सोयाबिन तेल व्यापार : निर्यात बढेपनि आयातित कच्चा पदार्थमा परनिर्भरता


काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना (साउन) मा मुलुकको निर्यात व्यापार करिब ६२ प्रतिशतले बढेको छ ।

गत आर्थिक वर्ष २०८२/८३ को साउनमा २३ अर्ब ९३ करोड २४ लाख रुपैयाँको वस्तु तथा सामान निर्यात भएकोमा यस वर्ष ६१.७२ प्रतिशतले बढेर ३८ अर्ब ७० करोड ४१ लाख रुपैयाँ बराबरको वस्तु निर्यात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख गरिएको छ ।

मुलुकको निर्यात व्यापार उल्लेख्य रुपमा बढ्दा सबैभन्दा बढी निर्यात हुने वस्तुमा सोयाविन तेल रहेको छ । कुल निर्यातको करिब आधा हिस्सा सोयाबिन तेलको रहेको छ । नेपालको निर्यात व्यापारमा उल्लेख्य हिस्सा रहेको सोयाबिन तेलको व्यापार पूर्णतः आयातमा पनि उल्लेख्य देखिएको छ । यसले नेपालभित्र उद्यम नभई व्यापारमा मात्रै व्यवसायी केन्द्रीत भएको तथ्य देखिने विश्लेषकहरू बताउँछन् ।

साउन महिनामा मुलुकले १८ अर्ब ४० करोड ४२ लाख रुपैयाँको १० करोड ८५ लाख किलोग्राम सोयाबिन तेलको कच्चा पदार्थ आयात गरी १७ अर्ब ९९ करोड ३४ लाख रुपैयाँको ७ करोड ४० लाख किलोग्राम मात्रै सोयाबिन तेल निर्यात छ । सो तथ्यांक मूल्यांकन गर्दा मुलुकले सोयाबिन तेलमा मात्र ४१ करोड ८ लाख रुपैयाँ व्यापार घाटा व्यहोरेको छ ।

सामान्यतया नेपालमा भटमास परम्परादेखि चलिआएको खेती हो । तर प्रशस्त मात्रामा उत्पादन छैन । नेपालमा प्रशस्त मात्रामा उत्पादन नहुने भटमासको तेल कच्चा पदार्थका रुपमा बाहिरी मुलुकबाट आयात गरेर भारततर्फ निर्यात गरिँदै आएको तथ्यांकले देखाउँछ ।

विगतमा नेपालबाट पाम तेलको निर्यात उच्च हुने गरेको थियो । तर, वि.सं. २०७७ मा भारतले पाम तेल आयातमा कडाइ गरेपछि नेपालको निर्यात व्यापार खस्किएको थियो । त्यसयता व्यवसायीहरुले सोयाबिनको तेलको निर्यात बढाएका हुन् ।

सोयाबिन तेलमा पनि भारतले नीति परिवर्तन गरेको अवस्थामा नेपालको निर्यात व्यापार ठप्प हुने निश्चित छ, जसकारण आयातित सोयाबिन तेलले निर्यातको आँकडा बढाए पनि यसमा खुसी हुने अवस्था नरहेको अर्थविद् चन्द्रमणी अधिकारी बताउँछन् ।

‘सोयाबिन तेलमा पनि भारतले कुनै नयाँ नीति ल्यायो वा कडाई गर्याे भने निर्यात ठप्प हुन्छ ।’ उनले भने, ‘भारतमा उच्च ट्यारिफ रहेका कारण तेल नेपालमा छाप लगाएर भारतमा तेल गइरहेको हो, भारतमा ट्यारिफ घट्ने वित्तीकै हिजोको पाम तेल जस्तै हालत सोयाबिन तेलमा पनि नहोला भन्न सकिदैन ।’

उनका अनुसार, नेपालमै भटमास उत्पादन गरेर तेल निर्यात नगरेको हुनाले तेलको निर्यातले स्वदेशी अर्थतन्त्रमा योगदान पु¥याएको छैन । नेपालमै उत्पादन हुने वस्तुहरूको निर्यात घटिरहेकोले यसबारे ध्यान दिनुपर्ने उनको सुझाव छ ।

आयातित वस्तुबाट सरकारले राजस्व मात्र प्राप्त गर्ने देखिएको छ । आयातित वस्तु पुनः निर्यात गर्दा सरकारले मुख्यतया कर्मचारीको तलबमा काटिने टीडीएस र कम्पनीको नाफामा लाग्ने आयकरबाट मात्र राजस्व प्राप्त गर्छ ।

आयातति वस्तुले निर्यात बढाउनुभन्दा नेपालमा उत्पादन हुने अलैँची, चियाँ, कफी, छुर्पीलगायत नेपाली उत्पादनलाई प्रोत्साहन गर्नुपर्ने र नेपालमा नै भटमास खेतीलाई प्रोत्साहन गर्न सके मात्र नेपालको निर्यात व्यापारले अर्थतन्त्र सुधार हुने विज्ञहरु बताउँछन् ।

कुन–कुन देशबाट आयात हुन्छ ?

