धादिङको फुर्के खोला र मलेखुको बीचमा पर्ने परेवा भीरमा साँझसम्म यातायात सञ्चालन गरिने


काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको फुर्के खोला र मलेखुको बीचमा पर्ने परेवा भीरमा अवरुद्ध सडक पुनः सञ्चालनका लागि मर्मत कार्यलाई तीव्रता दिइएको छ ।

गत भदौ १० गते र त्यसपछिको त्रिशूली नदीको बाढीका कारण सडकको एक हिस्सा भासिएपछि उक्त खण्डमा यातायात सेवा प्रभावित हुँदै आएको थियो ।

सडक विभागका अनुसार, हाल प्राविधिक टोलीले उक्त स्थानमा सडकको ग्रेड मिलाउने तथा सतह सम्याउने कार्य गरिरहेको छ । नदीको कटान र सडक भासिएका कारण जोखिमपूर्ण बनेको यस खण्डलाई सुरक्षित रूपमा सञ्चालनमा ल्याउन आवश्यक पूर्वाधार निर्माण र मर्मतलाई प्राथमिकतामा राखिएको छ ।

मौसम अनुकूल रहेमा आइतबार साँझसम्म सडक पूर्ण रूपमा सञ्चालनमा ल्याउने विभागको तयारी छ । मुलुकको ‘लाइफलाइन’ मानिने पृथ्वी राजमार्गको यो खण्ड अवरुद्ध हुँदा यात्रुहरूले निकै सास्ती खेप्नु परिरहेको छ ।

सडक मर्मत सम्पन्न भई यातायात पुनः सुरु भएमा यस क्षेत्रको सवारी चाप कम हुने र आवागमन सहज हुने विश्वास लिइएको छ । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: २१ भाद्र २०८३, आइतबार  १० : २७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।