धनगढी । काठमाडौं–धनगढी हवाई सेवाको चर्को भाडाका कारण सुदूरपश्चिम प्रदेशका नागरिक, व्यवसायी तथा निजी क्षेत्र प्रत्यक्ष आर्थिक मारमा परेको भन्दै कैलाली उद्योग वाणिज्य संघले सरकारसँग सहुलियतको व्यवस्था गर्न माग गरेको छ ।
आज संघका अध्यक्ष पुष्करराज ओझाले जिल्ला प्रशासन कार्यालय कैलालीमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्र पठाउँदै काठमाडौं–धनगढी हवाई सेवामा विशेष सहुलियतसहित नियमित र सहज उडानको व्यवस्था गर्न माग गरेका हुन् ।
हाल काठमाडौं–धनगढी हवाई भाडा अत्यधिक महँगो हुँदा सुदूरपश्चिमका नागरिकले ठूलो आर्थिक भार व्यहोर्नुपरेको संघले जनाएको छ । चाडपर्वको समयमा त भाडा झनै बढ्ने गरेको भन्दै संघले सरकारको नियमनकारी भूमिका प्रभावकारी हुनुपर्नेमा जोड दिएको छ ।
संघले सुदूरपश्चिम भौगोलिक रूपमा राजधानीबाट टाढा रहेकाले हवाई सेवा यहाँका नागरिकका निम्ति विलासिताभन्दा पनि अत्यावश्यक यातायातको माध्यम भएको जनाएको छ । उपचार, परीक्षा, आकस्मिक काम, रोजगारी, व्यवसाय तथा चाडपर्वका बेला घर फर्कनुपर्ने नागरिकका निम्ति हवाई यात्रा महत्त्वपूर्ण विकल्प बनेको संघको भनाइ छ ।
संघले सुदूरपश्चिमका नागरिक, उद्योगी, व्यवसायी तथा निजी क्षेत्रको आवाज सम्बोधनका निम्ति तत्काल आवश्यक पहल गर्न सरकारसँग आग्रह गरेको छ । यसअघि पनि काठमाडौं–धनगढी हवाई भाडा अत्यधिक महँगो भएको विषय पटक–पटक सार्वजनिक रूपमा उठाइँदै आएको छ ।
विमान कम्पनीले सामान्य अवस्थामा धनगढी–काठमाडौंको भाडा करिब १० हजार ८०० रुपैयाँ प्रतिसिट लिने गरेका छन् । चाडपर्वको समयमा यो २२ हजार रुपैयाँभन्दा माथिसम्म पुगेको छ ।







