काठमाडौँ । साताभरको उत्तरचढावसँगै यो साता सुनको मूल्यमा गिरावट आएको छ । अन्तर्राष्ट्रिय बजारमा देखिएको उतारचढाबको प्रभाव स्वदेशी बजारमा समेत परेसँगै यो साता सुनको मूल्य घटेको हो ।
साताको पहिलो कारोबार दिन आइतबारको तुलनामा शुक्रबारसम्ममा सुन तोलामा १ हजार रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको भाउ तोलामा २ हजार ८०० रुपैयाँले बढेर प्रतितोला ३ लाख १९ हजार ५०० रुपैयाँमा पुगेको थियो ।
सोमबार पनि सुनको मूल्यमा वृद्धि भएको थियो । सोमबार सुन तोलामा ३ हजार २०० रुपैयाँले बढेसँगै प्रतितोला ३ लाख २२ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
मंगलबार भने सुनको मूल्यमा गिरावट आएको थियो । मंगलबार सुन तोलामा ५०० रुपैयाँले घटेर प्रतितोला ३ लाख २२ हजार २०० रुपैयाँमा किनबेच भएको थियो । त्यसैगरी, बुधबार पनि सुन तोलामा १०० रुपैयाँले घटेर प्रतितोला ३ लाख २२ हजार १०० रुपैयाँमा कारोबार भएको थिए ।
त्यसैगरी, बिहीबार पनि सुन तोलामा १ हजार २०० रुपैयाँले घटेर प्रतितोला ३ लाख २० हजार ९०० रुपैयाँमा किनबेच भएको थियो ।
साताको अन्तिम कारोबार दिन शुक्रबार पनि सुनमा गिरावट आएको थियो । शुक्रबार सुन तोलामा २ हजार ४०० रुपैयाँले घटेर प्रतितोला ३ लाख १८ हजार ५०० रुपैयाँ कायम भई यो साताको लागि कारोबार बन्द भएको हो ।
यो साता चाँदीको मूल्यमा उत्तरचढाव कायमसँगै सामान्य गिरावट आएको छ । साताको पहिलो कारोबार दिन आइतबारको तुलनामा शुक्रबार सम्ममा चाँदी तोलामा १० रुपैयाँले घटेको हो ।
महासंघका अनुसार आइतबार चाँदी तोलामा ६० रुपैयाँले बढेर प्रतितोला ४ हजार ४१० रुपैयाँमा कारोबार भएको थियो ।
सोमबार चाँदी तोलामा ३५ रुपैयाँले बढेर प्रतितोला ४ हजार ४४५ रुपैयाँमा कारोबार भएको थियो भने मंगलबार एकैदिन चाँदी तोलामा १३५ रुपैयाँले घटेर प्रतितोला ४ हजार ३१० रुपैयाँमा कारोबार भएको थियो । बुधबार भने चाँदी तोलामा १० रुपैयाँले बढेर प्रतितोला ४ हजार ३२० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार तोलामा १० रुपैयाँले घटेर प्रतितोला ४ हजार ३१० रुपैयाँमा कारोबार भएको थियो ।
साताको अन्तिम कारोबार दिन शुक्रबार भने चाँदीको मूल्य स्थिर रहेको थियो । बिहीबार कायम भएको चाँदीको मूल्यलाई शुक्रबार पनि निरन्तरता दिइएको हो ।





प्रतिक्रिया