इरानसँग युद्ध जिते तेल सस्तो हुने ट्रम्पको दाबी


वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धमा अमेरिकाले विजय हासिल गरेपछि तेलको मूल्य तीव्र रूपमा घट्ने र पेट्रोलको मूल्य प्रतिग्यालन दुई अमेरिकी डलरभन्दा कम हुने दाबी गरेका छन् ।

ट्रम्पले मध्यपूर्वमा जारी सैन्य कारबाहीका कारण ऊर्जा लागत बढेको उल्लेख गर्दै युद्धपछि बजार स्थिर हुने बताए । उनले इरानलाई आणविक हतियार राख्न नदिने चेतावनीसमेत दिए ।

यसको जवाफमा इरानी संसद्का अध्यक्ष मोहम्मद बाघेर गालिबफले इरानको ऊर्जा पूर्वाधारमाथि आक्रमण नगर्न अमेरिकालाई चेतावनी दिएका छन् । उनले इरानी तेल तथा ग्यास क्षेत्रमा संलग्न अमेरिकी कम्पनीसमेत जोखिममा पर्ने बताए।

यसैबीच, अमेरिकी युद्धमन्त्री पीट हेग्सेथले इरानले अमेरिकी जहाजमाथि आक्रमण गरे इरानी तेल ट्याङ्कर नष्ट गर्ने चेतावनी दिएका छन् । उनले इरानसँग प्रभावकारी नौसेना तथा वायुसेना नरहेको दाबी गर्दै अमेरिकी विमान, जहाज र पनडुब्बीले इरानी सैन्य तथा तेल पूर्वाधारमाथि प्रहार गर्न सक्ने बताए ।

अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम) ले तीन इरानी कच्चा तेल ट्याङ्कर आइआरजिसी र उसका क्षेत्रीय सहयोगीलाई आर्थिक सहयोग गर्ने अर्बौं डलरको ‘छाया सञ्जाल’ को हिस्सा रहेको दाबी गरेको छ । सेन्टकमका कमान्डर एडमिरल ब्राड कुपरले आवश्यक परे इरानको तेल ट्याङ्कर बेडामाथि कारबाही गर्न अमेरिका पछि नहट्ने बताए।

अमेरिकाले युद्धलाई विजय र ऊर्जा मूल्य घट्ने दाबीसँग जोडिरहँदा इरानले ऊर्जा पूर्वाधारमाथि आक्रमण भए कडा प्रतिकार गर्ने चेतावनी दिएको छ । बढ्दो तनावले विश्व ऊर्जा बजारमा समेत असर पर्नसक्ने चिन्ता बढेको छ ।

प्रकाशित मिति: २३ भाद्र २०८३, मंगलबार  ११ : ०९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।