बैंकहरुले बाढीपिडितलाई दिए ५३ करोड, कुन बैंकले कति गरे सहयोग ?


काठमाडौँ । १७ वाणिज्य बैंक, नेपाल पूर्वाधार बैंक र ७ राष्ट्रिय स्तरका विकास बैंकबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५३ करोड ५९ लाख ११ हजार रुपैयाँ जम्मा गरेका छन् ।

प्राप्त विवरण अनुसार, वाणिज्य बैंकहरूमध्ये ग्लोबल आईएमई बैंकले सबैभन्दा धेरै ५ करोड रुपैयाँ सहयोग गरेको छ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ४ करोड १ लाख रुपैयाँ सहयोग गरेको छ । यस्तै, कुमारी बैंकले ३ करोड नगद र ३९ लाख रुपैयाँ बराबरको राहत तथा उद्धार सामग्री उपलब्ध गराएको छ ।

एभरेष्ट बैंकले २ करोड ५१ लाख र आफ्ना कर्मचारीहरूको तर्फबाट थप ६० लाख ५५ हजार रुपैयाँ संकलन गरी हस्तान्तरण गरेको छ । एनएमबि बैंकले ३ करोड ५१ लाख नगद र १० लाख बराबरको राहत सामग्री सहयोग गरेको छ । लक्ष्मी सनराइजले ३ करोड २४ लाख, नेपाल बैंकले ३ करोड १० लाख, हिमालयन बैंकले ३ करोड १ लाख रुपैयाँ र प्राइम कमर्सियल बैंकले ३ करोड १ लाख रुपैयाँ आर्थिक सहयोग गरेका छन् ।

कृषि विकास बैंकले ३ करोड र सिद्धार्थ बैंकले २ करोड ५१ लाख रुपैयाँ कोषमा प्रदान गरेका छन्। सानिमा बैंकले २ करोड २५ लाख, एनआईसी एशियाले २ करोड २१ लाख, प्रभु बैंकले २ करोड ११ लाख ११ हजार र माछापुच्छ्रे बैंकले २ करोड १ लाख रुपैयाँ सहयोग गरेका छन्। नेपाल पूर्वाधार बैंकले पनि २ करोड ५० लाख रुपैयाँ योगदान गरेको छ। नेपाल एसबिआई बैंकले २५ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ । नबिल बैंकले भने चौधरी फाउन्डेसनसँग मिलेर रसुवा र नुवाकोटका बाढी प्रभावित समुदायका लागि १५ करोड रुपैयाँ बराबरको बहुचरणीय राहत तथा पुनस्र्थापना कार्यक्रम घोषणा गरेको छ।

विकास बैंकहरूमा कुन बैंकले कति दिए ?

विकास बैंकहरूतर्फ सांग्रिला डेभलपमेन्ट बैंकले सबैभन्दा धेरै ७० लाख रुपैयाँ सहयोग गरेको छ । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले ६५ लाख र महालक्ष्मी विकास बैंकले ५१ लाख रुपैयाँ दिएका छन् ।

ज्योति विकास बैंकले ५० लाख नगद र थप ५० लाख रुपैयाँ स्थानीय स्तरमा पुनस्र्थापनाका लागि खर्च गर्ने घोषणा गरेको छ । मुक्तिनाथ विकास बैंकले ५० लाख तथा कामना सेवा र लुम्बिनी विकास बैंकले समान २५–२५ लाख रुपैयाँ सहयोग गरेका छन् ।

रसुवा लगायत देशका विभिन्न भागमा आएको बाढी र पहिरोपछि सरकारले उद्धार र पुनर्निर्माणका लागि आर्थिक सहयोगको अपिल गरेको थियो ।

प्रकाशित मिति: २४ भाद्र २०८३, बुधबार  ०८ : ०१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।