भोटेकोशी बाढीः सेनाद्वारा २५ जनाको उद्धार, १४ हेलिकप्टर प्रभावित क्षेत्रमा परिचालन


काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित २५ जनाको नेपाली सेनाले उद्धार गरेको छ । प्रभावित क्षेत्रमा खटिइएको सेनाको टोलीले रसुवाको टिमुरे र स्याफ्रु तथा नुवाकोटको त्रिशूली क्षेत्रबाट उनीहरुको उद्धार गरेको सैनिक प्रवक्ता राजाराम बस्नेतले जानकारी दिए ।

बाढी प्रभावितको उद्धार र प्रतिकार्यका लागि सेनाको छ र निजी क्षेत्रका आठ गरी १४ हेलिकप्टर प्रभावित क्षेत्रमा परिचालन गरिएको छ । ती हेलिकप्टरले आवश्यकताअनुसार घाइते तथा प्रभावितको उद्धार तथा राहतमा सहयोग पु¥याउने छन् ।

सेनाले घाइतेको उपचारका लागि दुई जना सर्जनसहित २० जनाको विशेषज्ञ चिकित्सकको टोली त्रिशूलीस्थित मैथली ब्यारेकमा तैनाथ गरेको छ । त्रिशूली अस्पतालसँगको सडक सम्पर्क टुटेपछि सेनाले ब्यारेकमा स्वास्थ्य सेवा दिन उक्त टोली खटाएको हो ।

प्रकाशित मिति: १० भाद्र २०८३, बुधबार  १४ : ३२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।