देश बनाउन सबैले सहकार्य गर्नु जरुरी छ : अर्थमन्त्री


तनहुँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले मुलुकको विकास र समृद्धिका लागि राजनीतिक आग्रहपूर्वाग्रह त्यागेर सबैपक्ष एकताबद्ध भएर अघि बढ्नुपर्ने बताएका छन् ।

जिल्ला समन्वय समिति तनहुँले आज दमौलीमा आयोजना गरेको वार्षिक प्रगति समीक्षा कार्यक्रममा उनले देशलाई नयाँ उचाइमा पुर्‍याउने स्पष्ट योजनासहित वर्तमान सरकार अघि बढिरहेको बताउँदै सबैले आपसी सहकार्य र समन्वय गर्नुपर्नेमा जोड दिए ।

अर्थमन्त्री वाग्लेले सरकार सुशासन र सुधारलाई प्राथमिकतामा राखेर सरकार अघि बढिरहेको बताए । उनले सरकारको पहिलो वर्षलाई सुधारको वर्ष, दोस्रोलाई सुशासनको वर्षका रूपमा लिइएको जनाउँदै तेस्रो र चौथो वर्षमा त्यसको नतिजा देखिने गरी योजनाबद्ध रूपमा काम भइरहेको उल्लेख गरे। “यो जनताले आशा गरेको सरकार हो । देश बनाउन सबै मिलेर अघि बढौँ । गलत सोच त्यागौँ, देशलाई उचाइमा सहकार्य र समन्वय गरौँ”, उनले भने।

मुलुकलाई समृद्ध बनाउने स्पष्ट योजना लिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारमा आएको उल्लेख गर्दै वाग्लेले जनताको अपेक्षा पूरा गर्न सरकार प्रतिबद्ध रहेको बताए ।  उनले भने,“सुशासनको जगमा टेकेर सबै मन्त्रालयमा दैनिक रूपमा सुधारका काम भइरहेका छन् । कतिपय ठाउँमा गलत भए तत्कालै सुधार गरेर अगाडि बढिरहेका छौँ ।”

अर्थमन्त्री डा वाग्लेले सुशासनबिना मुलुकको आर्थिक तथा सामाजिक विकास सम्भव नहुने भन्दै सरकारी संयन्त्रलाई प्रभावकारी र जवाफदेही बनाउन आवश्यक रहेको बताए। सरकारले सुशासन कायम गर्ने विषयमा कुनै सम्झौता नगर्ने उनको भनाइ छ ।

अर्थमन्त्री डा वाग्लेले पूर्वाधार निर्माणमा निजी क्षेत्रको सहभागिता आवश्यक रहेको बताउँदै ऊर्जामा त्यसको सफल उदाहरण देखिसकिएको उल्लेख गरे ।

अर्थमन्त्री डा वाग्लेले धान्न सक्नेगरी स्वास्थ्य बिमाको ढाँचा जाने गरी सरकारले काम अगाडि बढाएको उल्लेख गर्दै निम्न वर्गलाई लक्षित गरी विगतका सरकारले ल्याएका सकारात्मक कामलाई यस वर्ष यथावत राखिएको जानकारी दिए।

प्रकाशित मिति: २९ श्रावण २०८३, शुक्रबार  ०६ : १९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।