काठमाडौँ । सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित पाँच जिल्लाका १५ स्थानीय तहका लागि १३ करोड ५० लाख रुपैयाँ निकासा गरेको छ । सरकारले दुई चरणमा गरी ती पालिकामा उक्त रकम निकासा गरेको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार भोटेकोशी हुँदै त्रिशूली नदीमा बाढी गएलगत्तै रसुवा र नुवाकोटका लागि एक÷एक करोड रुपैयाँ र धादिङका लागि ५० लाख रुपैयाँ दिने निर्णय सरकारले गरेको थियो । त्यसपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत यही भदौ १२ गते छ करोड ५० लाख रुपैयाँ र १६ गते छ करोड ५० लाख रुपैयाँ गरी १३ करोड ५० लाख रुपैयाँ निकासा गरेको हो ।
प्राधिकरणका अनुसार रसुवाको उत्तरगया गाउँपालिकाका लागि एक करोड ५० लाख रुपैयाँ, गोसाइँकुण्ड गाउँपालिकाका लागि दुई करोड रुपैयाँ, कालिका गाउँपालिकाका लागि ६० लाख रुपैयाँ र आमा छोदिङ्मो गाउँपालिकाका लागि ४० लाख रुपैयाँ निकासा गरिसकेको छ ।
त्यसैगरी, नुवाकोटको विदुर नगरपालिकाका लागि तीन करोड रुपैयाँ, बेलकोटगढी नगरपालिकाका लागि एक करोड ५० लाख रुपैयाँ, किस्पाङ गाउँपालिकाका लागि ५० लाख रुपैयाँ र तारकेश्वर गाउँपालिकाका लागि एक करोड रुपैयाँ निकासा गरिएको छ ।
त्यस्तै, धादिङका गल्छी गाउँपालिकाका लागि ६० लाख रुपैयाँ, सिद्धलेक गाउँपालिकाका लागि ४० लाख रुपैयाँ, गजुरी गाउँपालिकाका लागि ४० लाख रुपैयाँ र बेनिघाट रोराङ गाउँपालिकाका लागि ४० लाख रुपैयाँ निकासा गरिएको प्राधिकरणले जनाएको छ ।
साथै गोरखाको गण्डकी गाउँपालिकाका लागि ४० लाख रुपैयाँ तथा तनहुँको देवघाट गाउँपालिकाका लागि ४० लाख रुपैयाँ र आँबुखैरनी गाउँपालिकाका लागि ४० लाख रुपैयाँ निकासा भइसकेको पनि प्राधिकरणले जनाएको छ ।
यसैबीच, प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा हालसम्म सात अर्ब ८८ लाख ५७ हजार २१७ रुपैयाँ जम्मा भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई भदौ १६ गते एक करोड रुपैयाँ निकासा दिएपछि अब सो कोषमा छ अर्ब ८८ लाख ५७ हजार २१७ रुपैयाँ मौज्दात रहेको छ । साथै प्रधानमन्त्री राहत कोषमा थप ६१ लाख ४१ हजार ७०२ अमेरिकी डलर जम्मा भएको छ ।





प्रतिक्रिया