दुई दशकमा २५५ बैंक तथा वित्तीय संस्था गाभिएर बने ५६ संस्था


काठमाडौँ । मुलुकको बैंक तथा वित्तीय प्रणालीमा पछिल्लो २२ वर्षमा मर्जर तथा प्राप्तीको प्रक्रीया उल्लेख्य रुपमा बढेको देखिन्छ । वि.सं. २०६१ देखि २०८३ सम्मको हालसम्म २५५ वटा बैंक तथा वित्तीय संस्था एकआपसमा गाभिँदा ५६ वटा संस्था कायम भएका छन् ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार वाणिज्य बैंकतर्फ मात्रै १२८ वटा बैंक तथा वित्तीय संस्था मर्जर तथा प्राप्ति प्रक्रियामा सहभागी भएका हुन् ।

तीमध्ये ११३ वटा संस्थाको अस्तित्व समाप्त भएर १५ वटा वाणिज्य बैंक बनेका छन् । हाल सञ्चालनमा रहेका पाँच वाणिज्य बैंक भने मर्जर प्रक्रियामा गएका छैनन् ।

विकास बैंकतर्फ ३६ वटा संस्था मर्जर तथा एक्विजिसनमा सहभागी भएर नौ वटा विकास बैंकमा सीमित भएका छन् । त्यस्तै १६ वटा फाइनान्स कम्पनी गाभिएर सात वटा फाइनान्स कम्पनी कायम भएका छन् । लघुवित्त क्षेत्रमा पनि मर्जरको प्रभाव ठूलो देखिन्छ । यस अवधिमा ७५ वटा लघुवित्त वित्तीय संस्था एकआपसमा गाभिएर २५ वटा संस्थामा सीमित भएका छन् ।
यसरी हेर्दा मर्जर तथा प्राप्तिका कारण कुल १९९ वटा बैंक तथा वित्तीय संस्थाको छुट्टै अस्तित्व समाप्त भएको छ ।

लाइसेन्स वितरणदेखि मर्जरको नीतिसम्म

बैंकिङ सेवा देशभर विस्तार गर्ने उद्देश्यले विगतमा नेपाल राष्ट्र बैंकले ठूलो संख्यामा बैंक तथा वित्तीय संस्थालाई सञ्चालन अनुमति दिएको थियो । त्यसपछि बैंक तथा वित्तीय संस्थाको संख्या तीव्र रूपमा बढेको देखिन्छ ।

तर संस्थाको संख्या अत्यधिक भएपछि वित्तीय प्रणालीलाई थप सबल, प्रतिस्पर्धी र व्यवस्थित बनाउने उद्देश्यले राष्ट्र बैंकले मर्जर तथा प्राप्तिलाई प्राथमिकता दिन थालेको थियो । त्यसक्रममा प्रोत्साहनसँगै आवश्यकताअनुसार दबाबको नीति पनि अपनाइएको केन्द्रिय बैंकको भनाई छ । केन्द्रिय बैंकको नीति अनुसार नै मर्जर तथा प्राप्ती प्रक्रिया तिव्र बनेको देखिन्छ ।

वि.सं. २०६१ मा लक्ष्मी बैंकले हाइसेफ फाइनान्सलाई गाभेर २०६१ साउन ११ गते एकीकृत कारोबार सुरु गरेपछि मर्जरको प्रक्रियाले औपचारिक रूपमा गति लिएको केन्द्रिय बैंकको तथ्यांकमा उल्लेख गरिएको छ ।

धेरै संस्था समेटिएका बैंक

यो अवधिमा मर्जर प्रक्रियामा सहभागी भएका केहि बैंकहरूले धेरै मात्रामा बैंक तथा वित्तीय संस्था मर्जर तथा प्राप्ती गरेका छन् । तथ्यांक हेर्दा यो प्रक्रियामा ग्लोबल बैंक अग्रस्थानमा रहेको छ । उक्त बैंकमा कमर्ज एन्ड ट्रस्ट बैंक, जनता बैंक नेपाल र बैंक अफ काठमाण्डूसहित विभिन्न विकास बैंक तथा फाइनान्स कम्पनी यस बैंकमा समाहित भएका छन् । हालसम्म २१ वटा बैंक तथा वित्तीय संस्था ग्लोबल आइएमईसँग मर्जर वा प्राप्तिमा जोडिएको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ ।

त्यस्तै, कुमारी बैंक पनि धेरै संस्था समेट्ने बैंकको स्थानमा रहेको छ । सिभिल बैंक र नेपाल क्रेडिट एन्ड कमर्स बैंकसँगै काष्ठमण्डप डेभलपमेन्ट बैंक, महाकाली विकास बैंक, काँक्रेविहार विकास बैंक, देव विकास बैंक, एनडीईपी डेभलपमेन्ट बैंक, राइजिङ डेभलपमेन्ट बैंक, साझा विकास बैंक, वेस्टर्न देव विकास बैंकलगायतका संस्था यस बैंकमा समाहित भएका छन् । विभिन्न फाइनान्स तथा लघुवित्त संस्थासहित हालसम्म २१ संस्था कुमारी बैंकसँग जोडिएका छन् ।

नबिल बैंकले पनि नेपाल बंगलादेश बैंकलाई गाभ्नुका साथै नेपाल बंगलादेश फाइनान्स, नेपाल श्रीलंका मर्चेन्ट फाइनान्स र युनाइटेड फाइनान्स प्राप्त गरेको छ ।

प्रभु बैंकमा सेन्चुरी कमर्सियल बैंक, किस्ट बैंक र ग्रान्ड बैंक नेपालजस्ता वाणिज्य बैंकसँगै विभिन्न विकास बैंक र फाइनान्स कम्पनी समाहित भएका छन् । समृद्धि विकास बैंक, अरनिको डेभलपमेन्ट बैंक, सूर्य डेभलपमेन्ट बैंक, इन्नोभेटिभ डेभलपमेन्ट बैंक, अल्पाइन डेभलपमेन्ट बैंक र गौरीशंकर डेभलपमेन्ट बैंकलगायतका संस्था यसमा गाभिएका छन् । फाइनान्स कम्पनीसमेत जोड्दा प्रभु बैंकमा हालसम्म १४ संस्था मर्जर तथा प्राप्तिमार्फत समाहित भएका छन् ।

त्यसैगरी नेपाल इन्भेष्टमेन्ट मेगा बैंक पनि मर्जरबाट ठुलो पूँजीकोष निर्माण गरेको छ । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकको एकीकरणपछि बनेको यस बैंकमा विश्व विकास बैंक, गण्डकी विकास बैंक, पश्चिमाञ्चल डेभलपमेन्ट बैंक, टुरिजम डेभलपमेन्ट बैंक, मातृभूमि विकास बैंक, कालिन्चोक डेभलपमेन्ट बैंक र एस डेभलपमेन्ट बैंकलगायत विकास बैंक समाहित भएका छन् । विभिन्न फाइनान्स कम्पनीसमेत यसमा जोडिएका छन् ।

मर्जर तथा प्राप्तिको प्रक्रियाबाट हिमालयन बैंक, सिटिजन्स बैंक इन्टरनेसनल, प्राइम कमर्सियल बैंक, सानिमा बैंक, माछापुच्छ्रे बैंक, एनआईसी एसिया बैंक, एनएमबि बैंक, सिद्धार्थ बैंक र राष्ट्रिय वाणिज्य बैंक पनि मर्जर तथा प्राप्ती प्रक्रियामा सहभागी भएका छन् ।

प्रकाशित मिति: २७ भाद्र २०८३, शनिबार  १० : ३० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।