चालु आर्थिक वर्षको पहिलो महिनामा अर्जेन्टिना, ब्राजिल, चीन र पाराग्वेबाट कच्चा सोयाबिन तेल आयात भएको छ । यसमध्ये सबैभन्दा धेरै अर्जेन्टिनाबाट १० अर्ब ६६ करोड ८ लाख रुपैयाँको ६ करोड ६६ लाख ४५ हजार केजी आयात भएको छ ।

यस्तै दोस्रोमा, ६ अर्ब १ करोड १० लाख रुपैयाँको ३ करोड १६ लाख २३ हजार केजी चीनबाट आयात भएको छ । तेस्रोमा ब्राजिलबाट १ अर्ब ५५ करोड ९२ लाख रुपैयाँको ९१ लाख ८७ हजार केजी आयात भएको छ भने पाराग्वेबाट १७ करोड ३१ लाख रुपैेयाँको १० लाख ७२ हजार केजी आयात भएको छ ।

यी विभिन्न मुलुकबाट कच्चा तेल आयात गरेर निर्यात भने भारततर्फ मात्र हुने गर्छ । तेल भारत निर्यात गर्दा भन्सार छुट सुविधा हुन्छ । नेपाल–भारत वाणिज्य सन्धिअनुसार नेपालमा ३० प्रतिशत मूल्य अभिवृद्धिसहित उत्पादन गरिएको वस्तुले भारतीय बजारमा भन्साररहित प्रवेश पाउँछ । अन्य मुलुकबाट भित्रिने तेलको भन्सार दर भने भारतले गत भदौमा बढाएको छ । त्यही कारण तेल उद्योगीले निर्यातलाई प्राथमिकता दिएका छन् ।

भारतमा निर्यात गर्दा उद्योगीले अग्रिम भुक्तानी पनि पाउने गरेको नेपाल वनस्पति घिउतेल उद्योग संघका अध्यक्ष विकास दुगरले बताए । ‘भारत र नेपालबीच भन्सार दर फरक छ । निर्यात गर्दा उद्योगीले केही सहुलियत पाएका छन्,’ उनले भने, ‘भारतमा निर्यात गर्दा अग्रिम भुक्तानी हुन्छ । तर नेपालमा बिक्री गर्दा महिनौँ दिनसम्म उधारो हुन्छ । त्यही कारणले पनि निर्यातमै जोड हुन्छ ।’

उनका अनुसार, नेपालमा प्रशस्त मात्रामा भटमास उत्पादन हुँदैन, तर सामान्य रूपमा खेती हुने गरेको सरकारी तथ्याङ्कले देखाउँछ । वार्षिक करिब २०÷३० हजार मेट्रिक टन उत्पादन हुने गरेको उनको भनाई छ ।

आयात–निर्यातको ५ वर्षे तथ्यांक

भन्सार विभागका अनुसार गत आर्थिक वर्ष २०८२/८३ मा १ खर्ब ३२ अर्ब ७६ करोड ९५ लाख रुपैयाँको ८० करोड १२ लाख किलोग्राम कच्चा सोयाबिन आयात गरी १ खर्ब २८ अर्ब ७४ करोड ४० लाख रुपैयाँको ५९ करोड ३८ लाख किलोग्राम सोयाबिन तेल निर्यात भएको थियो । त्यसैगरी, अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा १ खर्ब ८ अर्ब ९५ करोड ३३ लाख रुपैयाँको ७१ करोड ८१ लाख किलोग्रा कच्चा पदार्थ आयात हुँदा १ खर्ब ६ अर्ब ७९ करोड १२ लाख रुपैयाँको ५० करोड ९९ लाख किलोग्राम प्रशोधित तेल निर्यात भएको थियो ।

आर्थिक वर्ष २०८०/८१ मा भने आयात निर्यात दुवै कम थियो । उक्त वर्ष १३ अर्ब ४१ करोडको आयात र ९० करोड रुपैयाँको निर्यात भएको थियो भने आर्थिक वर्ष २०७९/८० मा ३५ अर्ब ५८ करोड ३७ लाख रुपैयाँको आयात र ८ अर्ब ४७ करोड ५९ लाख रुपैयाँको निर्यात भएको थियो ।

आर्थिक वर्ष २०७८/७९ मा ५६ अर्ब १८ करोड ३६ लाख रुपैयाँको आयात र ४८ अर्ब १२ करोड ४ लाख रुपैयाँको निर्यात भएको विभागको तथ्यांकमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति: ८ भाद्र २०८३, सोमबार  १० : ५९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।