संरक्षित क्षेत्रमा घुम्न आउने पर्यटक ६० प्रतिशत


काठमाडौँ । कुल विदेशी पर्यटकमध्ये करिब ६० प्रतिशतले नेपालका संरक्षित क्षेत्रहरू घुम्ने गरेको सरकारी आँकडा बाहिरिएको छ । नेपाल घुम्न आउने पर्यटकको प्रमुख गन्तव्य राष्ट्रिय निकुञ्ज, आरक्ष र संरक्षण क्षेत्रहरू देखिएका छन् ।

आर्थिक वर्ष २०८१/८२ मा स्वदेशी र विदेशी गरी कुल १० लाख ९७ हजार ८३६ जना पर्यटकले संरक्षित क्षेत्रको भ्रमण गरेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ ।

विभागका महानिर्देशक डा बुद्धिसागर पौडेलले सार्क मुलुक र अन्य विदेशीको सङ्ख्या पाँच लाख ११ हजार ७६२ र नेपाली ५ लाख ८६ हजार ७४ पर्यटक रहेका छन् । पाहुना प्रवेशबाट उक्त आवमा १ अर्ब ५२ लाख १६ हजार राजस्व प्राप्त भएको थियो ।

आव २०८१/८२ को विवरणअनुसार शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जमा ३ लाख ४६ हजार ६४४, त्यसपछि अन्नपूर्ण संरक्षण क्षेत्रमा २ लाख ७८ हजार ११३, चितवन राष्ट्रिय निकुञ्जमा २ लाख ४९ हजार ९५६ पर्यटक प्रवेश गरेका थिए । सबैभन्दा कम अपिनाम्पा संरक्षण क्षेत्रमा २२९ जना पर्यटक प्रवेश गरेको तथ्याङ्कमा उल्लेख छ ।

नेपालमा चितवन, बर्दिया, लामटाङ, रारा, बाँके, सगरमाथा, शे–फोक्सुन्डो, शिवपुरी नागार्जुन, मकालु बरुण, खप्तड, शुक्लाफाँटा, पर्सा र छायाँनाथ गरी १३ राष्ट्रिय निकुञ्ज रहेका छन् ।

त्यस्तै कुष्णसार, अपिनाम्पा, कञ्चनजङ्घा, मनास्लु, गौरीशङ्कर र अन्नपूर्ण गरी छ संरक्षण क्षेत्र तथा ढोरपाटन सिकार आरक्ष एवं कोशीटप्पु वन्यजन्तु आरक्ष रहेका छन् । संरक्षण क्षेत्रहरूले मुलुकको कुल भूभागको २३.३९ प्रतिशत क्षेत्र ओगटेको छ ।

प्रकाशित मिति: १० असार २०८३, बुधबार  १४ : १० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।