अग्रिम टिकट खुल्नुअघि नै बसपार्कमा यात्रुको लाइन


काठमाडौँ । दसैँको अग्रिम टिकट खुल्नुअघि नै काठमाडौँको नयाँ बसपार्कमा यात्रुको लाइन लागेको छ ।

सरकारले दसैँमा घर जानका लागि शुक्रबारदेखि अग्रिम बस टिकट खुला गर्ने निर्णय गरेको थियो ।

यातायात व्यवस्था विभाग, नेपाल प्रहरी र यातायात व्यवसायी तथा मजदुरबीच यही असोज २० गते मङ्गलबार विभागमा बसेको बैठकले असोज २३ गतेदेखि दसैँका लागि अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको थियो । केही जिल्लाका यात्रु भने आजै रातिदेखि टिकट लिन लाइनमा बसेका छन् ।

नयाँबसपार्क सञ्चालन गर्दै आएको लोत्से बहुउद्देश्यीय प्रालिका महाप्रबन्धक पङ्कज मल्लले आज राति ९ बजेदेखि टिकट लिनका लागि यात्रुले लाइन बस्न सुरु गरेको जानकारी दिए ।

मल्लले बझाङ, बाजुरा र धनगढी जाने यात्रु आज रातिदेखि नै नयाँबसपार्कमा आएर टिकटको लाइनमा बसेको बताए । दसैँको अग्रिम टिकट बुकिङका लागि लोत्से बहुउद्देश्यीय प्रालिले नयाँ बसपार्कमा १५ टिकट काउन्टर थप गरेको छ ।

प्रकाशित मिति: २३ आश्विन २०८३, शुक्रबार  ०६ : १८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।