दैनिक उपभोग्य वस्तुको मूल्य आकासियो, बाढीको बाहाना कि वास्तविक ढुवानी लागत ?


काठमाडौँ । चाडपर्व नजिकिँदै गर्दा नेपाली बजारमा दैनिक उपभोग्य वस्तुको मूल्य निरन्तर बढ्न थालेको छ । एकातिर बाढी तथा पहिरोका कारण विभिन्न सडक अवरुद्ध हुँदा सामान ढुवानी प्रभावित भएको छ भने अर्कोतिर दसैँ, तिहार र छठजस्ता ठूला चाडपर्व नजिकिँदै जाँदा उपभोग्य वस्तुको माग बढ्न थालेको छ ।

आपूर्ति व्यवस्थामा देखिएको अवरोध र बढ्दो मागका कारण बजारमा भान्सामा अत्यावश्यक वस्तुको मूल्य बढ्दै गएको हो ।

भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट, धादिङलगायत जिल्लाका सडक, पुल तथा यातायात संरचनामा ठूलो क्षति पु¥याएपछि त्यसको प्रत्यक्ष असर आपूर्ति प्रणालीमा परेको व्यवसायीहरूले बताएका छन् ।
सडक अवरुद्ध हुँदा कतिपय स्थानमा लामो दूरीका मालवाहक सवारीसाधन सञ्चालन गर्न कठिन भएको छ । वैकल्पिक सडक प्रयोग गर्नुपर्दा दूरी बढेको र इन्धन खर्च थपिएको छ । ढुवानीमा भएको अतिरिक्त खर्च अन्ततः उपभोक्ताले तिर्नुपर्ने अवस्था देखिएको छ ।

अर्कोतर्फ थोक व्यापारीले अस्वाभाविक रूपमा मूल्य बढाएको उपभोक्ता अधिकारकर्मीको आरोप छ । तर, सरकारले मूल्य नियन्त्रण र आपूर्ति व्यवस्थापन प्रभावकारी बनाउन सकेको छैन ।

एक महिना अघि सनफ्लावर तेलको प्रतिकार्टुन २ हजार ७७० रहेकामा अहिले ३ हजार पुगेको छ । १९० रुपैयाँ रहेको रहर दाल २२० पुगेको छ भने १९० रहेको कालो दाल अहिले २१० रुपैयाँ पुगेको छ । अन्य दालको भाउ पनि प्रतिकिलो कम्तीमा १० रुपैयाँ बढेको छ ।

उपत्यकामा एक महिनायता धेरै खपत हुने जिरा मसिनो चामलको भाउ बोरामा ४०० रुपैयाँ बढेको छ । एक महिनाअघि २ हजार २०० रुपैयाँमा पाइने जिरा मसिनो चामल अहिले २ हजार ६०० रुपैयाँ पुगेको नेपाल खुद्रा व्यापार संघको तथ्यांकमा उल्लेख गरिएको छ ।

पछिल्लो समय चिनीको मूल्य पनि अधिक बढेर प्रतिकेजी १४० रुपैयाँसम्म पुगेको व्यापारीहरु बताउँछन् । चिनी मूल्यमा आएको वृद्धि नियन्त्रण गर्न सरकारले प्रतिकेजी ११० रुपैयाँ निर्धारण गरेको जानकारी समेत दिएको छ ।

चाडपर्वअघि विगतमा पनि मूल्य बढ्ने गरेको भए पनि अहिले भोटेकोशी बाढीका कारण ढुवानीमा अवरोध र लागत वृद्धि भएको देखाएर खाद्यान्नको मूल्य धेरै बढाइएको खुद्रा व्यापार संघका महासचिव अमुलकाजी तुलाधरले बताए ।

‘सम्पूर्ण खाद्यान्नको मूल्य बढेको छ ।’ उनले भने, ‘त्यसमा पनि चामलको मूल्य धेरै बढ्दा आमउपभोक्तालाई असर परेको छ ।’
उनका अनुसार, अहिले बाढीपहिरोको कारण देखाएर मनलाग्दी गरिएको छ । बाढीपहिरो आउनुअघि नै मूल्य बढ्न थालेको हो । चाडपर्व आउनासाथ मूल्य अझ बढाउने परिस्थिति नियन्त्रणमा ल्याउनुपर्ने उनको भनाई छ ।

हरियो तरकारीको भाउ पनि छोइनसक्नु

पछिल्लो समय हरियो तरकारीको मूल्य पनि छोइनसक्नु भएको छ । एक महिनाअघि प्रतिकेजी ६५ रुपैयाँ रहेको गोलभेँडा हलिे ७५ रुपैयाँ पुगेको छ । त्यस्तै, ४५ रुपैयाँ रहेको करेला ७५ रुपैयाँ पुगेको छ भने परवलको मूल्य पनि २० रुपैयाँले बढेको छ । २५ रुपैयाँ रहेको घिरौँला ४५ रुपैयाँ पुगेको छ ।

