काठमाडौँ । नेपाल राष्ट्र बैंकले एक रुपैयाँ अंकित मूल्यका ४० करोड थान सिक्का छाप्ने भएको छ । राष्ट्र बैंकअन्तर्गतको मुद्रा व्यवस्थापन विभागले सिक्का छाप्न अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको हो ।
सिक्काको डिजाइनदेखि उत्पादन, आपूर्ति र ढुवानीसम्मको जिम्मेवारी समेटेर बोलपत्र प्रक्रिया अघि बढाएको हो ।
प्रतिस्पर्धामा सहभागी हुन कम्पनीहरूले कम्तीमा १ लाख ४८ हजार अमेरिकी डलरबराबरको बोलपत्र जमानत पेश गर्नुपर्नेछ । बोलपत्र १२० दिनसम्म मान्य रहनेछ भने जमानतको अवधि बोलपत्रको वैधता सकिएपछि थप ३० दिन कायम रहनुपर्ने व्यवस्था गरिएको छ ।
राष्ट्र बैंकले बोलपत्रसम्बन्धी कागजात प्राप्त गर्न २० हजार रुपैयाँ शुल्क निर्धारण गरेको छ । इच्छुक कम्पनीका प्रतिनिधिका लागि अक्टोबर १५ मा दिउँसो १२ बजे पूर्वबोलपत्र बैठक आयोजना हुनेछ ।
बोलपत्र बुझाउने अन्तिम म्याद नोभेम्बर ३ गते दिउँसो १२ बजेसम्म तोकिएको छ। प्राप्त बोलपत्र सोही दिन दिउँसो १ बजे खोलिनेछ ।







