प्रतिनिधिसभाः भोटेकोशी बाढीमा बेपत्ताको खोज तथा उद्धारमा सम्पूर्ण संयन्त्र परिचालन गर्न सुझाव


काठमाडौँ । सांसदहरूले भोटेकोशी बाढीबाट विस्थापित नागरिकलाई सुरक्षित स्थानमा दिगो व्यवस्थापन गर्न सरकारलाई सुझाव दिएका छन । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा उनीहरूले यही भदौ १० गतेको बाढीमा बेपत्ता भएका नागरिकको खोज तथा उद्धारमा सम्पूर्ण संयन्त्र परिचालित गर्न, होल्डिङ सेन्टरमा रहेकालाई उचित राहत दिन सरकारको ध्यानाकर्षण गराए।

सांसद विदूषी राणाले रसुवा विपद् हिमालय क्षेत्रले दिएको पूर्वचेतावनी भएको जनाउँदै हिमनदी र उच्च हिमाली जोखिमको नियमित अनुगमन, अन्तरदेशीय सूचना आदानप्रदान र विपद् अनुकूल पूर्वाधार निर्माण गर्न आग्रह गरे।

सांसद बिना गुरुङले भोटेकोशी विपद्ले जनधनसँगै नेपालको पर्यटन र नागरिकको जीविकोपार्जनमा ठूलो क्षति पुर्‍याएको भन्दै बाढीपहिरोबाट घरबारविहीन भएका नागरिकलाई तत्काल पुनःस्थापित गर्न तथा पर्यटन व्यवसायीलाई विशेष राहत दिन माग गरीन् ।

सांसद बुद्धरत्न महर्जनले राष्ट्रिय राजमार्गका रूपमा रहेको कान्ति लोकपथको नियमित मर्मतसम्भार गर्न सरकारको ध्यानाकर्षण गराए। सांसद बुद्धिप्रसाद पन्थले जेनजी युवाले देखेको सपना सम्बोधन गर्नुपर्नेमा जोड दिँदै आन्दोलनमा सहभागी युवालाई झुटा मुद्दा लगाइएकामा आपत्ति जनाए।

प्रकाशित मिति: २४ भाद्र २०८३, बुधबार  १५ : १५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।