भारतलाई तेल आपूर्ति जारी राख्छौँ : रुसी राजदूत


भारतको ऊर्जा आवश्यकता पूरा गर्न रुस प्रतिबद्ध रहेको भारतका लागि रुसी राजदूत डेनिस अलिपोभले बताएका छन् । उनले रुसी तेल खरिदमा लगाइएका पश्चिमी माध्यमिक प्रतिबन्ध र शुल्कलाई भारतमाथि दबाब सिर्जना गर्ने रणनीति भन्दै आलोचना गरे ।

एएनआईसँग कुरा गर्दै उनले भारतले आफ्नो राष्ट्रिय हितअनुसार ऊर्जा खरिदसम्बन्धी निर्णय गर्न सक्ने बताए । “हामी भारतलाई आवश्यक पर्ने जति तेल आपूर्ति गर्न तयार हुनेछौँ । प्रतिबन्ध र शुल्क लगाउनेहरूले इमानदार सहकार्यको सट्टा दबाबको रणनीति अपनाएका छन्”, उनले भने ।

माध्यमिक प्रतिबन्धले रुसी तेलसँग कारोबार गर्ने तेस्रो मुलुकका रिफाइनरी, ढुवानी कम्पनी तथा बैंकलाई समेत प्रभावित पार्न सक्ने उनको भनाइ थियो । यस्ता उपायले भारतलाई प्रतिस्पर्धी मूल्यमा रुसी तेल खरिद गर्नबाट रोक्न खोजिएको उनले आरोप लगाए ।

रुसी तेललाई विश्व बजारबाट अलग गर्ने प्रयास सम्भव नभएको दाबी गर्दै अलिपोभले ऊर्जा बजारले रुसी कच्चा तेलको बहिष्कार धान्न नसक्ने बताए । उनका अनुसार रुसी तेल भारतलगायत अन्य मुलुकका लागि बजारमा उपलब्ध भइरहनेछ ।

राजदूतको भनाइ अमेरिका र युरोपेली सङ्घ (इयु) लगायत पश्चिमी मुलुकले रुसी ऊर्जा कारोबारमा माध्यमिक प्रतिबन्ध विस्तार गरिरहेका बेला आएको हो । भारतले भने राष्ट्रिय हित, बजारको अवस्था र उपभोक्ता मूल्य स्थिरतालाई आधार बनाएर कच्चा तेल खरिद नीति तय गर्दै आएको छ ।

प्रकाशित मिति: १९ भाद्र २०८३, शुक्रबार  १३ : ०७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।