बेत्रावतीको बेलीब्रिज दसैँअघि सञ्चालनमा आउने


रसुवा । नेपाली सेनाको नेतृत्वमा रसुवा–नुवाकोट सीमासँगै बेत्रावतीस्थित फलाखुखोलामा निर्माण हुने बेलीब्रिज दसैँअघि सञ्चालनमा आउने भएको छ ।

गत भदौमा गएको रसुवा बाढीले सो खोलाको पक्की पुल बगाएपछि अवरुद्ध भएको पासाङल्हामुमार्गस्थित सो खोलामा बेलीब्रिज निर्माण भएसँगै सडक यातायात सञ्चालनमा आउने छ ।

नेपाली सेनाका प्रवक्ता सहायक राजाराम बस्नेतका अनुसार गल्छी–मैलुङ–स्याफ्रुबेँसी सडक सुधार आयोजनाले आगलीटार–बेत्रावती सडकखण्ड सञ्चालनमा ल्याएपछि बेलीब्रिज निर्माणका लागि आवश्यक सामग्री ढुवानी गर्न सहज भएको हो ।

“बेलीब्रिज जडानका क्रममा आवश्यक सामग्री बेत्रावतीस्थित निर्माणस्थल पन्छाइएको छ । बाढी प्रभावित जनतालाई राहत दिने सरकारी नीति तथा कार्यक्रमलाई मूर्तरुप दिन बडादसैँअघि नै बेलीब्रिज जडान गरी सवारीसाधन सञ्चालन गर्ने लक्ष्यका साथ काम भइरहेको छ”, प्रवक्ता बस्नेतले भने ।

गत भदौ १० गते भोटेकोशी नदीमा गएको बाढीले बेत्रावती बजार क्षेत्रमा ठूलो क्षति पु¥याउनुका साथै फलाखुखोलामा रहेका पुरानो र नयाँ दुवै पक्की पुल बगाएसँगै काठमाडौँ–नुवाकोट हुँदै रसुवासम्मको सडक यातायात प्रभावित भएको छ ।

सो स्थानमा पुल बगेपछि रसुवाको दक्षिणी तथा उत्तरी क्षेत्रबीचको आवागमन, दैनिक उपभोग्य वस्तुको ढुवानी तथा अत्यावश्यक सेवासमेत प्रभावित भएको छ । बेलीब्रिज निर्माणपछि राजधानी काठमाडौँसँग रसुवाको सडक सम्पर्क सहज हुने जिल्लावासीको अपेक्षा छ ।

यसै सन्दर्भमा, संविधानसभा सदस्य छोवाङ तेन्जिङ तामाङले आसन्न दसैँअघि बेत्रावतीमा पुल तयार भइदिए आमसर्वसाधरणलाई राष्ट्रिय चाडपर्वका समयमा आवतजावत गने सहज हुने र छिमेकी जिल्ला नुवाकोटसहित काठमाडौँसँग सडक यातायात जोडिने बताए । बाढीबाट प्रभावित क्षेत्रमा राहत तथा उद्धारसहित यातायात सञ्चालन कार्यमा सरकारका तर्फबाट भएका काम र बाढीपछि नेपाली सेनाको भूमिकाको प्रशंसा गरे ।

प्रकाशित मिति: १८ आश्विन २०८३, आइतबार  १६ : १५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।