नेप्सेमा एक खर्ब ४७ अर्बको सेयर सूचीकृत, साधारण सेयरबाट ४८ अर्ब बढी


काठमाडौँ । आर्थिक वर्षको ११ महिनामा नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एक खर्ब ४७ अर्ब १५ करोड रुपैयाँ बराबरको थप सेयर सूचीकृत भएका छन् । जसमध्ये सबैभन्दा बढी ४८ अर्ब २७ करोड रुपैयाँबराबरको साधारण सेयरबाट धितोपत्र सूचीकृत भएको छ ।

यस अवधिमा बोनस सेयरबाट मात्रै ४० अर्ब ४४ करोड बराबरको थप धितोपत्र सूचीकृत भएको छ । यसपछि क्रमशः ९ अर्ब ६४ करोड रुपैयाँ बराबरको हकप्रद सेयर, २७ अर्ब ५० करोडबराबरको म्युचुअल फन्ड, तीन अर्ब ४५ करोडबराबरको डिबेन्चर, ९७ करोड १७ लाखबराबरको एफपीओ र दुई करोड २३ लाख रुपैयाँबराबरको अन्य गरी थप धितोपत्र सूचीकृत भएका छन् ।

यस अवधिसम्ममा नेप्सेमा सूचीकृत ९ अर्ब ५१ करोड सेयरको चुक्ता मूल्य ९ खर्ब ३६ अर्ब ८५ करोड रुपैयाँ रहेको छ । नेप्सेमा सूचीकृत कम्पनीहरूको संख्या २९७ छ । २०८२ जेठमा सूचीकृत कम्पनीहरूको संख्या २७२ रहेको थियो । हाल सूचीकृत कम्पनीहरूमध्ये १३३ बैंक तथा वित्तीय संस्था र बिमा कम्पनी रहेका छन् । १०५ जलविद्युत् कम्पनी, २९ उत्पादन तथा प्रशोधन उद्योग, ९ होटेल, सात लगानी कम्पनी, चार व्यापारिक संस्था र १० अन्य समूहका छन् ।

सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ५०।९ प्रतिशत रहेको छ । त्यसैगरी, जलविद्युत् कम्पनीको हिस्सा १७.५ प्रतिशत, लगानी कम्पनीको हिस्सा ६.८ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ८.७ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ४.१ प्रतिशत, होटेलको हिस्सा ३.३ प्रतिशत तथा अन्य समूहका कम्पनीहरूको हिस्सा ८.६ प्रतिशत रहेको छ ।

प्रकाशित मिति: ३० असार २०८३, मंगलबार  १४ : ४३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।