हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त


तेहरानले मध्यस्थकर्तामार्फत वासिङ्टनलाई रणनीतिक हर्मुज जलसन्धि पुनः खोल्नका लागि आफ्ना सर्तहरू पठाएको इरानका मुख्य वार्ताकारले आइतबार जानकारी गराएका छन् । इरानले मध्यपूर्व युद्धभरि नै यो जलमार्गमा नियन्त्रण कायम गरेको छ ।

फेब्रुअरीको अन्त्यतिर अमेरिका–इजरायली हमलाबाट सुरु भएको मध्यपूर्व द्वन्द्वमा अमेरिका र इरान महिनौँदेखि गतिरोधमा फसेका छन् ।

तेहरानले त्यसयता विश्वको तेल र ग्यासका लागि महत्वपूर्ण यातायात मार्ग हर्मुज जलमार्गमाथि कडा नियन्त्रण कायम राखेको छ भने वासिङ्टनले इरानी बन्दरगाह र अर्थतन्त्रलाई प्रभावित पार्ने अभियान चलाएको छ ।

“हाम्रा सन्देश र सर्तहरूको व्याख्या मध्यस्थकर्तामार्फत अर्को पक्षलाई स्पष्ट रूपमा पु¥याइएको छ,” इरानी संसद्का सभामुख मोहम्मद बाघेर गालिबाफले भनेका छन् । युद्ध अन्त्यका लागि भएका वार्तामा उनी मुख्य वार्ताकारका रूपमा रहेका छन्।

“जबसम्म सर्तहरू पूरा हुँदैनन् र अमेरिकी प्रतिबद्धताहरू पालना हुँदैनन्, तबसम्म वार्ताअघिको अवस्थामा फर्कन र जलमार्ग खुला गर्ने कुरा सम्भव हुनेछैन,” उहाँले इरानी राष्ट्रिय टेलिभिजलाई दिएको एक अन्तवार्तामा भनेका छन् ।

इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का प्रमुख मोहसेन रेजाइले शनिबार भनेका थिए “इस्लामिक गणतन्त्र (इरान) ले मध्यस्थकर्ता कतारमार्फत अमेरिकासामु आफ्ना सर्तहरू पठाएको छ ।”

“हाम्रा सर्तहरूमा सबै मोर्चामा युद्ध अन्त्य, हाम्रा रोकिएका कोषहरूको रिहाई र नौसेना नाकाबन्दी अन्त्य रहेका छन्,” उनले अल–जजिरासँगको अन्तर्वार्तामा भने ।

इरानी अधिकारीहरूले भनेका छन्, “मध्यस्थकर्ता पाकिस्तानका गृहमन्त्री मोहसिन नक्वी आइतबार वार्ताका लागि तेहरान आउने कार्यक्रम रहेको छ ।”

यसैबीच, इरानको खातम अल–अनबिया केन्द्रीय सैन्य कमान्डले टेलिभिजनमा प्रसारित वक्तव्यमार्फत् आइतबार संयुक्त राज्य अमेरिकाविरुद्ध एक चेतावनी जारी गरेको छ ।

“यदि अमेरिकाले इस्लामिक इरानसँग व्यवहार गर्दा गल्ती ग¥यो भने कुनै सीमा वा संयम बिना त्यस देशका मध्यपूर्व क्षेत्रका सबै आधार र हितहरू प्रभावकारी र पीडादायक हमलाको निरन्तर निशाना बन्नेछन् ।”

प्रकाशित मिति: ४ आश्विन २०८३, आइतबार  १८ : १३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।