भोटेकोशी बाढीः ११ हजार ९९३ जनाको उद्धार


काठमाडौँ । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि बुधबार साँझसम्म ११ हजार ९९३ जनाको उद्धार गरिएको छ । यस्तै, चार हजार २१६ जना अझै सम्पर्कविहीन छन् ।

बाढीपछि राहत तथा उद्धार कार्यसँगै सम्पर्कविहीनको खोजीलाई प्राथमिकताका साथ अघि बढाइएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका गरी २१ हजार ३१४ सुरक्षाकर्मी परिचालन गरिएको छ ।

प्राधिकरणका अनुसार नेपाल प्रहरीका सात हजार ९१२, नेपाली सेनाका नौ हजार १९९ र सशस्त्र प्रहरी बल नेपालका चार हजार २०३ सुरक्षाकर्मी खोज तथा उद्धारमा खटिएका छन् ।

सुरक्षाकर्मीले नदी किनार, बाढी प्रभावित बस्ती, सडक तथा पहिरो प्रभावित क्षेत्रमा खोजी गरिरहेका छन् । बाढीका कारण कतिपय स्थानमा सडक तथा भौतिक संरचना क्षतिग्रस्त भएकाले उद्धार तथा खोजी चुनौतीपूर्ण रहेको प्राधिकरणले जनाएको छ । बाढीमा परी हालसम्म मृत्यु हुनेको सङ्ख्या एक हजार २०४ पुगेको छ ।

प्रभावित जिल्लामा खोज तथा उद्धार कार्यलाई तीव्रता दिइएको छ । प्राधिकरणका अनुसार बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, तनहुँ, चितवनलगायत जिल्ला प्रभावित भएका छन् ।

हालसम्म रसुवामा ११५, नुवाकोटमा १५५, धादिङमा ६०, गोरखामा ६९, नवलपरासी पूर्वमा २१७, नवलपरासी पश्चिममा २०२, तनहुँमा ३८ र चितवनमा ३४८ जनाको शव फेला परेको प्राधिकरणका प्रवक्ता महतले जानकारी दिए ।

विपद्को समयमा नेपाली सेनाले हवाई उद्धारलाई उच्च प्राथमिकताका साथ सञ्चालन गरिरहेको छ । सेनाले हालसम्म चार हजार ९१ नेपाली र २७३ विदेशी नागरिकको हवाई उद्धार गरेको छ ।

प्रकाशित मिति: १८ भाद्र २०८३, बिहिबार  ०५ : ५९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।