अर्थमन्त्री डा. वाग्ले अमेरिकामा, अमेरिकी अर्थमन्त्री र विश्व बैंकका अध्यक्षसँग भेटवार्ता गर्ने


काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले दुई सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गएराति अमेरिका पुगेका छन् । उनलाई वासिङ्टन, डीसीमा कार्यवाहक राजदूत शरदराज आरन र दूतावासका पदाधिकारीहरूले स्वागत गरे ।

भ्रमणका क्रममा मन्त्री वाग्लेले नेपालको आर्थिक साझेदारी र सहयोगलाई सुदृढ बनाउने उद्देश्यका साथ सोमबार अमेरिकी अर्थमन्त्री स्कट बेसेन्ट (सेक्रेटरी अफ द ट्रेजरी) र विश्व बैंक समूहका अध्यक्ष अजय बङ्गासँग भेटवार्ता गर्ने छन् ।

भेटवार्ताका क्रममा द्विपक्षीय सहयोग अभिवृद्धि, पुनर्निर्माण तथा बृहत् आर्थिक सुधारका विविध विषयमा छलफल हुनेछ।

छलफल र भेटवार्ताका क्रममा हालै भोटेकोशी क्षेत्रमा आएको बाढीका कारण क्षति पुगेका भौतिक एवं आर्थिक पूर्वाधारको पुनर्निर्माण र उत्थानशील विकासका लागि थप सहायता परिचालनका विषयमा विश्व बैङ्क तथा अमेरिकी सरकारका प्रतिनिधिहरूसँग कुराकानी हुनेछ।

साथै सडक, विद्युत् प्रसारण लाइन लगायतका महत्त्वपूर्ण पूर्वाधारमार्फत मुलुकभित्र रोजगारी र आर्थिक अवसर सिर्जना गर्न विकास साझेदार एवं निजी क्षेत्रको लगानी अभिवृद्धि गर्ने पहल भ्रमणको मुख्य उद्देश्य रहेको छ।

प्रकाशित मिति: १८ आश्विन २०८३, आइतबार  १२ : ४१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।