बाढीमा परी चेक, कागजात, मोबाइल हरायो ? यसरी निकाल्न सकिन्छ पैसा


काठमाडौँ । १० भदौमा आएको विनासकारी बाढीपछि कागजात हराएका ग्राहकले बैंकमा सम्पर्क गरेर नगद निकाल्न पाउने भएका छन् ।

बाढी प्रभावित ग्राहकको अवस्थालाई मध्यनजर गर्दै राष्ट्र बैंकले यस्तो सुविधा ल्याएको हो । बैंकसँग ग्राहकको केवाईसी विवरण सुरक्षित हुने भएकाले ती विवरणका आधारमा ग्राहकको पहिचान गर्न सकिने र सोही अनुसार नगददिइने सुविधा उपलष्ध गराएको एनएमबि बैंकका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत सुदेश उपाध्यायले बताए ।

‘सामान्य अवस्थामा चेक वा कार्ड नभए पनि ग्राहकले आफ्नो परिचय खुल्ने कागजातका आधारमा बैंक खाताबाट रकम निकाल्न सक्ने व्यवस्था रहँदै आएको थियो। तर, अहिलेको अवस्था फरक भएकाले बाढी प्रभावितसँग नागरिकता वा अन्य परिचय खुल्ने कागजातसमेत नरहेको हुन सक्ने भएकाले बैंकमा सुरक्षित ग्राहकको केवाईसी विवरणका आधारमा सेवा दिनुपर्ने अवस्था आएको छ ’उपाध्यायले भने ।

राष्ट्र बैंकको निर्देशनअनुसार बैंकले ग्राहकको पहिचानका लागि आफ्नो प्रणालीमा रहेको विवरण प्रयोग गर्न सक्नेछ ।

बैंकमा खाता खोल्दा ग्राहकको हस्ताक्षर, फोटो तथा अन्य विवरण सुरक्षित हुने भएकाले ती विवरण भेरिफाई गरेर ग्राहकको पहिचान गर्न सकिन्छ । त्यसपछि आवश्यक प्रक्रिया पूरा गरी खातामा रहेको रकम भुक्तानी गर्न सकिने उपाध्यायले बताए ।

यसका लागि बाढी प्रभावित ग्राहकले आफ्नो खाता रहेको बैंकको शाखामा सम्पर्क गर्नुपर्नेछ । बैंकले उपलब्ध केवाईसी विवरण, हस्ताक्षर, फोटो तथा अन्य आवश्यक विवरणका आधारमा ग्राहक यकिन गरेपछि बैंकिङ कारोबारमा सहजीकरण गर्नेछ ।

यस व्यवस्थाले बाढीमा चेकबुक, एटीएम कार्ड, मोबाइल फोन तथा परिचय खुल्ने कागजातसमेत गुमाएका प्रभावित नागरिकलाई आफ्नो बैंक खातामा रहेको रकम उपयोग गर्न सहज हुने अपेक्षा गरिएको छ ।

हालसम्म १ हजार ३३१ शव फेला, पाँच हजार सम्पर्कविहीन

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा यही भदौ १० गते गएको विनासकारी बाढीपछि हालसम्म एक हजार ३३१ जनाको शव फेला परेको छ भने पाँच हजार जना अझै सम्पर्कविहीन रहेका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको विवरणअनुसार फेलापरेका शवमध्ये रसुवामा १५६, नुवाकोटमा १९५, धादिङमा ६७, गोरखामा ७४, तनहुँमा ३८, नवलपरासीपूर्वमा २२२, नवलपरासीपश्चिममा २१९ तथा चितवनमा ३६० रहेका छन् ।

बाढी प्रभावित क्षेत्रमा सञ्चालन गरिएको अभियानबाट हालसम्म १३ हजार १०१ जनाको उद्धार गरिएको छ । नेपाली सेनाले चार हजार १६२, नेपाल प्रहरीले चार हजार ६८ तथा सशस्त्र प्रहरी बलले संयुक्त रूपमा चार हजार ८७१ जनाको उद्धार गरेको प्राधिकरणले जनाएको छ । यस्तै, हालसम्म ९८ वटा शवको सनाखत भई आफन्तलाई बुझाइएको प्राधिकरणले जनाएको छ ।

प्रकाशित मिति: २१ भाद्र २०८३, आइतबार  ११ : १४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।