काठमाडौँ । अमेरिकी डलरको तुलनामा भारतीय रुपैयाँ निरन्तर कमजोर बन्दै गएको छ । पाँच महिना अघि वैशाख १५ गते एक अमेरिकी डलरको विनिमय दर ९४.२९ भारतीय रुपैयाँ रहेको थियो । अहिले उक्त दर बढेर ९६.४३४८ भारतीय रुपैयाँ पुगेको छ ।
भारतीय रुपैयाँको निरन्तरको अवमूल्यनले स्थिर विनिमय दरमा बाँधिएको नेपाली रुपैयाँका लागि पनि चिन्ता बढाएको छ । भारु कमजोर हुँदा नेपाली रुपैयाँ पनि डलरको तुलनामा कमजोर बन्ने भएकाले आयात, वैदेशिक ऋण, पेट्रोलियम पदार्थ तथा औद्योगिक कच्चा पदार्थको लागतमा त्यसको प्रभाव पर्ने गर्छ ।
भारतीय रिजर्भ बैंकको तथ्यांकअनुसार पछिल्लो एक दशकमा अमेरिकी डलरको तुलनामा भारतीय रुपैयाँ उल्लेख्य कमजोर भएको देखिन्छ । सन् २०१५ को अप्रिल अन्त्यमा एक अमेरिकी डलर खरिद गर्न करिब ६३.५७ भारतीय रुपैयाँ आवश्यक पर्नेमा सन् २०२५ को अन्त्यतिर उक्त दर बढेर करिब ८९ रुपैयाँ पुगेको थियो । अर्थात्, सो अवधिमा एक अमेरिकी डलर किन्न आवश्यक पर्ने भारुको मात्रा करिब ४० प्रतिशतले बढेको देखिन्छ ।
सन् २०२६ को सुरुवाती चार महिनामा पनि भारुमाथि दबाब कायमै रहेको छ । अप्रिल अन्त्यतिर एक अमेरिकी डलरको विनिमय दर ९४.२९ भारु पुगेकोमा असोज २० सम्म आइपुग्दा उक्त दर ९६.४३४८ भारु पुगेको छ । यसले पछिल्लो अवधिमा पनि डलरको तुलनामा भारु कमजोर हुने क्रम जारी रहेको देखाउँछ । अर्थात् एक दशकभन्दा केही बढी अवधिमा अमेरिकी डलरको तुलनामा भारुको मूल्यमा उल्लेख्य गिरावट आएको छ । पछिल्लो पाँच महिनाको तथ्यांक हेर्दा मात्रै पनि भारु कमजोर हुने क्रम रोकिएको छैन ।
नेपालको भारतीय मुद्रासँग स्थिर विनिमय दर कायम रहेकाले भारुको अवमूल्यनको असर नेपाली मुद्रामा समेत पर्छ । नेपाल राष्ट्र बैंकका अनुसार सन् २०१५ को अप्रिल अन्त्यमा एक अमेरिकी डलरको नेपाली विनिमय दर करिब १०० रुपैयाँ रहेकोमा सन् २०२५ को अन्त्यसम्म आइपुग्दा यो १४३ रुपैयाँ पुगेको थियो ।
सन् २०२६ को अप्रिल अन्त्यतिर अमेरिकी डलरको नेपाली रुपैयाँसँगको विनिमय दर १५० रुपैयाँ पुगेको थियो । अहिले एक अमेरिकी डलर खरिद गर्नको लागि १५३.७८ रुपैयाँ खर्च गर्नुपर्ने भएको छ । भारुको अवमूल्यन निरन्तर भइरहँदा नेपाली रुपैयाँमा समेत दबाब देखएिको हो ।
भारुसँगको पेगिङका कारण नेपालले भारतीय मुद्राको तुलनामा आफ्नो विनिमय दर स्वतन्त्र रूपमा निर्धारण गर्न सक्दैन । त्यसैले भारतीय मुद्राको उतारचढावको प्रभाव नेपाली रुपैयाँमा समेत पर्ने गर्छ ।
विज्ञहरूले भारुको अवमूल्यनले नेपालको तेस्रो मुलुकसँगको व्यापारमा दबाब बढाउने बताएका छन् । नेपालको वैदेशिक व्यापारको ठूलो हिस्सा भारतसँग भए पनि तेस्रो मुलुकबाट आयात हुने इलेक्ट्रोनिक्स, मेसिनरी, पार्टपुर्जा तथा औद्योगिक कच्चा पदार्थको भुक्तानी अमेरिकी डलरमा गर्नुपर्छ । डलर महँगो हुँदा यस्ता वस्तु खरिद गर्न नेपाली आयातकर्ताले बढी रुपैयाँ खर्चिनुपर्छ ।
त्यसको प्रत्यक्ष असर उद्योगको उत्पादन लागतमा पर्न जान्छ । कच्चा पदार्थ र मेसिनरी महँगिएपछि तयारी वस्तुको लागत पनि बढ्ने भएकाले नेपाली उद्योगले स्वदेशी तथा विदेशी बजारमा प्रतिस्पर्धा गर्न कठिनाइ भोग्नुपर्ने हुन्छ ।
