काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनस्स्थापनामा सहयोग पुर्याउन प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।
साथै, बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै नाइमाले ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली, शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।
यस विपदको घडीमा आफ्ना सदस्य संस्थाहरुले गरेको सहयोगको पनि नाइमाले प्रशंसा गरेको छ । विपद्को सुरुवातदेखि नै नाइमाका सदस्य कम्पनीहरूले आर्थिक, यातायात तथा लजिस्टिक सहयोगलगायत विभिन्न माध्यमबाट उद्धार तथा राहत कार्यमा योगदान पुर्याउँदै आएका छन्।
“यस्तो कठिन समयमा सरकार र प्रभावित नागरिकलाई सहयोग गर्नु निजी क्षेत्रको पनि साझा दायित्व हो । यस विपद्मा सहयोग र सहकार्यका लागि तत्परता देखाउनु भएका हाम्रा सम्पूर्ण सदस्य कम्पनीहरूप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु । सरकार, निजी क्षेत्र र समुदायबीचको सहकार्यले नै राहत तथा पुनस्स्थापनालाई प्रभावकारी बनाउन सक्छ,” नाइमाकी अध्यक्ष ऋतुसिंह वैद्यले भनिन् ।
खोज, उद्धार तथा राहत कार्यमा खटिरहेका सरकारी तथा सुरक्षा निकाय, स्वास्थ्यकर्मी, उद्धारकर्मी, स्वयंसेवक, स्थानीय समुदाय तथा संघ–संस्थाप्रति उच्च सम्मान व्यक्त गर्दै नाइमाले अटोमोबाइल तथा मोबिलिटी क्षेत्रका सम्पूर्ण सरोकारवालालाई आफ्नो क्षमता र उपलब्ध स्रोतअनुसार प्रभावित नागरिकको सहयोगमा हातेमालो गर्न आग्रह गरेको छ ।





प्रतिक्रिया