कुमारी बैंकको खुद नाफा ३०५.९६ प्रतिशतले बढ्यो


काठमाडौँ । कुमारी बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकको विवरणअनुसार समीक्षा अवधिमा खुद नाफामा उल्लेख्य वृद्धि भएको छ ।

गत असार मसान्तसम्म बैंकले ७ अर्ब ३८ करोड ७१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३०५.९६ प्रतिशतले बढी हो ।

अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्म बैंकको खुद नाफा १ अर्ब ८१ करोड ९६ लाख रुपैयाँ रहेको थियो ।

बैंकको नाफामा आएको ठूलो सुधारको मुख्य कारण खुद ब्याज आम्दानीमा भएको वृद्धि तथा ऋण नोक्सानी व्यवस्थापनका लागि छुट्याइएको रकम फिर्ता हुनु रहेको देखिन्छ । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३.३७ प्रतिशतले बढेको छ । त्यस्तै, शुल्क तथा कमिसनबाट हुने खुद आम्दानी १४.५५ प्रतिशतले वृद्धि भएको छ ।

बैंकको कुल सञ्चालन आम्दानी पनि ७.६६ प्रतिशतले बढेर १६ अर्ब ३५ करोड ८४ लाख रुपैयाँ पुगेको छ । यस अवधिमा बैंकले १ अर्ब ४३ करोड ९९ लाख रुपैयाँ ऋण नोक्सानी व्यवस्थापनबापत छुट्याइएको रकम फिर्ता गर्न सफल भएको छ । अघिल्लो आर्थिक वर्षमा भने यस्तो व्यवस्थापनबापत ३ अर्ब ४५ करोड १४ लाख रुपैयाँ छुट्याइएको थियो ।

ऋण नोक्सानी व्यवस्थापनमा भएको सुधार र रकम फिर्ताका कारण बैंकको सञ्चालन मुनाफा १०१.०९ प्रतिशतले बढेर ११ अर्ब २३ करोड ५३ लाख रुपैयाँ पुगेको छ ।

नाफामा उल्लेख्य वृद्धि भएसँगै बैंकको प्रतिसेयर आम्दानी पनि बढेको छ । समीक्षा अवधिमा प्रतिसेयर आम्दानी २१ रुपैयाँ २३ पैसाले बढेर २८ रुपैयाँ १७ पैसा पुगेको छ । अघिल्लो आर्थिक वर्षमा यस्तो आम्दानी ६ रुपैयाँ ९४ पैसा रहेको थियो ।

गत असार मसान्तसम्म बैंकको वितरणयोग्य मुनाफा ७९ करोड १६ लाख रुपैयाँ रहेको छ । त्यस्तै, वितरणयोग्य प्रतिसेयर आम्दानी ३ रुपैयाँ २ पैसा कायम भएको छ । बैंकको प्रतिसेयर नेटवर्थ १७० रुपैयाँ ८० पैसा रहेको छ भने मूल्य–आम्दानी अनुपात ७.४५ गुणा रहेको छ ।

कुमारी बैंकको चुक्ता पुँजी २६ अर्ब २२ करोड ५८ लाख रुपैयाँ रहेको छ । बैंकको जगेडा तथा सञ्चित कोषमा १८ अर्ब ५६ करोड ८२ लाख रुपैयाँ रहेको छ, जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ७०.४९ प्रतिशतले वृद्धि भएको हो ।

बैंकले गत आर्थिक वर्षको अन्त्यसम्ममा ४ खर्ब २ अर्ब ७३ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ । सोही अवधिमा बैंकले २ खर्ब ७० अर्ब ९२ करोड रुपैयाँ कर्जा तथा सापटी लगानी गरेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा निक्षेप १०.४५ प्रतिशत र कर्जा लगानी ४.०७ प्रतिशतले बढेको छ ।

प्रकाशित मिति: २७ श्रावण २०८३, बुधबार  १३ : ३३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।