दसैंमा काठमाडौंका उपभोक्ताले जुनसुकै कम्पनीका खाली सिलिन्डर दिए पनि ग्यास पाउने


काठमाडौा । दसैँको समयमा खाना पकाउने ग्यासको अभाव हुन नदिन उपभोक्ताले जुनसुकै ब्रान्डको सिलिन्डर अर्को ब्रान्डको सिलिन्डरसँग साट्न पाउने व्यवस्था गर्ने तयारी गरिएको छ।

चाडपर्वका बेला बजारमा ग्यास उपलब्ध हुँदाहुँदै पनि उपभोक्ताले आफूले प्रयोग गर्ने ब्रान्डको सिलिन्डर नपाउने समस्या देखिने भएकाले नेपाल आयल निगम, ग्यास उद्योगी, बिक्रेता तथा सुरक्षा निकायको समन्वयमा यस्तो व्यवस्था गर्न लागिएको हो।

यद्यपि, उक्त व्यवस्था लागू भइसकेको औपचारिक घोषणा भने गरिएको छैन। व्यवस्था कार्यान्वयनमा आएपछि उपभोक्ताले आफूलाई सहज पर्ने बिक्री केन्द्रबाट आफूले प्रयोग गरिरहेको ब्रान्डको सिलिन्डर अन्य ब्रान्डको सिलिन्डरसँग साट्न सक्नेछन्।

फरक ब्रान्डको सिलिन्डर साट्दा उपभोक्ताबाट कुनै अतिरिक्त शुल्क नलिने तयारी गरिएको छ। यसअघि एउटा ब्रान्डको सिलिन्डर अर्को ब्रान्डसँग साट्दा उपभोक्ताले ४ सयदेखि ७ सय रुपैयाँसम्म थप रकम तिर्नुपर्ने अवस्था थियो।

यस व्यवस्थाबाट चाडपर्वका समयमा कुनै निश्चित ब्रान्डको सिलिन्डर अभाव हुँदा पनि उपभोक्ताले वैकल्पिक ब्रान्डको सिलिन्डर सहज रूपमा प्राप्त गर्न सक्ने अपेक्षा गरिएको छ।
दसैँमा ग्यासको सहज आपूर्ति सुनिश्चित गर्न काठमाडौँका करिब १५ देखि २० वटा प्रमुख स्थानमा संयुक्त बिक्री केन्द्र स्थापना गर्ने तयारीसमेत गरिएको छ। ती केन्द्रमार्फत विभिन्न ब्रान्डका ग्यास सिलिन्डर उपलब्ध गराउने योजना रहेको बताइएको छ।

प्रकाशित मिति: २२ आश्विन २०८३, बिहिबार  १५ : ३२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।