पछिल्लो समय आलु र प्याजको मूल्यमा पनि अत्याधिक वृद्धि भएको छ । एक महिना अघि प्रतिकेजी ३८ रुपैयाँमा पाइने आलु अहिले २० प्रतिशतले बढेर ४६ रुपैयाँ पुगेको छ । प्याजको मूल्य ६२ रुपैयाँ रहेकोमा ४३ प्रतिशतले बढेर ८९ रुपैयाँ पुगेको छ । लसुनको मूल्य १९० रुपैयाँबाट २१३ रुपैयाँ पुगेको कालीमाटी फलफुल तथा तरकारी बजार विकास समितिको तथ्यांकमा उल्लेख गरिएको छ ।

फलफुलको मूल्यमा पनि उत्तिकै वृद्धि देखिएको छ । एक महिनामा स्याउ (फुजी)को मूल्य केजीमा २९ प्रतिशतले बढेको छ । एक महिना अघि २९० रुपैयाँ रहेको स्याउ ३७५ रुपैयाँ पुगेको हो । कागतीको मूल्यमा भने अस्वभाविक वृद्धि भएको छ । २२५ रुपैयाँ रहेको कागती ६६ प्रतिशतले बढेर ३७५ रुपैयाँ पुगेको हो । समिक्षा अवधीमा केराको मूल्य भने घटेको छ । २७५ रुपैयाँ प्रतिदर्जन रहेको केरा १७५ रुपैयाँमा झरेको छ ।

बाढीका कारण सडकमा देखिएको असुविधाका कारण तरकारी तथा फलफुलको मूल्य बढेको कालीमाटी फलफुल तथा तरकारी बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठले बताएका छन् । ‘चाडपर्वका वेला खपत बढ्छ, तर अहिले हरियो तरकारीको उत्पादनमा केही ह्रास आएको छ । जसका कारण मूल्यमा चाप परेको हो,’ उनले भने, ‘अर्कोतर्फ सडक अवरुद्धले पनि मूलयमा प्रभाव पारेको हो ।’

उनका अनुसार, नेपाली बजारमा चिनियाँ फलफूलको ठुलो हिस्सा छ । तर, भोटेकोशी नदीमा बाढी आएयता फलफूल आयात हुन सकेको छैन । कोरला नाकाबाट ल्याउँदा ढुवानी लागत बढेको उनको भनाई छ ।

त्यस्तै, बर्डफ्लु संक्रमणका कारण घटेको अन्डाको मूल्य अहिले पुनः उकालो लागिरहेको छ । बर्डफ्लु सुरु हुनुअघि प्रतिक्रेट अन्डाको मूल्य ५३५ रुपैयाँ रहेको थियो तर, बर्डफ्लु संक्रमण बढ्दै गएपछि माग कम हुँदा मूल्य घटेर ४७५ रुपैयाँसम्म झरेको थियो ।

बर्डफ्लु संक्रमण हटेपछि भने मूल्यमा निरन्तर वृद्धि भएको छ । साउनदेखि अहिलेसम्म निरन्तर मूल्य बढ्दै अण्डा प्रतिक्रेट ६०५ रुपैयाँ पुगेको नेपाल लेयर्स कुखुरा पालक संघले जनाएको छ । बर्डफ्लुका कारण धेरै कुखुरा मरेको र किसानले फार्ममा नयाँ उत्पादन सुरु गर्न ढिलाइ गरेकाले उत्पादनमा असर परेको व्यवसायीहरुले बताएका छन् ।

चाडपर्व नजिकिँदै जाँदा उपभोग्य वस्तुको माग अझ बढ्छ त्यसकारण समयमै बजार व्यवस्थापन गर्न नसके मूल्यवृद्धिको समस्या थप गम्भीर बन्न सक्छ । त्यसैले सरकारले तत्काल बजार अनुगमन तीव्र पार्नुका साथै अत्यावश्यक वस्तुको आपूर्ति सहज बनाउनुपर्ने देखिएको छ ।

व्यवसायीहरूले कृत्रिम मूल्यवृद्धि गरेर उपभोक्तालाई मारमा पार्ने काम गरिरहेको उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सिनाले बताए । ‘हरेक वस्तुको मूल्य अस्वभाविक बढेको छ ।’ उनले भने, ‘सरकारको कुनै पनि निकायको हस्तक्षेपकारी भूमिका पनि छैन ।’

यस्तो मूल्यवृद्धिबारे जानकारी हुँदाहुँदै पनि सरकारले नियन्त्रणका लागि पहल नगर्नु भनेको गैरजिम्मेवारपन भएको उनको भनाई छ ।

मूल्य नियन्त्रण गर्ने स्पष्ट कानुनी व्यवस्था नभएकाले अनुगमन निरीक्षकको अधिकार सीमित रहेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका अनुगमन शाखाका निर्देशक अनिल किराँतीले बताए ।

प्रकाशित मिति: २ आश्विन २०८३, शुक्रबार  ०६ : ४३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।