भारत–अमेरिका व्यापार वार्ता अन्तिम चरणमा


भारत र संयुक्त राज्य अमेरिकाबीच प्रस्तावित द्विपक्षीय व्यापार सम्झौताको वार्ता अन्तिम चरणमा पुगे पनि तत्काल सम्झौता घोषणा हुने अवस्था नरहेको अमेरिकी व्यापार प्रतिनिधि जेमिसन ग्रियरले बताएका छन् ।

सन् २०२६ को जी–२० व्यापार मन्त्रीहरूको बैठकका क्रममा उनले दुवै पक्षले सहमति हुन बाँकी मुख्य विषय पहिचान गरिसकेको र ती विषयमा निरन्तर काम भइरहेको बताए । उनले सम्झौताको प्रगतिबारे मूल्याङ्कन गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच चाँडै पुनः कुराकानी हुन सक्ने जानकारी दिए ।

ग्रियरले प्रधानमन्त्री मोदी र राष्ट्रपति ट्रम्पबीच बुधबार भएको कुराकानी रचनात्मक रहेको बताउँदै तत्काल सम्झौता घोषणा हुने अपेक्षा नगर्न आग्रह गरे ।

भारतका वाणिज्य तथा उद्योगमन्त्री पियुष गोयलसँग पनि आफूहरूको रचनात्मक छलफल भएको उनले बताए । गोयलले जी–२० व्यापार मन्त्रीहरूको बैठकको साइडलाइन छलफलमा ग्रियरसँग भेट गरी पारस्परिक रूपमा लाभदायक अन्तरिम सम्झौता निष्कर्षमा पुर्‍याउने विषयमा छलफल गरेका थिए ।

गोयलले सामाजिक सञ्जाल एक्समार्फत भारत–अमेरिका द्विपक्षीय व्यापार सम्झौताअन्तर्गत अन्तरिम सम्झौता अन्तिम रूप दिने विषयमा फलदायी छलफल भएको जानकारी दिएका थिए । यसअघि मोदी र ट्रम्पबीच भएको फोन वार्तामा व्यापार, रक्षा, ऊर्जा, महत्त्वपूर्ण प्रविधिलगायतका क्षेत्रमा भएको प्रगतिको समीक्षा भएको थियो ।

भारत र अमेरिकाले गत फेब्रुअरीमा व्यापार सम्झौताको पहिलो चरणको ढाँचा तयार पार्ने घोषणा गरेका थिए । तर अमेरिकी भन्सार शुल्कसम्बन्धी पछिल्ला परिवर्तनका कारण वार्ता लम्बिएको छ ।

सेप्टेम्बर २४ मा गोयलले अमेरिकी बजारमा भारतीय वस्तुलाई चीन, बङ्गलादेश र आसियान सदस्य राष्ट्रलगायतका प्रतिस्पर्धीभन्दा उचित प्रतिस्पर्धात्मक लाभ सुनिश्चित भएपछि सम्झौता कार्यान्वयन गरिने बताएका थिए ।

प्रकाशित मिति: १६ आश्विन २०८३, शुक्रबार  १६ : ५३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।