काठमाडौँ । दैनिक उपभोग्य वस्तुको निरन्तर मूल्यवृद्धिका कारण न्यून तथा मध्यम आय भएका नेपाली परिवारको भान्सा महँगो बनेको छ । ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्ने सर्वसाधारणलाई दाल, चामल, पिठो, चिनी, तेल र तरकारी लगायतका अत्यावश्यक वस्तु किन्नै सकस पर्न थालेको छ ।
नेपालीहरुको मुख्य चाडपर्व नजिकिदै गर्दा अत्यावश्यक वस्तुको मूल्य वृद्धि हुँदा आम उपभोक्ता मारमा परेका छन् । तर सम्बन्धित निकायको भने यो अवस्थाप्रति चासो देखिएको छैन । अहिले खाना पकाउने ग्यासको चरम अभाव छ । एक सिलिन्डर ग्यासका लागि हप्तौँ पालो कुर्नुपर्ने घण्टौँ लाइन बस्नुपर्ने अवस्था छ ।
आयातित खाद्यन्नसँगै स्वदेशी उत्पादनहरुमा पनि मूल्य बढ्दै गएको छ । पछिल्लो एक महिनामा चामलको मूल्य प्रतिकिलो १५ देखि २० रुपैयाँसम्मले बढेको छ । ब्रान्ड अनुसार कुनैको मूल्य भने बोरामै २०० सम्मले बढेको छ । तोरीको तेलको मूल्य बढेर प्रतिलिटर ४६० रुपैयाँ पुगेको छ ।
सूर्यमुखी तेल पनि १० रुपैयाँले बढेर २९५ रुपैयाँ पुगेको छ । चना दाल किलोमा १० रुपैयाँले बढेर प्रतिकिलो १७० रुपैयाँ पुगेको छ । घ्यूको मूल्य केजीमा नै १०० रुपैयाँले बढेर १ हजार ४०० रुपैयाँ पुगेको छ । चिनी पनि २० रुपैयाँले मूल्य बढेर ११५ रुपैयाँ पुगेको छ । योसँगै चाँडपर्व नजिकिदै गर्दा चिनीको माग दोब्बर बढ्छ । यसरी माग बढ्दा मूल्य अझै बढ्ने र कालोबजारीका कारण अभाव हुने संकेत देखिएको छ ।
यता, तेल उत्पादक उद्योगीहरुले भने आफूहरुले मूल्य नबढाएर अन्तर्राष्ट्रिय स्तरमै मूल्य वृद्धि भएको र कच्चा पदार्थ महङ्गो हुँदा नेपालमा पनि त्यसको प्रत्यक्ष प्रभाव परेको बताउँछन् ।
तेलको मूल्यमा वृद्धि भएको छ, तर त्यो उद्योगीहरुले नबढाएर कच्चा पदार्थको भाउ बढ्दा स्वभाविक रुपमा बढेको नेपाल घ्यू तेल उत्पादक संघका अध्यक्ष विकास दुगडले बताए ।
उनका अनुसार तेलको लागि चाहिले आवश्यक सम्पर्ण कच्चा पदार्थ आयात गर्नुपर्छ । अन्तर्राष्ट्रिय स्तरमै विभिन्न कारणहरुले मूल्य वृद्धि भइरहेको छ ।
‘मध्यपूर्व द्धन्द्धका कारणले गर्दा खाने तेलको विश्व बजारनै प्रभावित भएको छ ।’ उनले भने, ‘अन्तर्राष्ट्रिय स्तरमै खानेतेलको कच्चा पदार्थको मूल्य प्रतिदिन बढ्दै गएको छ ।’
योसँगै अन्डा र मासुको मूल्य पनि उच्च वृद्धि भएको छ । बर्डफ्लुका कारण केही घटेको कुखुराको मासुको मूल्य पनि अहिले बढेर ३५० देखि ४०० सम्म पुर्याएका छन् । बर्डफ्यूको डरले खसीको मासुको माग बढेपछि मूल्य त झनै आकाशिएको छ । एक महिनामा खसीको मासु किलोमा नै ३०० देखि ४०० रुपैयाँसम्मले बढेर १६÷१७ सयसम्म पुगेको छ ।
इन्धनको मूल्यवृद्धि, ढुवानी खर्च र उत्पादन लागतले मूल्य वृद्धि भएको व्यापारी तथा उद्योगीहरु बताउँछन् । खाद्यान्नमा लगाइएको कर र कालोबजारी नियन्त्रण गर्ने कानुन कमजोर हुँदा व्यापारीले मनपरी मूल्य तोक्ने अवस्था बनेको उपभोक्ता अधिकारकर्मीहरूको आरोप छ ।
पछिल्लो समय इन्धनको मूल्य बढेकाले खाद्यान्नको भाउ बढेको वाणिज्य आपूर्ती तथा उपभोक्ता संरक्षण विभागका निर्देशक अनिल किरातीले बताएका छन् । बजारको अनुगमन गरि वस्तुको मनपरी मूल्य कायम गरिएको खण्डमा भने कारवाहीको प्रक्रिया निरन्तर चलिरहेको उनको दाबी छ । विभागले यस्तो दाबी गरिरहँदा बजारमा खाद्य वस्तुको मूल्य घट्नुको सट्टा दैनिक बढीरहेको छ ।
तरकारीको भाउ पनि उस्तै छोइनसक्नु
पछिल्लो समय स्थानीय बजारमा तरकारी अन्तर्गत गोलभेँडा, आलु, प्याज, काउली, बन्दा लगायतको मूल्य चर्काे छ । तरकारीको मूल्य अत्याधिक महँगो हुँदा सर्वसाधारणलाई भान्सा चलाउन समेत मुस्किल परेको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार अहिले स्वदेशमा उत्पादित तरकारी नै सबैभन्दा बढी महँगो बनेको छ । समितिका अनुसार एक महिना अघि प्रतिकेजी ४४ रुपैयाँमा पाइने नेपाली ठूलो गोलभेडा ९२ प्रतिशतले बढेर प्रतिकेजी ८५ रुपैयाँ पुगेको छ ।
यस्तै, लोकल गोलभेडा एक महिनामा नै ११२ प्रतिशतले बढेर २० रुपैयाँबाट ४३ रुपैयाँ पुगेको छ । एक महिना अघि प्रतिकेजी ४५ रुपैयाँमा पाइने रातो आलु अहिले १२ प्रतिशतले बढेर ५१ रुपैयाँ पुगेको छ । प्याजको मूल्य केजीमा ३७ प्रतिशतले बढेको छ । एक महिना अघि प्रतिकेजी ५५ रुपैयाँमा पाइने प्याज अहिले ७६ रुपैयाँ पुगेको हो ।
अहिले सिजनको तरकारीहरु फर्सी, भिँडी लगायतको मूल्य घट्नुपर्नेमा झनै बढेको छ । एक महिना अघि प्रतिकेजी ४५ रुपैयाँमा पाइने हरियो फर्सी अहिले ५५ रुपैयाँ पुगेको छ । ४५ रुपैयाँमा पाइने भिँडीको मूल्य अहिले ५५ रुपैयाँ पुगेको छ ।
एक महिनाको अन्तरालमा हरियो धनियाँ केजीमा १७५ रुपैयाँले बढेर ३५० रुपैयाँ पुगेको छ । ६४ रुपैयाँमा पाइने काउली ९८ रुपैयाँ पुगेको छ भने बन्दा २५ रुपैयाँबाट ४४ रुपैयाँ पुगेको छ ।





प्रतिक्रिया