काठमाडौँ । अस्ट्रेलियाका अधिकांश पूर्वी तथा दक्षिणी राज्यमा आइतबारदेखि डेलाइट सेभिङ टाइम (डीएसटी) लागू भएको छ। यससँगै ती क्षेत्रमा बिहानको घडी एक घण्टा अगाडि सारिएको छ भने नेपालसँगको समय अन्तर पनि बढेको छ।
न्यु साउथ वेल्स, भिक्टोरिया, दक्षिण अस्ट्रेलिया, तास्मानिया र अष्ट्रेलियन क्यापिटल टेरिटोरी (एसीटी) मा आइतबार बिहान २ बजे घडीलाई ३ बजे बनाइएको हो। गर्मीयाममा साँझको उज्यालो समय बढी उपयोग गर्न हरेक वर्ष यी क्षेत्रमा यस्तो व्यवस्था लागू गरिन्छ।
घडी अगाडि सारिएसँगै साँझपख बाहिरी गतिविधिका लागि थप समय उपलब्ध हुनेछ। कार्यालय वा अध्ययन सकेपछि घुमफिर, व्यायाम तथा अन्य कामका लागि पनि पहिलेभन्दा केही ढिलोसम्म उज्यालो रहनेछ।
तर डेलाइट सेभिङ सुरु भएको पहिलो दिन भने मानिसको नियमित दिनचर्यामा केही असर पर्न सक्छ। विशेषगरी घडीअनुसार सुत्ने र उठ्ने बानी भएका व्यक्तिको निद्राको समय करिब एक घण्टाले घट्न सक्छ। नयाँ समयतालिकामा अभ्यस्त हुन केही दिन लाग्न सक्ने भएकाले सुत्ने समय क्रमशः मिलाउन र बिहानको प्राकृतिक उज्यालोमा समय बिताउन सुझाव दिइएको छ।
डीएसटी लागू भएका क्षेत्रमा आइतबार बिहान २ बजे पुगेपछि घडीलाई सीधै ३ बजे बनाइएको हो। अर्थात् २ बजेदेखि ३ बजेसम्मको एक घण्टा स्थानीय समयक्रममा समावेश हुँदैन।
मोबाइल फोन, कम्प्युटरलगायत इन्टरनेटसँग जोडिएका अधिकांश उपकरणले समय आफैँ समायोजन गर्छन्। तर सामान्य भित्ते घडी तथा म्यानुअल रूपमा मिलाउनुपर्ने अन्य घडीमा भने समय आफैँ परिवर्तन नहुन सक्छ।
यसपटक लागू भएको डेलाइट सेभिङ आगामी २०२७ अप्रिल ४ सम्म कायम रहनेछ। उक्त दिन बिहान ३ बजे घडीलाई पुनः एक घण्टा पछाडि सारेर २ बजे कायम गरिनेछ।
यद्यपी, अस्ट्रेलियाका सबै राज्य तथा क्षेत्रमा डेलाइट सेभिङ लागू हुँदैन। न्यु साउथ वेल्स, भिक्टोरिया, दक्षिण अस्ट्रेलिया, तास्मानिया र एसीटीले गर्मीयाममा घडी एक घण्टा अगाडि सार्ने व्यवस्था अपनाएका छन्।
क्वीन्सल्याण्ड, नर्दर्न टेरिटोरी र वेस्टर्न अस्ट्रेलियामा भने डेलाइट सेभिङ लागू हुँदैन। त्यसैले मौसमअनुसार अस्ट्रेलियाकै विभिन्न सहरबीचको समय अन्तरसमेत परिवर्तन हुन्छ।
ब्रिसबेनमा घडी परिवर्तन नहुने भएकाले अहिले सिड्नी, मेलबर्न र क्यानबेरासँग यसको समय अन्तर एक घण्टा हुनेछ। पर्थमा पनि डेलाइट सेभिङ लागू नहुने भएकाले पूर्वी अस्ट्रेलियाका सहरसँगको समय अन्तर थप फरक हुनेछ।
नेपालमा रहेका नेपालीलाई कस्तो असर ?
अस्ट्रेलियामा डेलाइट सेभिङ सुरु हुनुको प्रत्यक्ष प्रभाव नेपालमा रहेका परिवार, विद्यार्थी, व्यवसायी तथा अस्ट्रेलियासँग नियमित सम्पर्कमा रहने व्यक्तिको दैनिक तालिकामा पर्नेछ।
सिड्नी, मेलबर्न, क्यानबेरा र होबार्टमा अब नेपालभन्दा ५ घण्टा १५ मिनेट अगाडिको समय हुनेछ। यसअघि यी सहर नेपालभन्दा ४ घण्टा १५ मिनेट मात्रै अगाडि थिए। नेपालबाट अस्ट्रेलियामा फोन गर्ने, अनलाइन कक्षा लिने वा कार्यालय बैठकमा सहभागी हुने समय तय गर्दा यसअघिको तालिकाभन्दा एक घण्टाको फरकलाई ध्यान दिनुपर्नेछ।
सिड्नी, मेलबर्न, क्यानबेरा र होबार्टमा अब नेपालभन्दा ५ घण्टा १५ मिनेट अगाडि समय हुनेछ। डेलाइट सेभिङअघि यी सहरमा नेपालभन्दा ४ घण्टा १५ मिनेट मात्रै अगाडि समय थियो।