भारतबाट हुने आयातमा समेत यसको अप्रत्यक्ष प्रभाव पर्न सक्ने सरोकारवालाहरूको भनाई छ । भारतले आफ्ना उद्योगका लागि आवश्यक धेरै कच्चा पदार्थ तथा अन्य वस्तु तेस्रो मुलुकबाट डलरमा आयात गर्छ । भारु कमजोर हुँदा भारतीय आयातकर्ताको लागत बढ्ने भएकाले त्यसको असर भारतमा उत्पादित वस्तुको मूल्यमा पर्छ । भारतबाट आयात हुने त्यस्ता वस्तुको मूल्य बढ्दा नेपाली उपभोक्ता पनि प्रभावित हुन्छन् ।
डलरको मूल्य बढ्दा नेपालले लिएको वैदेशिक ऋणको नेपाली रुपैयाँमा गणना हुने भार पनि बढ्छ । विश्व बैंक, एसियाली विकास बैंक, जाइका लगायत अन्तर्राष्ट्रिय संस्थाबाट लिएको ऋणको सावाँ तथा ब्याज विदेशी मुद्रामै भुक्तानी गर्नुपर्ने हुन्छ ।
डलरको मूल्य बढ्दै जाँदा सरकारलाई वैदेशिक ऋणको सावाँ र ब्याज भुक्तानी गर्न थप नेपाली रुपैयाँ आवश्यक पर्ने जानकारहरू बताउँछन् । डलरको मूल्यमा भएको वृद्धिले त्यस्तो दायित्वमा थप दबाब सिर्जना गर्छ । यसको प्रभाव सरकारको बजेटमा समेत पर्न सक्छ । ऋण व्यवस्थापनमा थप रकम खर्च गर्नुपर्दा विकास निर्माणका लागि उपलब्ध स्रोतमा दबाब पर्न सक्ने जोखिम हुन्छ । नेपालले उपभोग गर्ने पेट्रोलियम पदार्थको भुक्तानी पनि अमेरिकी डलरमा हुने भएकाले डलरको मूल्य बढ्दा आयात लागतमा दबाब पर्ने सरोकारवालाहरूको भनाई छ ।
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियमको मूल्यमा ठूलो परिवर्तन नभए पनि विनिमय दरमा भएको वृद्धिले नेपाल आयल निगमले डलर खरिद गर्न थप नेपाली रुपैयाँ खर्चिनुपर्ने अवस्था आउने उनीहरू बताउँछन् । इन्धनको लागत बढ्दा ढुवानी खर्चसमेत बढ्ने भएकाले यसको अप्रत्यक्ष असर खाद्यान्न तथा अन्य दैनिक उपभोग्य वस्तुको मूल्यमा समेत पर्छ ।
डलरको तुलनामा भारतीय मुद्रा कमजोर हुँदा पनि नेपालले त्यसको लाभ लिन सक्ने विज्ञहरूको भनाई छ । यस्तो अवस्थामा नेपाली वस्तु तथा सेवा विदेशीका लागि तुलनात्मक रूपमा सस्तो हुने भएकाले पर्यटन र निर्यातमा अवसर सिर्जना हुन सक्ने उनीहरूको बुझाई छ ।
विदेशी पर्यटकले डलर लिएर नेपाल आउँदा उनीहरूले पहिलेको तुलनामा धेरै नेपाली रुपैयाँ पाउने भएकाले नेपाल तुलनात्मक रूपमा सस्तो गन्तव्य बन्न सक्छ । त्यस्तै गलैँचा, चिया, कफी, हस्तकला लगायत नेपाली वस्तु विदेशी बजारमा मूल्यका हिसाबले प्रतिस्पर्धी बन्न सक्ने सम्भावना हुन्छ । तर नेपालले यसको वास्तविक लाभ लिन आफ्नै उत्पादन क्षमतामा भने सुधार गर्नुपर्ने जानकारहरूको सुझाव छ ।
पूर्व अर्थमन्त्री रामेश्वर खनाल भारु कमजोर हुँदा नेपाली रुपैयाँ पनि कमजोर हुनुपर्ने बाध्यता रहेको बताउँछन् । यसले तेस्रो मुलुकबाट हुने आयात महँगो बनाउने भए पनि नेपालले आफ्नो उत्पादन क्षमता बढाउन सके निर्यात र पर्यटनका क्षेत्रमा अवसर लिन सक्ने उनको भनाइ छ ।
उनका अनुसार विदेशी पर्यटकका लागि नेपाल सस्तो गन्तव्य बन्न सक्छ भने नेपाली गलैँचा, चिया, कफी तथा हस्तकलाका सामान अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बन्न सक्छन् ।
तर उद्योगीहरूले भने कच्चा पदार्थमा रहेको आयात निर्भरताका कारण कमजोर नेपाली रुपैयाँबाट अपेक्षित लाभ लिन कठिन हुने बताउँदै आएका छन् । नेपालमा उत्पादनका लागि आवश्यक कच्चा पदार्थ विदेशबाट ल्याउनुपर्ने भएकाले डलर महँगिँदा उत्पादन लागत नै बढ्ने उनीहरूको तर्क छ । उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष सुरकृष्ण वैद्य नेपालको आन्तरिक उत्पादन क्षमता कमजोर भएको र कच्चा पदार्थमा आत्मनिर्भर हुन नसक्दा महङ्गो कच्चा पदार्थ आयात गर्नुपर्ने बाध्यता बताउँछन् ।







