उच्च हुनु, कच्चा पदार्थको मूल्य वृद्धि हुनु र पुरानो ऋणको दबाबले पनि उद्योगहरूलाई थप कमजोर बनाइरहेको उद्योगीहरूको भनाई छ ।

धेरै उद्योगहरू पुरानो ऋण तिर्न नयाँ ऋण लिनुपर्ने अवस्थाबाट गुज्रिरहेको बताउँछन् । यसले उद्योगहरूलाई उत्पादन विस्तारभन्दा पनि ऋण व्यवस्थापनमै केन्द्रित बनाएको छ । उद्योगीहरूका अनुसार यसले ऋणको चक्र सिर्जना गरेको छ, जसले दीर्घकालीन स्थायित्वलाई चुनौती दिएको छ ।

यता, आन्तरिक उत्पादनले माग धान्न नसक्दा उपभोग्य वस्तु तथा कच्चा पदार्थ आयात गर्नुपर्ने अवस्था बढेको छ । यसले व्यापार घाटा लगातार बढाइरहेको छ र वैदेशिक व्यापारमा दबाब सिर्जना गरिरहेको छ ।

भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको १० महिनामा मुलुकको व्यापार घाटा करिब १५ प्रतिशतले बढेर १४ खर्ब ४३ अर्ब ६७ करोड रुपैयाँ पुगेको छ । आयातमा निर्भरता बढ्दै जाँदा अर्थतन्त्रको संरचना अझ असन्तुलित बन्दै गएको देखिन्छ ।

विश्लेषकहरूका अनुसार कर्जा प्रवाह बढ्नु सकारात्मक संकेत भए पनि त्यसको उपयोग उत्पादनमुखी नहुँदा आर्थिक वृद्धिमा अपेक्षित प्रभाव देखिएको छैन । अहिलेको मुख्य चुनौती केवल कर्जा उपलब्धता मात्र नभई उत्पादन बढाउन सक्ने वातावरण निर्माण हुन नसक्नु पनि रहेको विज्ञहरूले बताएका छन् ।

“सामान्यतया एउटा शीर्षकमा कर्जा लिएपछि त्यो कर्जा चुक्ता नगर्दासम्म बैंकले त्यहि शीर्षकमा कर्जा दिइदैन” अर्थविद् कृष्णहरि बास्कोटाले भने, “तर करोना पछि उद्योगहरू धराशायी भएको हुँदा सरकारले र केन्द्रिय बैंकले पुनर्कर्जाको व्यवस्था लागु गरेको छ ।” अहिले बैंकहरूले प्रतिकुल समय आएको भन्दै पुरानो ऋण चुक्ता नगरेर पनि नयाँ ऋण थप दिने व्यवस्था गरेको उनी बताउँछन् ।

बास्कोटाका अनुसार लगानीको सुनिश्चितता, स्थिर नीति, बजार माग विस्तार र उत्पादन लागत घटाउने उपाय बिना औद्योगिक क्षेत्र सुधार सम्भव हुँदैन । युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको कारणले पनि उद्योगहरूको उत्पादन क्षमता कमजोर भएको उनको अनुमान छ । बास्कोटा भन्छन्, “नेपालमा उत्पादन भएको वस्तु भन्दा बाहिरबाट पैठारी भएको वस्तु सस्तो हुँदा र नेपाली उत्पादन निकासी हुन नपाउँदा पनि आन्तरिक उत्पादन घटेको हो ।”

उत्पादन वृद्धि गर्न नसकेर यही अवस्था लामो समयसम्म कायम रहेमा उद्योगहरू अझ कमजोर हुँदै जाने, उत्पादन क्षमता घट्दै जाने र अर्थतन्त्र आयातमुखी हुने जोखिम रहने उद्योगी र विज्ञहरूले चेतावनी दिएका छन् । उनीहरूका अनुसार अबको आवश्यकता केवल कर्जा वृद्धि मात्र नभएर उत्पादन विस्तारका लागि अनुकूल वातावरण निर्माण, नीति स्थिरता र औद्योगिक क्षेत्रको संरचनागत सुधार हो ।

प्रकाशित मिति: २ असार २०८३, मंगलबार  ०६ : ४० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।